Comments Add Comment

सुदूरपश्चिमका पाखापखेरामा हिउँका पारखी

पर्यटक भन्छन्, ‘स्वर्ग कतै छ भने सायद यही होला’

२७ पुस, धनगढी । कैलालीको गोदावरी नगरपालिका अत्तरियाका सरोज पाठक वृद्ध आमा र साना छोरा–छोरीसहित डडेल्धुराको साहुँ खक भेटिए । साना बालबालिका सहित उनी हिउँमा रमाइरहेका थिए । पहिलो पटक हिउँलाई नजिकबाट नियाल्न पाएकोमा उनी दङ्ग थिए । ‘यस्तो हामीले कहिल्यै देखेका थिएनौं,’ उनले भने, ‘स्वर्गजस्तै सुन्दर रहेछ सुदूरपश्चिम ।’

पूरै परिवारसँग पाठक हिउँमा रमाइरहेका बेला धनगढी–४, उत्तर बेहेडिका आशिष मल्ल पनि साथीसँग हिउँ खेल्न डडेल्धुरा पुगेका थिए । हिउँमै लटपटिएका मल्लले भने, ‘तराईमा बस्ने हामीहरूको लागि यो त सौभाग्य हो ।’

सुन्दर सुदूरपश्चिम हिउँले थप सुन्दर भएको उनले प्रतिक्रिया दिए । उनले भने, ‘त्यसै पनि सुदूरपश्चिम सुन्दर छ । त्यसैमाथि हिउँले ढाक्दा त घुम्टोमा लुकेकी दुलहीजस्तै लाग्यो ।’

तेस्रो पटक डडेल्धुरमा हिउँ परेपछि हिउँ हेर्न र खेल्न डडेल्धुराको साहुँखर्क, मेलखर्क र हगुल्टे लेक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको हो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुधबार राति पुनः हिमपात भएको थियो । बुधबार रातिदेखि बिहीबार मध्याह्सम्म हिउँपरेको थियो ।

दुई दिनसम्म परेको हिउँ अझै हटेको छैन । अझै एक सातासम्म यस्तै हिउँ रहने त्यहाँका स्थानीयबासीले बताए । हिउँमा रमाइरहेका तस्वीर र दृश्य सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आउन थालेपछि हिउँ खेल्न आउनेहरूको संख्यामा पनि वृद्धि भएको हो ।

कैलाली, कञ्चनपुरबाट मात्रै नभई भारतबाट पनि सयौं नागरिक हिउँ हेर्न यहाँ आइपुगेका छन् ।

कैलालीको त्रिनगर नाका भएर विगतभन्दा धेरै भारतीय पर्यटकहरू भित्रिरहेको जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीले जानकारी दिए ।

‘केही दिन पहिले पहाडी क्षेत्रमा परेको हिउँ हेर्न आउने पर्यटकहरूको संख्या बढी रहेको छ’, उनले भने, ‘हिउँ हेर्न आएका उनीहरू उत्साहित देखिन्छन् ।
पलियाको खिरीकीबाट हिउँ हेर्न आएका सुरेन्द्र अग्रवालले पहिलो पटक यसरी हिउँ हेर्न पाएको अनुभव सुनाए । ‘हामीले त यस्तो दृश्य फिल्ममा मात्र देखोका थियौं । प्रत्यक्ष आँखाले हेर्दा निकै रमाइलो लाग्यो,’ उनले भने ।

हिउँ हेर्न यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु सुदूरपश्चिम सुन्दर रहेको बताउँछन् ।

नेपाल भ्रमण वर्ष २०२० चलिरहेको बेला सुदूरपश्चिम प्रदेशमा तेस्रो मुलुकका पर्यटकहरूको आगमन शून्य जस्तै भए पनि हिउँ हेर्नकै लागि भए पनि भारतीय पर्यटकहरू भने बढिरहेका छन् ।

हिउँले सुन्दर देखिएको यही क्षेत्रलाई प्रचारप्रसार गरेर थप पर्यटक ल्याउन सकिने घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीले बताए ।

हिउँ हेर्न डडेल्धुरा पुगेका नगर प्रमुख चौधरीले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि यो महत्त्वपूर्ण अवसर रहेको बताए । उनले भने, ‘हामी विदेश भन्छौ । तर स्वदेश घुम्दैनौ । आफ्नै क्षेत्रमा रहेका यस्ता क्षेत्रहरूको प्रचार प्रसार गरेर पर्यटक तान्न आवश्यक छ ।’

साहुँखर्क, मेलखर्क र हगुल्टे लेक क्षेत्रमा हिउँ खेल्नको लागि दैनिक तीन सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आइरहेका छन् ।
कैलालीको नेपाल–भारत सीमा क्षेत्र त्रिनगरबाट करिब १३० किलोमिटरको यात्रा पछि हिउँ हेर्न पाइन्छ ।

कैलालीसँगै डोटीका विभिन्न स्थानमा पनि हिउँ परिरहेको छ । के आई सिंह सिंह राजमार्गको हगुल्टे लेकमा हिउँ परेपछि सवारी रोकेरै यात्रुहरू हिउँमा रमाउने गरेका छन् । सवारी रोकेर यात्रुहरूले हिउँ खेल्दा सवारी आवागमन नै प्रभावित हुने गरेको छ ।

तस्वीरहरूः रामहरि ओझा, डोटी/भानुभक्त आचार्य, कैलाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment