+
+
Shares

‘शरणार्थी’को कथा थन्क्याएर बेग्लै धपेडीमा विनोद

दिप्सन लुइटेल दिप्सन लुइटेल
२०७६ माघ ३ गते १९:४५

३ माघ, काठमाडौं । चलचित्र ‘बुलबुल’ प्रदर्शन भइरहेको थियो । आफ्ना चलचित्रबारे कस्तो प्रतिक्रिया आउँछ भन्नेले निर्देशक विनोद पौडेलको मन अस्थिर र अधैर्य थियो ।

ठीक त्यही बखत क्युएफएक्स सिभिल मलका व्यवस्थापकले उत्साहित हुँदै भने, ‘‘विनोदजी, हल हाउसफुल छ । तुरुन्त टिम आउनुपर्‍यो ।’

विनोदले हतारहतार चलचित्रमा मूख्य भूमिका निर्वाह गरेकी अभिनेत्री स्वस्तिमा खड्कालाई फोन गरे ।

स्वस्तिमा नभ्याउने भइन् । अभिनेता मुकुन भुसाललाई लिएर उनी सिभिल मलसम्म पुगे ।

हल साँच्चै भरिभराउ थियो । फिल्म सकियो । हलका व्यवस्थापकले दर्शकलाई सुनाए, ‘यहाँ अहिले फिल्मका निर्देशक र अभिनेता पनि आउनुभएको छ ।’

विनोद पौडेल र मुकुन भुसाल दर्शकको सम्मुखमा प्रकट भए ।

तर भीडबाट एक युवा उठे चर्को स्वरमा बोले, ‘झुर फिल्म’ ।

अर्का एक दर्शक विनोदकै सामुन्नेमा आएर सोधे, ‘तपाईंको पहिलो फिल्म हो ?’ विनोदले ‘हो’ भन्ने भावमा टाउको हल्लाए । ती दर्शकले पनि सहानुभूति मिश्रित उपदेश दिए, ‘अब फिल्म बनाउँदा स्क्रिप्टमा ध्यान दिनुहोला ।’

दर्शकको यस्तो प्रतिक्रियाबाट विनोद विचलित भएनन् । किनभने उनको निम्ति यो अनपेक्षित थिएन । अघिल्लो दिन कुमारी हलमा विनोद आफ्नो फिल्म हेर्न सुटुक्कै दर्शकसँगै घुस्रिएका थिए । फिल्म हेर्ने अधिकांश दर्शक किशोरवयका थिए । फिल्म हेरिरहँदा उनीहरु मस्त हाँसिरहेका थिए, मनोरञ्जन गरिरहेका थिए । जसै फिल्म सकियो, विनोदकै आसपासमा बसेका किशोर–किशोरीले भने, ‘ह्या, कस्तो फिल्म ? कसले बनाएको होला ?’

शरणार्थीको कथालाई थन्को लगाएपछि विनोद किशोरको पछाडि दौडिएका छन् । आफ्नै भाइ–भतिजसँग संगत बढाएका छन् । किशोरपुस्तासँग चिया गफमा समय बिताइरहेका छन् । किनभने उनी किशोरपुस्ताकै कथामा अर्को फिल्म बनाउने प्रारम्भिक तयारीमा छन् ।

विनोदको मन अमिलो भयो ।

‘बुलबुल’को अर्को शो हेर्नका लागि भने कलाकर्मी, पत्रकारलाई निम्तो गरिएको थियो । उनीहरुसँग पनि विनोदले आफ्नो फिल्म हेरे । यतिबेला भने सबैले फिल्म निकै घतलाग्दो भएको प्रतिक्रिया दिँदै विनोदलाई ढाडस दिए ।

विनोदको मन हलुंगो भयो ।

तर आफ्नो काम राम्रो भयो वा भएन भन्नेमा उनी स्पष्ट थिएनन् । प्रतिक्रिया मिश्रित थियो । उनले आत्ममन्थन गरे । ‘म आफ्नो कामबाट सन्तुष्ट छु भने बाहिरको कुराले किन मन बिथोल्ने ?’ उनी टुंगोमा पुगे र सन्तोषको लामो सास ताने ।

सुरुवाती दिनमा फिल्मले राम्रै शो पायो । अधिकांश समीक्षामा उनको कामको तारिफ भयो ।

विनोदको मन फुरुंग भयो ।

शरणार्थीको पछि–पछि

‘बुलबुल’ बनाउनुअघिको कुरा ।

बीबीसीमा नेपाली शरणार्थीसम्बन्धी फिचर स्टोरी पढेका थिए । फिचर स्टोरीको सार थियो, ‘शरणार्थीहरु आत्महत्या गर्दैछन् ।’

यसले विनोदको दिमागमा विश्वप्रशिद्ध फिल्ममेकर अब्बास किरोस्तामीको कुरा आयो, ‘एक ठाउँमा हुर्किएको रुखलाई जरासहित उखालेर अर्को ठाउँमा सारियो भने त्यसले दिने फल कस्तो हुन्छ होला ?’ यो कुराले विनोदको मनमा चस्स घोच्यो ।

जन्मिए भुटानमा, हुर्किए भुटानमा । तर त्यही भुटानले गलत्याएर निकालिदियो । नेपाल आइपुगे । आफ्नो भाषा, संस्कृति मिल्ने देश पाए । तर नेपालले पनि व्यवस्थित गर्न नसक्दा उनीहरु अमेरिकालगायतका तेस्रो मुलुक पुगे ।

ती भुटानीहरु अब्सा किरोस्तामीले भनेजस्तै रुख हुन् जो आफ्नै माटोमा हुर्कन पाएनन् । उनीहरुलाई बारम्बार जरैसँग एक ठाउँबाट, अर्को ठाउँ, अर्कोबाट अर्को ठाउँमा सारियो । उनीहरु सुविधा सम्पन्न ठाउँमा त पुगे । तर सुखी र खुसी हुने ठाउँमा पुगेनन् । उनीहरु न देश फर्किन सके, न अर्काको देशलाई आफ्नो देश मानेर बस्न सके । विकल्पमा उनीहरुले आत्माहत्या रोजे ।

शरणार्थीको त्यही कथाव्यथा उधिन्न विनोद अमेरिका पुगे । शरणार्थीको घरमा पुगे, पाहुना लागे । भलाकुसारी गरे । संगत गरे । विनोद सुनाउँछन्, ‘पहिला अन्तर्वार्ता गरेर डकुमेन्ट्री बनाए । पछि उनीहरुसँग घुलमिल भएर, नजिकिए अझ थप बुझ्दै गएँ ।’

एकदिन अमेरिकन साथीसँग हाइकिङमा थिए । जंगलमा हिँडिरहेको बखत केही नेपाली र अमेरिकनहरु हतास हुँदै भौतारिहेका भेटिए । विनोदले चासो राखे, ‘केही समस्या भएको हो ?’

एक युवाले सुनाए, ६५ बर्षीय काका हरायो । काका किन हराए ? कहाँ गए ? विनोदले चासोपूर्वक कुरा गरे ।

जंगलको बीचमा नदी थियो । त्यो नदीको किनारमा बसेर उनी एकतमासले घोत्लिए । नदीमा केही शरणार्थी युवा पौडिदै थिए, माछा मार्दै थिए । आफ्नै लयमा वेग मारिरहेको नदीको बहकाव हेरिरहँदा उनको मनमा नानाभाँती कुरा खेल्यो । विनोले सोचे, ‘हराएका व्यक्तिले कतै यहीँ त हाम फालेनन् ?’

केही दिनपछि विनोदले अप्रिय कुरा सुने । हराएका व्यक्तिले आत्महत्या गरेछन्, त्यही नदीमा हामफालेर । खासमा सबै कुरालाई उनी यति सुक्ष्म र नजिकबाट नियाल्दै थिए कि, शरणार्थीको जीवन पर्दामा सजीव ढंगले उतार्न सकियोस् ।

विनोद शरणार्थीकै कथा भन्न चाहन्थे, फिल्ममार्फत ।

तर यो फिल्म निर्माणको लागि सानोतिनो बजेटले धान्नेवाला थिएन ।

अमेरिकामा भएकै बखत उनले लगानीका लागि केही ठाउँमा प्रस्ताव गरे । विनोद सुनाउँछन्, ‘भेटिएका जतिले स्क्रिप्ट मन पराए तर पैसा आफूसँँग नभएको र खोज्ने आश्वसन दिए ।’

त्यसपछि विनोदले यो परियोजना थाँती राखे । किनभने यसका लागि मोटामोटी ७ करोड लगानी आवश्यक थियो ।

किशोरको कथा खोज्दै

शरणार्थीको कथालाई थन्को लगाएपछि विनोद किशोरको पछाडि दौडिएका छन् । आफ्नै भाइ–भतिजसँग संगत बढाएका छन् । किशोरपुस्तासँग चिया गफमा समय बिताइरहेका छन् । किनभने उनी किशोरपुस्ताकै कथामा अर्को फिल्म बनाउने प्रारम्भिक तयारीमा छन् ।

यो फिल्मको बिजारोपण चाहिँ एक ट्याक्सी चालकसँगको भेटघाट भएको रहेछ । विनोद सुनाउँछन्, ‘एकदिन ट्याक्सी यात्राका क्रममा भेटिएका चालकको कुराले म अचम्मित भएँ ।’

ट्याक्सी चालकले भनेछन्, ‘हेर्नुहोस् सर, म खासमा हवाइजहाज किन्न चाहन्थें । अहिले ट्याक्सी चालक भएको छु । मान्छेको जीवन कहाँबाट कहाँ पुग्दोरहेछ ।’

विनोदलाई उनको कुरा गजब लाग्यो । अन्ततः उनकै महत्वाकांक्षालाई समातेर किशोरपुस्ताको मनोविज्ञान खोतल्ने उपक्रममा लागे । यसबीचमा उनले किशोरहरुको अनौठा र घतलाग्दा कथाहरु फेला पारे । र, उनीहरुकै कथामा फिल्म बनाउने निष्कर्षमा पुगे । ‘अरुले प्राय कथा फेला पारेपछि स्क्रिप्ट लेख्छन्’ विनोदले सुनाए, ‘मैले चाहिँ पात्र फेला पारेपछि त्यसलाई कथाको स्वरुपमा ढाल्दैछु ।’

एउटा कुकुरलाई प्रेम गर्ने युवाको कथालाई उनले टिपेका छन् । कथामा अर्का दुई एक संगीतिक दुनिया लागेको र अर्को युवतीलाई कथामा ढालिरेहका छन् ।

फिल्मका लागि उनले प्रारम्भिक टिम पनि बनाइसकेका छन् । उनीहरुलाई विभिन्न पात्र एवं चरित्र दिएर त्यही अनुसार आफूलाई थप परिपक्क बनाउन लगाएका छन् । भनौं, विनोदको अवधारणालाई मूर्त रुप दिन अहिले एउटा सानो टिम चलयमान छन् । विनोद भन्छन्, ‘मैले उनीहरुलाई जुनजुन चरित्र दिएको छु, त्यसलाई थप माझ्न र परिस्कृत गर्न उनीहरु समाजमा छरिएका छन् ।’

फिल्मको पात्रको मनोविज्ञान, चरित्रलाई सजिव तुल्याउन विनोद स्वय्ले आफूलाई प्रयोगशाला बनाएका छन् । दिनदिनै सडकका कुकुरलाई भेला गर्ने, बिस्कुट खुवाउने गर्छन् । ‘छोरालाई लिएर म कुकुरलाई बिस्कुट ख्वाउन पुग्छु । अहिले त मेरो बाइकको आवाज सुन्नसाथ कुकुरहरु झ्याम्मिन थालेका छन्’ उनले सुनाए ।

उनी आफ्नो कथा, परिवेश र पात्र खोज्दै समाजमा घुलमिल हुन्छन् । समाजको मनोविज्ञान केलाउँछन् । पात्रहरुको निर्माण गर्छन् । अनि सामाजिक प्रवृत्तिको पनि सुक्ष्म अध्ययन गर्छन् । विनोदको फिल्म बनाउने शैली यस्तो छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?