Comments Add Comment
दिलीप हत्या प्रकरण :

‘मनमनै साँचेको त्यो खुशी क्षणभरमै खरानी भयो’

छोरालाई इन्जिनियर भएको हेर्न चाहन्थे रामजीवन

दिलीपकी आमा र अरु आफन्त भावविह्वल अवस्थामा । तस्वीर : श्रवण देव

२५ पुस, जनकपुरधाम । मिथिला नगरपालिका–५ श्रीपुरस्थित दिलीप महतोको घर पुग्दा चन्द्रकलादेवी बिलौना गरिरहेकी थिइन्, ‘कोई हमर बाबूक लाइबदे, गौ हमर बाबू कतय चलि गेलै ? अर्थात मेरो बाबुलाई कसैले ल्याइदिऊ, मेरो बाबु ….।’

अवैध नदी उत्खननको विरोध गर्दा दिलीपलाई शुक्रबार विहान झिसमिसेमै टिपरले किचेर मारेको थियो । छोराको हत्या भएको खबर सुनेदेखि नै उनी बेहोसजस्तै छिन् । सान्त्वना दिन छिमेकीहरु जम्मा भएका छन्, तर आमाको मन के माथ्यो र ?

दिलीपका बुवा कृष्णा भनिने रामजीवन महतो टोलाइरहेका छन् । परिवारमा सबैका प्रिय दिलीपलाई गुमाउँदा उनी आफैं सम्हालिन सकेका छैनन्, बिलौना गरिरहेकी पत्नी चन्द्रकला र छोरीहरुलाई कसरी सम्हालुन् ? रामजीवनकै छेउमा बसेर उनका पिता अर्थात् दिलीपका हजुरबुवा रामप्रित निरन्तर आँशु झरिरहेका थिए । झण्डै ८० बर्ष उमेरका रामप्रितबाट कुनै शब्द निस्किरहेको थिएन ।

दिलीपका बुबा र हजुरबुबा ।

दिलीप रामजीवनका जेठो छोरा हुन् । जेठी छोरीपछि दिलीप जन्मिए त्यसपछि पाँच जना छोरी जन्मिए । उनीहरु सबैका कान्छो एक जना भाइ छन् परिवारमा ।

इन्जिनियर देख्ने सपना अधुरै

दिलीप महतो

रामजीवनको परिवार कृषि पेशामा आश्रित छ । कहिले उखु, कहिले धान त कहिले अन्य बाली लगाएर हातमुख जोर्दै आएका छन् । आफू जतिसुकै दुःख कस्ट पाए पनि जेठा छोरा दिलीपलाई ठूलो पदमा पुगेको हेर्न चाहन्थे रामजीवन र उनको परिवार ।

त्यही सपना पूरा गर्न रामजीवनले दिलीपलाई इन्जिनियरिङ पढ्न भारतको भोपाल पठाएका थिए । तीन वर्षअघि जसोतसो रकम जुटाएर दिलीपलाई भारतको भोपालमा पढ्न पठाएका थिए उनले । ‘यसपछि पनि कहिले ऋण त, कहिले परिवारको छाक काटेर रकम पठाइरह्यौं’ उनी भन्छन्, ‘छोरा इन्जिनियर बनोस् भन्ने मेरो ठूलो सपना थियो ।’

दिलीपले पनि परिवारको चाहना बुझेका थिए र अन्तिम परीक्षा दिएर हालै मात्र घर फर्किएका थिए । रामजीवन भन्छन्, ‘परीक्षाको नतिजा आएपछि उनी इन्जिनियर बन्ने र मेरो सपना पूरा हुने मनमनै गुनिरहेको थिएँ । तर मनमनै साँचेको त्यो खुशी एक छिनमै खरानी भएको छ ।’

‘मेरो दिलको टुक्रा थियो दिलीप, अब कसरी जीवन चलाउनु ?’ उनले अघि भनेका छन् ।

दिलीपको अपत्यारिलो हत्याले रामजीवनको परिवार मात्र होइन, पुरै श्रीनगर गाउँ शोकमा डुबेको छ ।

गाउँलेहरुले दिलीपको हत्या गर्नेलाई कारबाहीको माग गरेका छन् । बुवा रामजीवनले भने, ‘मलाई न्याय चाहियो । मेरो छोराको हत्यारा चाँडो कानूनी दायरामा आउन् ।’

गाउँलाई बाढीबाट बचाउन चाहन्थे दिलीप

श्रीपुर गाउँदेखि झण्डै तीनसय मिटर पूर्वतर्फ छ औरही खोला । खोला किनारमै पश्चिमपट्टी विपिन महतो र उनको समूहले एक बर्ष अगाडि क्रसर उद्योग सञ्चालन गरेका छन् । त्यसका लागि विपिनले केही जग्गा खरिद गरेका थिए भने दिलीपकै बुवा रामजीवनसँग ५ कठ्ठा जग्गा भाडामा लिएका थिए । जग्गा भाडामा लिएवापत रामजीवनलाई वार्षिक २५ हजार रुपैयाँ तिर्ने सहमति गरेका थिए ।

श्रीपुरबासीका अनुसार क्रसर उद्योग खोल्ने बेला विपिनले औरही खोलाको बालुवा गिट्टी नझिक्ने र बाहिरबाट ल्याएर क्रसिङ गर्ने प्रतिबद्वता जनाएका थिए । तर उनले औरही खोलाकै बालुवा, गिट्टी झिक्दै क्रसिङ गर्न शुरु गरे । धेरै गहिरोसम्म उत्खनन गर्न शुरु गरेपछि दुई साताअघि आएका दिलीपले यो दृश्य नियालेका थिए ।

औरही खोलाको उत्खननले बालीनालीलाई सखाप पार्दै बर्षाको समयमा गाउँ नै डुबाउने खतरा उनले देखेपछि शुरुमा क्रसर उद्योगीहरुसँग खोला उत्खनन नगर्न आग्रह गरे । त्यसलाई नसुनेपछि खोला उत्खनन गर्नेहरुको टिपरहरुलाई रोक्न थाले ।

‘केही दिन दाजुले टिपरलाई रोक्ने काम गर्नुभयो । यसका निम्ति युवाहरुसँग छलफल गर्नुहुन्थ्यो’ मृतक दिलीपका सानीआमाका छोरा रजनिश कुमारले भने, ‘दाइले गाउँलाई बाढीबाट जोगाउन यस्तो अभियान थाल्नुभएको थियो । यसमा के उहाँको के गल्ती ?’

बर्षाको समयमा औरही खोलामा आउने बाढीले नदी छेउछाउका सम्पूर्ण जग्गामा लगाइने बालीले क्षति पुर्‍याउँदै आएको दिलिपले यसअघि पनि देखेका थिए । रजनिशका अनुसार नदी तटमै क्रसर उद्योग राखेर रातारात उत्खनन गर्न थालेपछि गाउँ डुब्ने चिन्ता उनले गाउँका मानिसहरुलाई सुनाउँदै आएको बताएका थिए ।

तर गाउँलाई डुबानबाट बचाउन खोज्दा उनले टिपरबाट किचिएर ज्यान गुमाउनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment