Comments Add Comment

‘भारतको अर्थतन्त्र सुधार हुँदा नेपाललाई फाइदा’

२३ पुस, काठमाडौं । कृषिल भन्ने एउटा रेटिङ एजेन्सीले भारतको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को वृद्धिदर घट्छ भनेको छ । भारतले सरकारले ७ प्रतिशत वृद्धिदरको लक्ष्य लिएको छ तर त्यो पुग्ने अवस्था छैन । भारत सरकारले ७ प्रतिशत भनेको छ तर अन्तर्राष्ट्रिय संस्थाहरुले ५.५ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि हुने देखाएका छन् ।

भारतले केही वर्षअघि नोटबन्दी गर्‍यो । त्यसले गर्दा मान्छेहरुको क्रयशक्ति नै घटेको छ । नागरिकको आम्दानी घटेपछि खर्च गर्ने क्षमता स्वभाविकरुपले घट्छ । फेरि २०१७ मा देशभर एकैनासको वस्तु तथा सेवा कर लागु गर्ने नीति आयो ।

भारतमा जीडीपी बढ्यो भने नेपालमा सकारात्मक असर पर्छ नै । भारतमा मुद्रास्फिति बढ्यो भने नेपालमा आयात गर्दा महंगी पनि आयात गरेका हुन्छौं । अहिले हाम्रो मुद्रास्फितिमा केही हदसम्म नियन्त्रण भए पनि खाद्य तथा पेयमा मुद्रास्फिति बढेको छ ।

हामी फलफूल तथा तरकारीमा आत्मनिर्भर हुन सकेका छैनौं । सबै भारतबाटै आयात हुन्छ । यसको नकारात्मक असर पर्छ नै ।

अहिले आँकडामा निर्यात बढेको देखिएता पनि नेपाललाई फाइदा हुन सक्ने बस्तुहरुको निर्यात हुन सकेको छैन । जस्तो रेडिमेड गार्मेन्ट, दालचिनीको निर्यात बढेको छैन । भारतबाट मूल्य बढेको बस्तु आयात हुन्छ ।

एकातिर भारतमा निर्यात ३४ प्रतिशतले बढेको छ, चीनमा १३ प्रतिशत मात्रै छ । भारतसँगै चीनतिर पनि जोड लगाउनु पर्ने देखिएको छ । के कारणले चीनसँग व्यापारघाटा बढिरहेको छ ? भन्ने हेर्नुपर्‍यो ।

गत वर्षको तुलनामा यो वर्ष ब्यालेन्स अफ पेमेन्ट डिफिसिट पनि बढेको छ । भारतमा आर्थिक वृद्धि भएर मुद्रास्फिति नियन्त्रण भए नेपाललाई राम्रो हुने हो । नेपालबाट निर्यात हुने बस्तुहरु बलिया छैनन् । पाम आयलको निर्यातमा उछाल छ । २६ प्रतिशत आम्दानी व्यापार पाम आयलको मात्रै छ ।

भोलि कुनै पनि बेला बन्देज लाग्न सक्ने वस्तुको निर्यातमा हामी अहिले रमाईरहेका छौं । यो ठिक होइन । हामीले सतर्कता अपनाउनु पर्ने बेला आइसकेको छ । हामीले चनाखो भएर कर्जाको सुविधा निजी क्षेत्रलाई दिनु पर्छ । अहिले पनि निजी क्षेत्रलाई सरकारले राम्ररी हेरेको छैन । माने पनि नमाने पनि अहिले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा माथि छ । उनीहरुलाई विश्वासमा राखेर कर्जाको सुविधा दिएर साना तथा मझौला उद्योगलाई प्रोत्साहन नगर्ने हो भने हाम्रो भविष्य खतरामा पर्छ ।

यो पनि पढ्नुहोस भारतीय अर्थतन्त्रको अधोगति, नेपालमा प्रभाव

हामीलाई अहिले पर्यटनबाट केही फाइदा भइरहेको छ । हालसालै पनि ४० वटा मुलुकको अध्ययन गर्दा उत्पादनमुलक क्षेत्रको योगदान जीडीपीमा बढ्यो भने आर्थिक विकास भएको राम्रो मानिन्छ । हामीले यो पाठ सिक्न सक्नु पर्‍याे । पव्लिक गुड्स सबैका लागि चाहिने ट्राफिक लाइट, ढल निकास, सडक मर्मत सम्भारहरु सरकारले आफ्नो आम्दानीमा लगाउन सकेको देखिदैन ।

कर सम्बन्धी आम्दानीको ८४ प्रतिशत हिस्सा सरकारले गुमाइरहेको छ । जस्तो भ्याटमा दर्ता भएकाहरु पनि एक तिहाईले ट्याक्सको फाइल नै गर्दैनन् । यसमा सरकार चुकेको छ । १ लाख ८७ हजार रजिस्टर्ड कम्पनी छन् । यसको धेरै कमले भ्याट तिर्छन् । कर तिर्न सक्छौं भनेर नै कम्पनी दर्ता भएका हुन् नि । यसको सदुपयोग सरकारले गर्न सकेको छैन ।

विकास खर्च वैदेशिक सहयोगबाट गरिरहेका छौं । मुलुकमा सम्भावना भएका उत्पादनका क्षेत्रहरुबारे ध्यान दिनुपर्ने हो । पुँजीगत खर्चको हातल त दयनीय छ । एक महिनामा हृवात्तै खर्च गर्ने चलनले गर्दा मुद्रास्फिति कति बढ्ला ?

५ वर्षको आँकडा हेर्ने हो भने औसतमा ४७ प्रतिशत विकास खर्च भएको छ । पछिल्लो समय विकास खर्च झन् घट्दो छ । २ वर्षअघिसम्म ६६ प्रतिशत भएको पुँजीगत खर्च पोहोर साल घट्यो । यो साल पनि पुँजीगत खर्च घट्ने स्पष्ट देखिएको छ ।

पाम आयले निर्यात बढ्यो, सामान भारतबाट आइहाल्छ, रेमिट्यान्सले व्यापार घाटालाई थेगेको छ भने ढुक्क भएर बस्नु भएन । भारतले पाम आयललाई कुनै पनि बेला बन्देज लगाउन सक्छ । हामी आनन्दसँग बस्न मिल्दैन ।

विनिमय दर कति बलियो छ कति कमजोर छ भन्ने कुरा बजारले निर्धारण गर्ने हो । भारतको अर्थतन्त्र कमजोर भएकाले बेला हामीले त्यहाँ आवश्यक पर्ने बस्तु सस्तो र गुणस्तरीयसमेत निर्यात गर्न सक्नुपर्थ्यो । हामीले उत्पादन गर्न सक्ने भए भारतको बजार लिएर हामीले फाइदा लिन सक्ने थियौं ।

अहिले सबैतिर भत्केको छ, जताततै टालटुल पर्नुपर्ने हुन्छ । कताकता मात्रै टाल्ने ? विनिमय दर स्थिर छ । आइएमएफले हरेक वर्ष नेपालमा आएर अध्ययन गर्छ । हामी यसको सदस्य देश हौं । वर्ल्ड बैंक र आइएमएफले नेपाललाई राम्रै भएको छ भनेका छन् । भोलि विनिमय दर बजारले निर्धारण गर्छ भन्ने हो भने हामीलाई घाटा लाग्छ ।

अहिले नै ठूलाठूला कुरा गरेर हुँदैन । कर राम्रै तिरेका छन् जनताले । कर तिरेर के सुविधा बढेको छ र भन्ने कुरा पनि आउँछ । ट्याक्सी ड्राइभरलाई सोधौं, तपाईंको बच्चाको स्कूल फि घटेको छ ? अस्पतालमा लाग्ने खर्चमा केही राहत मिलेको छ ? नकारात्मक उत्तर मिल्ने निश्चित छ । करको कुनै प्रभाव जनतामा परेको छैन भने त्यसको अर्थ रहदैन ।

अर्को कुरा भारतीय अर्थतन्त्रमा ओरालो लाग्दा नेपाली श्रम बजारलाई पनि असर गर्छ नै । तर अहिले त्यस्तो ठूलो समस्या भने पर्दैन । भारतले अहिले पनि धेरै अनुदानहरु दिइरहेको छ । अहिले केही समय आत्तिनु पर्दैन । आर्थिक कारणले भने अहिले नै समस्या पर्छ भन्ने मलाई लाग्दैन ।

अर्को कुरा, अहिले हामीले पर्यटक बढाउने जुन कुरा गरिरहेका छौं त्यसलाई पनि असर गर्छ नै । अहिले नेपालको पर्यटन क्षेत्रमा भारतको हिस्सा राम्रै देखिएको छ । भारतीय पर्यटकहरुको रेकर्ड राख्ने मात्रै हो ५०/६० प्रतिशत योगदान हुन्छ । तर यहाँ भारतको नाम मात्रै लिने हो पनि हामी नकारात्मक हुन्छौं ।

डडेलधुरामा भारतीय पर्यटक जान्छन्, त्यहाँ बस्ने ठाउँ नभएर धनगढी फर्किएर बस्छन् । लुम्बिनीको हालत पनि उस्तै छ । म श्रीलंकामा बसे । श्रीलंकका नागरिक भारतका लागि भिसा लगाउँछन्, खानेकुरा भारतमै किन्छन्, त्यो लगेर लुम्बिनीमा खान्छन्, प्याकेट त्यहाँ फालेर भारत नै फर्किन्छन् बास बस्नका लागि । अब नेपालको केही किन्दैनन्, नेपालमा आएर खर्च नै गरेनन् भने पर्यटक आएको अर्थ रहदैन । यतातिर पनि ध्यान दिनु पर्छ ।

अहिले भइरहेको हाम्रो निर्भरता जबसम्म कायम हुन्छ, तबसम्म भारतको अर्थतन्त्रमा सुधार आउनु नेपालको अर्थतन्त्रका लागि पनि राम्रो हुन्छ । यस कारण हामी पहिले आत्मनिर्भर बनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment