 
																			२३ पुस, पोखरा । हिउँदे अधिवेशनको पहिलो दिन नै प्रदेशसभामा सरकार र विपक्षीको जुहारी चलेको छ । विपक्षी सांसदहरुले सरकारले जनताले महसुस हुने गरी काम गर्न नसकेको आरोप लगाए भने मुख्यमन्त्रीले रोम एक दिनमा बनेको थिएन भन्ने जवाफ फर्काए ।
बुधबार बसेको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी नेपलाी कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सरकारले जनतालाई छुने किसिमका कार्यक्रम ल्याउन नसकेको बताए । बजेट खर्च र योजना कार्यान्वयनमा जिम्मेवार ढंगले अगाडि बढ्न सुझाव दिए ।
राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले नयाँ व्यवस्था आएपनि काम गर्ने शैली परम्परागत रहेको बताए । ‘संघीयतामा बच्चा छौं भन्ने गरिन्छ । हामीले २ वर्ष पार गरिसक्यौं । हाम्रा योजना अहिले कुन अवस्थामा छन्, समीक्षा गर्ने कि नगर्ने ?’ थापाले प्रश्न गरे ।
समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले पनि सरकारको कामप्रति असन्तुष्टि पोखे । प्रदेश र स्थानीय सरकारले जनतालाई निराश बनाएको र संघीय सरकार काण्डैकाण्डमा फसेको उनको भनाइ थियो ।
संघीय सरकारबाट पहिलो वर्षभन्दा सहयोग
सांसदहरुको प्रश्नको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जवाफ दिए । उनले संघीयता कार्यान्वयन प्रदेश सरकारका लागि अघिल्लो वर्षभन्दा सहज हुँदै गएको सुनाए । ‘संघीयता प्रधानमन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्मलाई नौलो व्यवस्था हो । हामी कहिल्यै नहिँडेको नौलो बाटो हिँडेको छौं,’ उनले भने, ‘अघिल्लो वर्ष जुन दुःख बेहोर्यौं, घबाट सोचेजस्तो सहयोग पाउन सकेका थिएनौं । अहिले पहिलो वर्षभन्दा सहज भएको छ ।’
उनले अघि भने, ‘संघीयताले समृद्धिको बाटो कोर्दैछ । बाटो फराकिलो बनाउँदैछ । आलोचनाका लागि आलोचनामात्र नगरौं ।’ रोमको उदाहरण दिँदै मुख्यमन्त्री गुरुङले एक दिन, एक वर्षमै कुनै पनि सहर देश नबन्ने बताए । ‘भनिन्छ रोम एक दिनमै बनेको थिएन । नेपाल पनि एक दिनमै बन्दैन’ मुख्यमन्त्री गुरुङले भने, ‘तर विज्ञान र प्रविधिको विकासले चाँडै गर्नसक्ने भएका छौं । हिजो ५० वर्ष लाग्ने काम २० वर्षमा गर्न सक्ने भएका छौं ।’
लक्ष्य प्राप्तिका निम्ति सरकारले काम गरिरहेको र निरन्तरको प्रयत्नले मात्र दिगो विकास सम्भव हुने मुख्यमन्त्री गुरुङले बताए । ‘फड्को मार्छु भन्दा तलमाथि भयो भने दुर्घटना हुनसक्छ,’ उनले भने, ‘सरकार यसातर्फ पनि सचेत छ ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हजारौं माइल टाढा देख्न सक्ने बाज भएको बताउँदै मुख्यमन्त्री गुरुङले दूरदृष्टि राखेर काम गरिरहेको बताए ।
मूख्यमन्त्री गुरुङले स्थानीय तहमा बढी भ्रस्टाचार बढेको दाबीप्रति उनले असहमति जनाए । ‘स्थानीय तहले धेरै अधिकार पाए र भ्रस्टाचार बढ्यो भन्ने भ्रम छ के संघमा भ्रस्टाचार भएको छैन ?’ उनले भने, ‘कतिपय स्थानीय तहले सलाम गर्नुपर्ने गरी काम गरेका छन्, जनतामा भरोसा जगाएका छन् ।’
उनले संघीय प्रणाली झट्ट हेर्दा महंगो प्रणाली भए पनि जनताका निम्ति सबैभन्दा सस्तो प्रणालीका रुपमा बुझ्न आग्रह गरे । खानेपानी आयोजना पार्न काठमाडौंको धाउनुपर्ने अवस्थाको अन्त्य भएर घरदैलोबाटै सुविधा पाएको उनले सुनाए ।
बालुवाटारको हिसाबकिताब हुन्छ
नेकपाका नेता समेत रहेका गुरुङले संघीय सरकार काण्डैकाण्डमा फस्यो भन्नु न्यायपूर्ण नहुने धारणा राखे ।
कतिपय अघिल्लो सरकारकै पालामा भएको काण्डहरु अहिले बाहिर आएको गुरुङले बताए । बालुवाटार काण्डको सबै हिसाबकिताब जनतासामु आउने मुख्यमन्त्री गुरुङको भनाइ थियो । केही कमजोरी यो सरकारका पालामा पनि भएको स्वीकार गर्दै मुख्यमन्त्री गुरुङले त्यसलाई भने सच्याउनुपर्ने बताएका छन् ।
कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्रले दुम्किवास–त्रिवेणी सडक बनाउन सरकार नतातेको आरोप लगाएका थिए । जवाफमा मुख्यमन्त्री गुरुङले पोखरा–दुम्किवास, दुम्किवास–त्रिवेणी सडक प्रदेशको लाइफलाइन भएकाले बनाउन पहल भइरहेको बताए । ‘हामी लागेका लाग्यै छौं, जग्गा माग गरेका छौं । संघीय सरकारको वन मन्त्रालय र राष्ट्रिय निकुञ्जले बखेडा निकालेको छ,’ उनले भने, ‘प्रधानमन्त्रीसँग पनि कि हाम्रो बाटो हुँदैन भनिदिनुस् कि चाँडो खोलिदिनुस् भनेको छु । तर माथिल्लो सरकारकै कारण अल्झिराखेको छ ।’
फेवातालमा पनिसंघीय सरकारले सीमा तोक्ने काम नगरेका कारण प्रदेशले संरक्षण गर्न नसकेको बताए । बेलाबेला कालीगण्डकी डाइभर्सनबारे मुद्दा उठिरहेको बताउँदै मुख्यमन्त्री गुरुङले कुनै पनि हालतमा यो नहुने अडान दोहोर्याएका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4