Comments Add Comment

पशुपतीमा बाबाहरुको संसार : कोही साधक, कोही ढोंगी

अघोरपन्थ साधनाको रहस्यमयी शाखा हो

पशुपति क्षेत्रमा शनिबार वास्तविक साधनामा लिप्त भएका साधकहरुको खोजी गर्दै जाँदा औलामा गन्न सकिने केही साधकहरुको नाम थाहा भयो । भागवतानन्द, त्यागिनाथ अघोरी, शंकराचार्य मठका रमणानन्द आदि इत्यादि । साधकहरुको पनि विभिन्न भेद हुन्छन् । विभिन्न सम्प्रदायमा आबद्ध यी साधकहरुको खोजी गर्दै अघि बढ्दा सबैभन्दा पहिले अघोर सम्प्रदायका त्यागिनाथ अघोरीको आश्रम पहिचान हुन्छ । लोभ मोह र आशक्तिबाट मुक्त भएका सन्यासीसामु सञ्चारमाध्यमको प्रतिनिधिको रुपमा कस्तो प्रश्न गर्नु उपयुक्त होला ? भन्ने जिज्ञासाका बीच ३ घण्टासम्मको प्रतिक्षा पछि भेटिएका त्यागिनाथ उठेर सिधै साधनामा बस्न थाले ।

उनका सहयोगीहरुका अनुसार उनी धेरै समय साधनामा बस्छन् र थोरै समय मात्रै आफ्नो जीवन चक्रको लागि आवश्यक पर्ने शयन र भोजनको काममा लाग्छन् । उनका सहयोगीहरुका अनुसार केही समय अघिसम्म त उनी अरुलाई ज्ञान बाँड्दै हिँड्थे । उनले पछिल्लो समय केवल साधनामा लीन भएर बस्ने गरेका छन् ।

हिजो आज उनी बाहिर निस्कन छाडेका छन् । कहिले भारत त कहिले नेपालमा बसोबास गर्ने उनले बुढ्यौली समय यही पावन पशुपति क्षेत्रमा बिताउन चाहे । अहिले त्यही भष्मेश्वर घाटमा उनको जीवन चक्र चलिरहेको छ ।

अघोरीहरुको जीवन साधारण मानिसको जीवनभन्दा नित्तान्त भिन्न हुन्छ । उनीहरुको आफ्नै विधान हुन्छ । आफ्नो विधि हुन्छ । जीवन बाँच्ने आफ्नो तरिका हुन्छ । अघोरपन्थी साधकहरूलाई नै अघोरी भनिन्छ । उनीहरुको खाने र पिउने कुनै तरिका हुँदैन । अघोरीहरूले गाईको मासु बाहेक अरू सबै खान्छन् । अघोरपन्थमा दाहसंस्कारको विशेष महत्व छ । त्यसैले अघोरी दाह संस्कार हुने श्मसानमा धेरै बस्न रुचाउँदछन् । श्मसानमा गरिएको साधना नै चाँडै फल प्राप्त हुन्छ भन्ने मान्यता सर्वत्र छ ।

कस्ता हुन्छन् अघोरी ?

अघोरपन्थ साधनाको रहस्यमयी शाखा हो । अघोर बन्ने पहिलो सर्त हो दिमागबाट लोभ र घृणा हटाउनु । त्यसको लागि सबैभन्दा पहिले सन्यास आश्रममा जानै पर्छ । श्रीमद् भागवत पुराणले पनि सिद्धको गेरु वस्त्र लगाएर कसैले धर्मको आचरण गर्दैन भने त्यसलाई कठोर पापले सताउँछ भनेर उल्लेख गरिएको छ । तर, अहिले नेपालमा यस्तै गेरु वस्त्र लगाएर धर्मको आचरण नगर्नेहरुको बाहुल्यता बढी रहेको पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु नै बताउँछन् ।

अघोर क्रियाले मनको भावलाई सजिलो बनाउँछ । मूलतः वास्तविक अघोरीहरु बाहिरी दुनियाँमा चिनिन चाहँदैनन् । त्यस्तै व्यवहार देखाए पशुपतिका त्यागिनाथले पनि । यही विषयबाट पनि प्रस्ट हुन्छ केही समय अघि अघोरीको नामबाट सामाजिक सञ्चालमा चर्चित भएका व्यक्ति कस्ता अघोरी होलान् ?

अधिकांश अघोरीहरुको बसोबास प्रायः मसान घाटमा नै हुन्छ । उनीहरुलाई मानिस जलाउँदाको गन्ध नै सबैभन्दा प्यारो हुन्छ । उनीहरुले गृहस्थ जीवन त्यागिसकेका हुन्छन् । त्यसैले उनीहरुको आश्रम या बसोबास स्थल त्यस्तो व्यवस्थित हुँदैन र उनीहरुलाई आशक्ति पनि हुँदैन । मानिसहरूले दाहसंस्कार, लास, मृत मासु र कफनलाई घृणा गर्छन् । तर, त्यसको ठिक विपरित अघोरीहरुले तिनीहरूलाई धर्मपुत्र बनाउँछन् ।

अघोर एक किसिमको विद्या हो । जसले व्यक्तिलाई सबै चीजमा बराबर हुन सिकाउँछ । अघोरी तन्त्रलाई गलत अर्थ लगाउनेहरूलाई शायद यो थाहा नहुनसक्छ कि यस शिक्षामा जन कल्याणको भावना रहेको हुन्छ । अघोर विद्याका विज्ञहरू विश्वास गर्छन् वास्तविक अघोरीहरू साझा संसारमा कहिल्यै सक्रिय हुँदैनन् र हुन चाहँदैनन् पनि । तिनीहरू केवल आˆनो आध्यात्मिक अभ्यासमा व्यस्त छन् । अघोरीहरुको अर्काे पहिचान भनेको उनीहरु कसैबाट केही पनि माग्दैनन् ।

वास्तविक साधकहरु कति होलान् पशुपतिमा ?

पशुपति क्षेत्र विकास कोषका सूचना अधिकृत प्रेमहरि ढुंगाना पशुपतिमा जो देखिने साधुहरु छन् । उनीहरु सबैलाई वास्तविक साधक मान्न नसकिने बताउँछन् । जो अरुसँग पैसा माग्ने र दुख दिने गर्छन्, जसले पहिरनमा मात्रै साधुको भेष बनाएका हुन्छन् । उनीहरुलाई साधु वा साधक मान्दा यो वास्तविक साधकप्रति न्याय नहुने बताउँछन् । उनले वास्तविक साधकहरु पशुपतिमा एकाध रहेको भन्दै उनीहरु आफ्नो ज्ञान ग्रहण गर्न सक्नेसँग मात्रै खुलेर कुरा गर्ने बताउँछन् ।

‘उनीहरु खासै बाहिर देखिन चाहँदैनन् । उनीहरुलाई प्रचार र पैसाको कुनै लोभ हुँदैन । त्यसैले आफ्नो ज्ञानलाई राम्रोसँग बुझ्न सक्नेहरुबाहेक अरुसँग खुलेर कुरै गर्दैनन्’ उनी भन्छन् ‘पहिले स्वामी प्रपन्नाचार्य जस्ता साधकहरु पनि यही पशुपति क्षेत्रमा रहनुहुन्थ्यो । अहिलेपनि भागवतानन्द, त्यागिनाथ अघोरी, शंकराचार्य मठका रमणानन्द जस्ता साधकहरुले यो पावन क्षेत्रलाई रोज्ने गरेका छन् ।’

अहिले पशुपति क्षेत्रमा रहेका कूल ९ वटा अखडाहरुमध्ये आधा दर्जन जति अखडाहरु मात्रै सञ्चालनमा छन् । राममन्दिरको बैरागी अखडा, त्यहीँको उदासी अखडा, निर्मल अखडा, गोरखनाथ अखडा, अघोरीहरु बस्ने भष्मेश्वर अघोरी अखडा र मृगस्थलीमा रहेको योगी नरहरी नाथको नाथ अखडा अहिले सञ्चालनमा छन् । यही अखडाहरुमा साधनारत साधकहरु भेट्न सकिने ढुंगाना बताउँछन् ।

नागा बाबा बन्ने प्रक्रिया भिन्दै

अघोरी जस्तै नागा बन्नको लागि पनि भिन्दा भिन्दै योग्यताहरुको आवश्यकता पर्ने गर्छ । यद्यपि योग्यता भन्दैमा यसमा शैक्षिक योग्यता र उमेरको बन्देज भने छैन । तर, पदको लागि भने शैक्षिक योग्यता र बस्ने स्थानलाई पनि आधार मान्ने गरिन्छ । नेपालमा नागाहरुलाई दीक्षा दिने गरेको खासै चलन नपाइए पनि नवप्रवेशी नागाहरुलाई प्रयाग, नासिक, हरिद्वार तथा उज्जैनमा दीक्षा दिने गरिन्छ । प्रयागमा दीक्षा पाउने नागाको राजराजेश्वर, उज्जैनमा दीक्षा पाउनेलाई खुनी नागा, हरिद्वारमा दीक्षा पाउनेलाई बर्फानी नागा, तथा नासिकमा दीक्षा पाउनेलाई खिचडी पदले चिनिन्छ ।

उनीहरुलाई दीक्षा एक गुरुले दिन्छन् भने अर्कै गुरुले उनीहरुको परीक्षा लिएर उपाधि दिने गर्दछन् । कुनैपनि अखडामा सबैभन्दा ठूलो पद महामण्डलेश्वरको हुन्छ । तर, महामण्डलेश्वर नागा हुँदैनन् । तिनै आचार्य महामण्डलेश्वर नै नागा सन्यासीहरुलाई दीक्षा दिन्छन् ।

पशुपतिमा ढोंगी साधुको विगविगी

पशुपतिको क्षेत्रभित्र पसेलगत्तै गेरु वस्त्र धारण गरेका, भस्म दलेका र हातमा त्रिशुल बोकेका व्यक्तिहरुको जमात नै देख्न सकिन्छ । पवित्र पाशुपत क्षेत्र साधु र सन्यासीहरुको लागि एउटा पावन भूमि हो ।

यो नेपालको लागि मात्रै नभएर भारत र अन्य देशका पनि हिन्दू सम्प्रदायमा आबद्धहरुको लागि पवित्र भूमि हो । तर, यही पशुपति क्षेत्रमा देखावटी रुपमा सन्यास धारण गरेका अघोरीदेखि नागासम्मको ठूलै भीड देख्न सकिन्छ ।

पशुपति मन्दिरको पूर्वपट्टी भस्मेश्वर घाटसँगैको पुल तरेर वनकाली तर्फ जाने क्रममा धेरै त्यस्ता गेरुवस्त्रधारीहरुलाई त्यहाँ देख्न सकिन्छ । जो फोटो खिचाए बापत नै आगन्तुकहरुसँग पैसा माग्ने गर्छन् । जो गृहस्थ छाडेर सन्यासमा प्रवेश गरेका हुन्छन्, उनीहरुमा लोभ, क्रोध र मोह समेत हटेको हुनुपर्ने हो । तर, पशुपतिमा भेटिने सबै गेरुवस्त्र धारीहरुमा सन्यासी र साधुको गुण देख्न नसकिने जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment