Comments Add Comment

साहसिक पर्यटनको कान्छो प्रडक्ट ‘क्वाड बाइक राइडिङ’ चित्लाङमा

२३ पुस, चित्लाङ । मरुभूमिको भ्रमणमा जाँदा युवाहरुबीच सबैभन्दा लोकप्रिय साधन हो क्वाड बाइक । चार वटा पांग्रा हुने यो बाइक पर्यटकीय उत्पादनका रुपमा व्यवसायिक प्रयोजनमा नेपाल भित्र्याइएको छ ।

अल टेरेन भेइकल (एटीभी)का रुपमा चिनिने यो उत्पादनले चित्लाङमा एक नौलो पर्यटकीय उत्पादन थप्न सहयोग गरेको व्यवसायीहरुले बताएका छन् । द एडभेन्चर गियरले चित्लाङस्थित चित्लाङ रिसोर्टसँगको सहकार्यमा क्वाड बाइक भित्र्याएको हो ।

काठमाडौं नजिकै नौलो अनुभवसहित साहसिक पर्यटकीय उत्पादन भित्र्याउने क्रममा क्वाड बाइक ल्याइएको द एडभेन्चर गियरका प्रबन्ध निर्देशक बलराम महर्जनले जानकारी दिए । करीव १२ लाख रुपैयाँ मूल्य पर्ने यस्ता बाइक सार्वजनिक सडकमा भने कुदाउन पाइदैन ।

चित्लाङमा क्वाड बाइक कुदाउन स्थानीय रुट बनाइएको छ । यहाँ करीव १ घण्टाका लागि क्वाड बाइक कुटाउन सक्ने गरी ६ किलोमिटर लामो रुट बनाइएको छ । त्यसका लागि स्थानीय तहबाट अनुमति लिएको रिसोर्ट सञ्चालक शैलेश नेपालले जानकारी दिए ।

रिसोर्ट र द एडभेन्चर गियरको सहकार्य

होमस्टे, बाख्राको चिज उत्पादन केन्द्र, आकर्षक प्राकृतिक भू–वनोट, नजिकमा चन्द्रागिरी र इन्द्रसरोवर, यो चित्लाङको पहिचान थियो । यसबाहेक यहाँ पर्यटकलाई भुलाउने अन्य उत्पादन भने थिएनन् ।

यसले पर्यटकको कम्तीमा एक दिनको बसाई अवधि लम्ब्याउन सहयोग गर्ने कम्पनीको भनाइ रहेको छ । जारी भ्रमण वर्षको पूर्वसन्ध्यामा गत डिसेम्बर अन्तिम साता मात्र क्वाड बाइकको औपचारिक शुभारम्भ गरिएको हो ।

कम्पनीले चीनबाट भित्र्याएका यी बाइकले यात्रुलाई साहसिक अनुभवसहित सुरक्षित यात्राको समेत प्रत्याभूति दिने महर्जनको भनाइ छ । ‘सामान्य बाइक कुदाउन सक्ने सबैले सजिलै यसको यात्रा गर्न सक्छन्,’ उनले भने, ‘अफरोडमा सुरक्षित रुपमा बाइक कुदाउन सक्ने गरी सुरक्षा सामग्रीको प्रबन्ध गरिएको छ ।’

अहिले ५ वटा बाइकबाट चित्लाङ पुग्ने पाहुनाले यात्राको अनुभव लिन सक्नेछन् । रिसोर्टमा पाहुना नभइ चित्लाङ पुगेका पर्यटकले समेत बाइक चलाउन सक्नेछन् । कम्पनीका अनुसार एक घण्टाको यात्राका लागि ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

एक गन्तब्य अनेक अनुभूति

चित्लाङ काठमाडौंबाट मात्र २७ किलोमिटर दूरीमा अवस्थित छ । यहाँ पुग्न यात्रुले अनेक सुविधा उपयोग गर्न सक्छन् । काठमाडौंबाट चन्द्रागिरी डाँडोसम्म केवलकार प्रयोग गरी त्यहाँबाट करीव २ घण्टाको हाइकिङमा चित्लाङ पुग्न सकिन्छ ।

अहिले चन्द्रागिरीबाट चित्लाङ पुग्नसमेत सहज सडक यातायातको सुविधा थप हुने क्रममा छ । चित्लाङमा एक÷दुई दिन बिताइसकेपछि भने यात्रुले फर्कदा इन्द्रसरोवरको रुट रोज्न सक्छन् । यस रुटबाट फर्कदा कुलेखानीमा डुंगा शयर गर्न समेत सकिन्छ । कतिपय रिसोर्टले कुलेखानीमा डुंगा शयरका लागि पनि प्याकेज बिक्री गरेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment