Comments Add Comment

ओझेलमा धार्मिक पर्यटकीय स्थल उमातीर्थ

२९ पुस, रामेछाप । उचित प्रचार प्रसार र पूर्वाधार निर्माण नहुँदा रामेछाप जिल्लाका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरु ओझेलमा परेका छन् । प्रचार प्रसारकै आभावमा जिल्लाको उत्तरी क्षेत्रको हिमालको फेदीमा रहेको महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल उमातीर्थ समेत ओझेलमा परेको छ ।

रामेछाप जिल्लाकै सबैभन्दा उत्तरीभाग हिमालसँग जोडिएको साविकको गुम्देल गाविसको वडा नम्बर १ मा रहेको उमातीर्थलाई पवित्र तीर्थस्थलन मानिन्छ । हाल उमाकुण्ड गाउँपालिका १ मा पर्ने सो स्थान विभिन्न हिमचुचुराबाट पानी निस्किएर बग्ने नुप्चे खोला र हिमगंगाको संगम स्थल हो । सप्तकोसीका ७ वटा नदी मध्येको एक लिखु नदीको उत्पत्ति स्थल पनि यही उमातीर्थ नै हो ।

उमातीर्थलाई उत्तरगया, उमाकुण्ड, हिमालकासी भनेर पनि सम्बोधन गरिने उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी गुम्देलकी उर्मीला कार्कीले बताइन् । सो स्थानको बारेमा जानकारी भएकाहरु पितृ श्राद्ध र दिवगंत भएकाहरुको अस्तु सेलाउन देशका विभिन्न भाग र भारतदेखि आउने गरेको उनले बताइन् ।

सो स्थानमा माता तीर्थ औंसी, कुशे औंसी, पुसे औंसी, बालाचतुर्दशी, शीवरात्री लगायतको पर्वमा ठूलो मेला लाग्ने बाम्ती भण्डारका रोकटबहादुर बस्नेतले बताए ।

यो स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा पनि विकास गर्न सकिने बस्नेतले बताए । हिउँद महिनामा हिँउको मज्जा लिँदै हिमाली क्षेत्रकको जैविक विविधता र वनस्पतिको विविधता यहाँ देख्न पाइने उनले बताए । अहिले जिल्ला सदरमुकाम मन्थलीबाट उमाकुण्डको बाम्ती हुँदै गुम्देलको ठाडोखोला झरेर लिखु नदीको किनारै किनार यस स्थानमा पुग्न सकिने गरी सडक निर्माण भइसकेकोले पनि यसको महत्व अझ बढेको उनले बताए ।

रामेछापको गोकुलगंगा गाउँपालिकाको शिवालयबाट देउराली, थोदुङ, सेर्दिङ, गुम्देल, क्यामा, उमातीर्थ, ल्हाछेवर हुँदै सोलुको दुधकुण्ड क्षेत्र निस्कने पर्यटकीय पदमार्ग समेत तय भएको छ । सदरमुकाम मन्थलीबाट धोवी, लोफ्रा भित्तरीखानी, तामे, लाप्चाने, बाम्तीभण्डार, गुम्देल, क्यामा, उमातीर्थ, छेवर हुँदै काङ्गछ्योर्तेन गुम्बासम्मको धार्मिक पर्यटन यात्राको पनि त्यतिकै सम्भावना रहेको बस्नेतले बताए । यसको साथै शेर्पा समुदायको संस्कार र संस्कृति, चौंरी गाई र गाईका दुधबाट बनेका परिकार, लेकाली अन्नका परिकार तथा जडिबुटीका लागि पनि यो क्षेत्र प्रख्यात छ ।

सो क्षेत्रमा पर्यटन क्षेत्र विकास र पूर्वाधार निर्माणको लागि गाउँपालिकाले काम सुरु गरेको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार बताउँछन् । गुम्देलमा पुग्ने पर्यटकहरुको सुविधाको लागि सो क्षेत्रमा होमस्टे निर्माणको लागि यस वर्ष पालिकाले बजेट विनियोजन गरेको उनले बताए । यसले पर्यटकहरुलाई बास बस्न सजिलो हुने उनको भनाइ छ ।

पछिल्लो समय भिजन हाइड्रोले नुप्चेखोला र हिमगंगाको पानीलाई एकैठाउँमा निकालेर ७२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव अघि सारेको छ । यदि सो आयोजनाको कामा अघि बढ्यो भने यो ऐतिहासिक संगम स्थल मासिने छ । एउटा खोलाको पानी सुकेर यसको धार्मिक तथा ऐतिहासिक पहिचान मेटिने छ भने प्राकृतिक मनोरम पनि घट्ने कुरामा स्थानीयहरु चिन्तित देखिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment