Comments Add Comment

‘संसदमै दलित सांसदमाथि विभेद छ’

२२ पुस, काठमाडौं । दलित समुदायबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक दर्जन सांसदले दलित समुदायको मुद्दा अपेक्षाकृत ढंगले मिडियामा स्थान पाउन नसकेको गुनासो गरेका छन् ।

क्रियाशिल दलित पत्रकार संघ नेपालले राजधानीमा आयोजना गरेको ‘मिडियामा दलित सांसद’ विषयक सम्वादमा उनीहरुले दलितको मुद्दाहरु उठाउन जरुरी रहे पनि मिडियाले ध्यान दिन नसकेको बताए । ‘हामीहरु संसदमा बोलिरहेका हुन्छौं, तर मिडियामा आउँदैन’, सांसदहरुले भने, ‘सायद हामी सेलिब्रिटी परेनौँ ।’

सांसदहरुले मिडिया समावेशी हुनुपर्ने पनि उल्लेख गरे । ‘हामीले समावेशीताका कुरा गरेका छौं’, उनीहरुले भने, ‘तर, मिडिया कहिले समावेशी हुने ? हाम्रा मान्छे कहिले सम्पादक बन्ने ?’

संसदमै दलित र समानुपातिक सांसदलाई विभेदकारी दृष्टिकोणले हेर्ने गरिएको भन्दै उनीहरुले आन्दोलन अझै बाँकी रहेको बताए । दलित समुदायका मुद्दा राजनीतिक भएकाले विश्राम गर्न नमिल्ने पनि उनीहरुले बताए । सांसदहरुले बोलेका सम्पादित अंश :

छबिलाल विश्वकर्मा, सांसद तथा पूर्वमन्त्री

५० को दशकमा इन्सेक र उत्पीडित दलित मुक्ति समाजको एउटा पोस्टर प्रकाशित भएको थियो । कसैले माथिबाट पानी खन्याएको थियो र तल शंकरराम महरले पानी थापेको थियो । पोस्टरमा लेखिएको थियो, ‘बैतडी बराकोटस्थित डानेश्वर माविका विद्यार्थी शंकरराम लोहारले अछुत भएकै कारण विद्यालय समयभित्र कहिल्यै पानी पिउन सकेनन् । यो सरकारले पनि स्वीकार गरेको छ । नेपालमा ३४ लाख ५० हजार बालबालिका यस्ता छन् । अहिले ती शंकरराम कहाँ होलान् । उनले बालककालमा जे भोगे अहिले उनको मनस्थिति कस्तो होला । मैले यो खोज्दै छु । तपाईंहरु पनि खोज्नुस् । व्यक्ति एउटा हो त्यो मुद्दा अहिले कहाँ छ । त्यतातिर केन्द्रित हुनुपर्छ ।

जतिबेला मिडियामा दलित समुदायको पहुँच थिएन । त्यतिबेला गैरदलित पत्रकारहरुले नै दलितका विषय उठाएका हुन् । उहाँहरुले खुब मेहनत गर्नुभएको हो । किनकी त्यतिबेला व्यवस्था परिवर्तनका लागि यी सब चाहिन्थे । तर, अहिले दलितको मुद्दा चाहिएन, जमिनको मुद्दा चाहिएन । तर, अहिले पनि यसलाई सही ढंगले अभ्यासमा लिएर अगाडि लैजानका लागि यी विषय चाहिन्छन् । यो राजनीतिकर्मी, मूलधारका मिडिया र समाजको केही तप्कालाई पनि परेको छैन । अब हामीले खोतल्नुपर्ने विषय यी हुन् । अहिले मुद्दा हेपिएको अनुभूत हुने ठाउँमा छौँ ।

अहिले वर्गको कुरा गरे हुने देखियो । लोकतन्त्र आइसक्यो, गणतन्त्र आइसक्यो । किन गर्ने भनिन्छ । तर, हामीले चल्ते चलाते लोकतन्त्रको कुरा गरेका होइनौँ । पीढमा परेकाको लागि अधिकारको कुरा गरेका हौँ । समानुपातिक तहसम्म समावेशीताका लागि भनिएको हो, त्यसको लागि सहादत प्राप्त गरेको हो । सामाजिक न्यासहितको गणतन्त्र भनेको हो । अमुक क्लासको समृद्धिको कुरा गरेको होइन । त्यसै, समृद्धि कसरी हुन्छ ? दुःखेका मनहरुको चाङ लिएर नेपाली समृद्ध हुँदैनन् ।

राजनीति सकियो अब आर्थिक विकास भनिएको छ । व्यवस्थालाई सही अभ्यासमा लिएर लिएर जाने आन्दोलन राजनीतिक आन्दोलन हो । त्यो हाम्रो आन्दोलन हो । सत्ता परिवर्तन सत्तामै रहनेका लागि किन चाहिएको थियो र ? जनतालाई चाहिएको हो । त्यसका लागि लडाइँ लड्नुपर्ने अवस्था छ । तर, यो लडाइँ लामो छ ।

मानबहादुर विक, सांसद तथा पूर्वमन्त्री

०४३ साल तिरको कुरा हो । पशुपतिमा अञ्चलाधीशले कार्की थरको एक जना मानिसलाई चिता बनाउन भने । हामीले लास लिएर गयौँ । त्यतिबेला चिता कहाँ बनेको थियो भने तल, एयरपोर्टतिर जाने पुलतिर पल्लो बगरमा बनेको थियो । तल लगेर चिता बनाएको देखियो । लास यताबाट लिएर गयौँ । त्यसपछि हामीले प्रश्न गर्‍यौँ, हामी चिता भत्काउन गयौँ, आन्दोलन गर्‍यौँ । त्यसपछि लास उठाएर मुख्य चितामा जलाइछाड्यौँ । त्यसपछि मात्र दलित समुदायले अहिलेको स्थानमा शव जलाउने वातावरण बन्यो । त्यति ठूलो काण्ड भयो । हामीले त्यहाँ तीन महिनासम्म अनुगमन नै गर्‍यौँ । तर, त्यतिबेला समाचार लेख्ने पत्रकारै भेटाउन सकेनौँ । चन्द्रकुमार गदाल भन्ने एक जना पत्रकार हुनु हुँदो रहेछ उहाँले मात्र समाचार लेख्नुभयो । हामीले दुई सय जति पत्रिका किन्यौँ र हुलाकमार्फत देशभर पठायौँ ।

अहिले दलित समुदायबाट पनि थुप्रै पत्रकार जन्मिनुभएको छ । यो खुशीको कुरा हो । हो, हामीले संसदमा बोल्ने धेरै कुरा मिडियामा आएनन् । कतिपय हामीले बोलेका अरुका नाममा पनि छापिए । अरुले बदमासी गर्‍यो भने नाममात्र बदनाम हुन्छ । दलितले बदमासी गर्‍यो भने सिंगो जात, समुदायलाई नै बदनाम गराइन्छ । त्यसैले पत्रकारहरुले यो मुद्दामा गम्भीर भएर लेख्न जरुरी छ । लेख्नको लागि दुलित मुद्दामा कुनै कमी छैन ।

मीन विश्वकर्मा, सांसद तथा पूर्वमन्त्री

दलित समुदायको पत्रकारको एकता र समूहगत पहल राम्रो छ । राजनीति र मिडिया एक सिक्काका दुई पाटा हुन् । यदि मिडिया नहुँदो हो त राजनीति गर्न गाह्रो पर्थ्यो । नागरिकले धेरै कुरा थाहा पाउँदैनथे । शासकको कामको उत्प्रेरक गर्ने काम मिडियाले गर्छ । हरेक मानिसले आफूजस्तालाई मन पराउँछ रे । त्यसैले हामीले पनि दलित खोज्छौं, बाहुनले पनि बाहुन खोज्छन् । तर, क्षमता अभिवृद्धिमा ध्यान दिन सकियो भने सम्पादक बन्न गाह्रो पर्छ भन्ने लाग्दैन । कसमस विश्वकर्मालाई नै हेरौँ न । पत्रकारकारले पनि खोजी पत्रकारितामा ध्यान दिनुपर्यो । कतिसम्म भने समाचारका लागि अर्को सांसदको कुरा हामीले भनिदिनुपर्छ ।

अहिलेको चुनौति भनेको समावेशीको विषयलाई थप उठाउनुपर्ने हो । दलित आन्दोलनबाट आएर दलित समावेशीकरण बढ्यो । तर, हामीले नै दलित भन्नु हुँदैन भनेर ७० वर्षदेखिको अन्दोलनलाई मुर्कट्टा बनाउन खाजेका छौँ । पत्रकारिता भनेको समाजको ऐना हो । तर ऐना कालो लेख्ने होइन । तथ्य के हो ? त्यसलाई लेख्नुपर्छ ।

प्रकाश रसाइली ‘स्नेही’, सांसद

हामीले समावेशीताका कुरा गरेका छौं । मिडियामा पनि दलितहरु समावेशीताको मुद्दा उठ्नुपर्छ । हाम्रा मान्छे कहिले सम्पादक बन्लान् ? मलाई धेरै पटक यो प्रश्नले घोचिरहन्छ । त्यसैले हामीलाई मिडियामा पनि समावेशी हक अधिकार चाहियो । अब एनजीओहरुले बेकारका विषयमा बजेट खर्च गर्नभन्दा मिडिया खोल्नुस् । किनकी अहिले हेर्‍यौं भने रेडियोले अन्तरवार्ता लिनको लागि कुनै दलितलाई सम्झदैन । मूलधारका मिडियाले कसलाई नेता गराउने भन्ने फिक्स गर्छन् । तर, दलित नेतालाई त्यति धेरै खोजेको पाइँदैन ।

अञ्जना विशंखे, सांसद

हामी सेलिब्रिटी हुन सकेका छैनौँ । सेलिब्रिटी नभएसम्म मिडियाले प्राथमिकता नदिने रहेछ । अहिले खोज पत्रकारिता मर्न लागिसकेको छ । सोध पत्रकारिता धेरै चलेको छ । त्यसै पनि समाजको सबैभन्दा पिँधको समस्या आउन सकेको छैन । त्यसैले दलित समुदायका पत्रकारहरुले पनि कोर टिम बनाउन जरुरी छ । त्यसमा हामी सभासद् पनि बस्छौँ ।

पार्वती विशंखे, सांसद

बोल्नको लागि मिडिया हातहतियार जस्तो रहेछ । हामीले जति आफ्नो समस्या राखेका छौँ । प्रायः दफाबार छलफल, शून्य समयमा राखेका छौं । तर, त्यो मिडियामा आएको पाइँदैन । त्यसैले, संसदमा को-को सांसदले बोले ? कतिले बोले ? के-के बोले र, त्यसको प्रभाव कति रह्यो राम्रोसँग अध्ययन हुनुपर्‍यो । हाम्रो समुदायले धन्न फेसबुकलगायत सामाजिक सञ्जालमा राख्न जानेका रहेछौँ ।

दुर्गा कुमारी विश्वकर्मा, सांसद

दलित पक्षमा पत्रकारहरु एकजुट भएकोमा खुशी लाग्यो । हामी थोरै मात्र दलित सांसद भए पनि आफ्ना कुरा उठाउन सक्षम छौँ । तर, मिडियाले त्यसलाई प्राथमिकतामा राखेको पाएका छैनौँ । २०६४ मा पनि म सांसद थिएँ । दलितलाई सबै शिक्षा निःशुल्क बनाउनुपर्छ भन्ने बहस गरेँ । तर, त्यो कतै समाचार बनेन । जब अरुले बोले अनि मात्र चर्चा हुन थाल्यो । गगन थापा, रामकुमारी झाँक्रीले जस्ता कुरा बोले पनि समाचार बन्छन् । संसदमै समानुपातिक सांसदलाई हेर्ने दृष्टिकोण फरक छ ।

आशा कुमारी विक, सांसद

म समानुपातिक सांसद हुँ । तर समानुपातिक सांसदलाई हेर्ने दृष्टिकोण फरक छ । संसदमा पनि दलित र अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण विभेदमुखी छ । त्यसमा पनि दलित महिलालाई हेर्ने दृष्टिकोण अझ फरक छ । दलित सांसद भए पनि हामीले धेरै नै संशोधन राख्ने गर्छौं, तर त्यसलाई मिडियाले पनि प्राथमिकता दिएको पाइँदैन । मिडिया सेलिब्रिटी हेर्छ । हामी आफैंले फेसबुकमा लेख्नुपर्ने अवस्था छ । कतिपय अवस्थामा मिडियाले शिर्षक र हेडलाइन बंग्याएर दिने गर्छन् ।

विमला विक, सांसद

एउटा पत्रकारले विषय उठाउने । तर अर्को पत्रकारले त्यसको खण्डन गर्ने प्रवृत्ति छ । मिडियामा जाने विषयमा संसदमा दलित सांसदले खोजेको विषयमा पनि गलत रिपोर्टिङ छ । मलाई एउटा विषयमा सोधियो, तर शिर्षक के लेखियो भने ‘दलितबाट दलित शासित’ । यो विषयमा गम्भीर हुन जरुरी छ ।

लक्ष्मी परियार, सांसद

पत्रकारलाई आफ्ना सबै कुरा पढियोस् भन्ने लाग्छ होला । राजा भएको बेला ज्ञानेन्द्र शाहको मृत्यु भनेर आएको थियो । होइन राजा मर्‍यो की क्या हो ? भन्ने लाग्यो तर, अर्कै ज्ञानेन्द्र शाह रहेछ । मिडियामैत्री बन्न के गर्नु पर्दोरहेछ मलाई थाहै भएन । पत्रकारले कमजोरभन्दा पनि बलियोलाई हान्ने प्रवृत्ति छ । हामीले बोल्दा समाचार बन्दैन, सेलिब्रिटी बोल्न तीन दिन पछिको पनि समाचार बन्छ ।

खेमराज नेपाली, राष्ट्रिय सभा सदस्य

मिडियामा अहिले दलित समुदायको प्रतिनिधित्व र सहभागिता छ । तर मिडिया हाउस कसले चलाएको छ ? उनीहरुको वैचारिक आधार के हो ? यसलाई हेर्दा अहिले पनि दलितमैत्री मिडिया देखिँदैन । उपभोक्तावादी प्रवृत्तिबाट मिडिया हावी भएको छ । तर अहिले दलित समुदायका समस्या र भनाइहरु सम्बोधन हुन थालेका छन् । यो सुखद पक्ष हो । कतिपय अवस्थामा बुझाइको फरकपनले पनि त्यसरी दलितका विषय कभरेज हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment