Comments Add Comment
सुलेमानी हत्याको तरंग :

मध्यपूर्वमा युद्ध हुँदा नेपाललाई के असर पर्छ ?

२० पुस, काठमाडौं । काठमाडौंबाट हजारौँ किलोमोटर टाढा रहेको बगदाद सहरमा एक सोलेमानी नाम गरेका इरानी जनरल शुक्रबार मारिए । न नेपाल इरानको छिमेकी हो, न त तेहरानसित काठमाडौंको अर्थपूर्ण कूटनैतिक सम्बन्ध नै छ । तर, पनि अमेरिकी ड्रोन आक्रमणमा सुलेमानी मारिनुले नेपालको अर्थतन्त्रमा असर पैदा गर्न सक्ने आँकलन गरिएको छ ।

जनरल सुलेमानी साधारण सैनिक अधिकृत थिएनन् । सन् १९७९ मा भएको इरानी क्रान्तिपछि सत्तामा आएका धर्मगुरु अयातोल्लाह खुमेनी र उनको मृत्युपश्चात राष्ट्र प्रमुखको भूमिकामा आएका खुमेनीका विशेष सहयोगी थिए सुलेमानी ।

शिया मुसलमानको बाहुल्य भएको इरानको पश्चिम एसियामा दबदबा कायम गर्ने र अमेरिका–इजरायलको प्रभावलाई न्यूनीकरण गर्ने विदेशनीतिका महत्वपूर्ण खम्बा थिए उनी । उनैको नेतृत्वमा इरानले लेबनान, प्यालेस्टाइन, यमन, सिरिया र इराकजस्ता देशहरूमा शिया मुसलमानहरूलाई पैसा, हतियार र नैतिक समर्थन गर्दथ्यो ।

पश्चिम एसियामा एकातिर इजरायल र मुस्लिम मुलुकहरूबीच टकराब छ भने अर्कोतर्फ शिया मुसलमान बहुल इरान र सुन्नी बहुल साउदी अरबबीच कटुता छ । यही कटुताका कारण उत्पन्न अवस्थाको केन्द्रविन्दूमा ‘पश्चिम एसियाकै सबैभन्दा शक्तिशाली जनरल’ सुलेमानी थिए ।

पछिल्लो समय युद्धग्रस्त यमन, लेबनान, इराक, प्यालेस्टाइन र सिरियामा समेत सुलेमानीले इरानको दरिलो उपस्थिति देखाएका थिए ।

यमनमा एकातर्फ साउदी समर्थित गठबन्धन फौज छ भने अर्कोतर्फ इरानले समर्थन गर्ने हूथी विद्रोही छन् । त्यस्तै लेबनानमा इरानसमर्थित हेजबुला समूह छ, जसले बारम्बार अमेरिकाको मित्रराष्ट्र इजरायललामाथि धावा बोलिरहन्छ ।

सद्दाम हुसेनको सुन्नी बाथ पार्टीको पतनपछि इराकमा अहिले बहुमतमा रहेका सियाहरूको सरकार छ, जसको इरानसँग यस्तो सम्बन्ध छ कि सुलेमानीजस्ता इरानी जनरल त्यहाँ निस्फिक्री डुल्न पाउँछन् । यही क्रममा उनी बगदात एयरपोर्टमा अमेरिकी सैन्य आक्रमणबाट मारिएका हुन् ।

प्यालेस्टाइनमा इरानले हमासलाई सहयोग गर्छ र इजरायलमाथि आक्रमण गर्ने रकेटहरू समेत उपलब्ध गराउँछ भन्ने दाबी अमेरिकाको छ ।

सिरियामा एकातर्फ इरानसमर्थित राष्ट्रपति असद छन् भने अर्कातिर अमेरिकासमर्थित विद्रोही लडाकुहरु छन् ।

साउदीलाई अमेरिकाको साथ छ भने इरानलाई रुसको भर छ । अमेरिकाले इरानलाई आणविक हतियारको विकास गरेको आरोप लगाउँदै आएको छ र उसलाई अन्तराष्ट्रिय समुदायबाट एक्ल्याउने उसको नीति छ ।

इरानको परराष्ट्र नीतिका एक प्रमुख हस्ती सुलेमानीको हत्याले पश्चिम एसियामा त्रास छाएको छ । तीन महिनाअघि संसारकै दोस्रो प्रमुख तेल उत्पादक साउदी अरबको सामरिक दृष्टिकोणले महत्वपूर्ण दुई खानीहरूमा १० वटा ड्रोनहरूले एकसाथ आक्रमण हुँदा इरान–अमेरिका युद्धको बादल पश्चिम एसियामाथि छाएको थियो ।

साउदी अरबको छिमेकी मुलुक यमनका हुथी विद्रोहीहरूले उक्त आक्रमणको जिम्मेवारी लिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ औँला ठड्याएका थिए । ट्रम्पले इरानले नै आक्रमण गराएको हो भन्नेबारे आफूसित प्रमाण रहेको बताएका थिए । तर, इरानले भने आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको बताएको थियो ।

सो घटनाको भोलिपल्ट नै राष्ट्रपति ट्रम्पले एक ट्विटमार्फत अमेरिका इरानमाथि आक्रमण गर्न तयार रहेको बताएका थिए । उनको क्याबिनेटले साउदीमाथि भएको आक्रमण युद्ध बराबर भएको ठहर गरेको थियो । आखिरमा ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णय लिएका थिएनन् । तर, शुक्रबार भएको सुलेमानीको हत्याले अब इरानले बदलामा कस्तो आक्रमण गर्ला भन्ने चिन्ता पश्चिम एसियामा छाएको छ ।

यदि इरानले आक्रमण गरे अमेरिका चुप बस्ने छैन र दुवै देश युद्धमा होमिनेस्थिति उत्पन्न हुनेछ ।

पश्चिम एसियाको युद्धले नेपाललाई के असर पार्छ ?

पश्चिम एसियाका देशहरूबीचको सम्बन्ध यति जटिल छ कि को कसको दुश्मन हो र को कसको मित्र हो भनेर छुट्टयाउनै गाह्रो छ । तर, अमेरिका र इरानबीच युद्ध भएमा पश्चिम एसिया नै युद्धमा होमिने छ । र, पश्चिम एसियामा हुने हरेक द्वन्द्वको असर नेपालजस्तो मुलुकमाथि पनि पर्ने देखिन्छ ।

लाखौँ नेपालीहरू साउदी, ओमान, कतार, संयुक्त अरब इमिरेट्स जस्ता देशहरूमा कार्यरत छन् । युद्धको स्थितिमा उनीहरूको ज्यान पनि जोखिममा पर्न सक्छ । युद्ध धेरै समय चलेमा उनीहरू नेपाल फर्किन बाध्य हुनेछन् । त्यसपछि नेपालमा उनीहरुले सजिलै रोजगारी पाउने छैनन् । यसका कारण नेपाल भित्रिने रेमिट्यान्समा ठूलो धक्का पर्नेछ र रेमिट्यान्समा आधारित अर्थतन्त्रमा संकट देखिनेछ ।

त्यस्तो बेला सरकारको वैदेशिक मुद्रा सञ्चितिले आयात धान्न नसक्ने स्थिति पनि आउन सक्छ । रेमिट्यान्स घटेका कारण आयात शक्तिमा ह्रास हुनुका साथै नेपालले अर्बौं खर्च गरेर आयात गर्ने पेट्रोलको भाउ आकासिन सक्छ । विदेशी मुद्रा सञ्चिति नहुँदा महंगो इन्धन आयात गर्न नसक्ने अवस्थामा देश पुग्न सक्छ र देशमा नाकाबन्दीको जस्तै उर्जा संकट आइ पर्न सक्छ ।

पश्चिम एसियामा हुने द्वन्द्वका कारण नेपाली तथा नेपाल आउने जाने गर्ने विदेशीहरूको हब बनेको कतार एयरपोर्टमा पनि समस्या आउन सक्छ । जसका कारण नेपालको भ्रमण वर्षले लिएको २० लाख पर्यटक भित्र्याउने लक्ष असफल हुन सक्छ ।

तर, २८ जून, १९१४ मा अष्ट्रियाको सिंहासनका उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या युरोपको सानो सहर सारायेभोमा हुँदा नेपालका कमैले सोचेका थिए होलान् त्यसपछिको युद्धमा २० हजार गोर्खाली मारिनेछन् !

अमेरिका र इरानबीच युद्ध भएमा दुवै देशले मात्र नभएर संसारले नै ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ ।

साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दीका कारण कतार एयरवेज अहिले इरानको आकाश भएर उड्ने गरेको छ । यदि इरानमा पनि समस्या भयो भने यसमा थप अप्ठ्यारो पर्न सक्छ ।

विश्लेषकहरू युद्धका कारण हुने ठूलो क्षतिको आँकलन गरेकाले अमेरिका र इरान एक अर्कामाथि नै जाइ लाग्नुभन्दा अरू देशहरूमा ‘प्रोक्सी वार’ मै लड्ने आँकलन गर्दछन् ।

यो पनि पढ्नुहोस अमेरिकाको आक्रमणबाट इरानी कुद्स फोर्सका प्रमुख मारिए यो पनि पढ्नुहोस युद्ध अन्त्यका लागि सुलेमानीलाई मारेका हौं : ट्रम्प यो पनि पढ्नुहोस अमेरिकी आक्रमणको बदला लिने इरानको चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment