Comments Add Comment

सभामुख छान्न ओली र प्रचण्ड छलफलमा, वामदेव भन्छन्- प्रचण्डलाई प्रस्ताव गर्न दिऊँ

‘प्रचण्डले नेम्वाङ प्रस्ताव गर्दा सिंगो पार्टीको अध्यक्ष बनेको सन्देश जान्छ’

५ माघ, काठमाडौं । सभामुख उम्मेदवारमा सहमति कायम गर्न सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीसँग परामर्श गर्न प्रचण्ड आइतबार बिहानै बालुवाटार पुगेका हुन् ।

नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन । यसबीचमा पटक–पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको छ ।

उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले नेकपाले सभामुखको उम्मेदवार तय गरेपछि आफूले राजीनामा दिने बताएकी छन् । उनी आफैं सभामुखको दाबेदार हुन् र आफूलाई उम्मेदवार नबनाए राजीनामा नदिनेसम्मको चेतावनी उनले दिँदै आएकी छन् ।

नेकपाका दुवै अध्यक्षले सभामुखमा आ–आफ्ना पूर्वसमूहका नेताको नाम अघि सारेका छन् । प्रधानमन्त्रीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने प्रचण्डले अग्नि सापकोटा लगायतका नेताको नाम अघि सारेका छन् ।

नेकपाको केन्द्रीय सचिवालयका ९ जना नेतामध्ये प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सभामुख उम्मेवार प्रचण्डले प्रस्ताव गर्न पाउनुपर्ने पक्षमा रहेको प्रचण्डनिकट स्रोतले जनाएको छ । दुवै नेताबीच सहमतिमै नाम तय गरेर सचिवालयमा ल्याउन अन्य नेताले सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्दैछ । बैठकअघि नै नेकपाले सभामुखको उम्मेदवार तय गर्ने नेताहरुले बताएका छन् । दुवै अध्यक्षबीच सभामुख उम्मेदवार सहमतिमै तय हुने महासचिव बिष्णु पौडेलले बताए ।

वामदेवले भने– प्रचण्डले प्रस्ताव गरुन्
यसैबीच नेकपाका प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले सभामुख उम्मेदवार प्रचण्डलाई प्रस्ताव गर्न दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । उनले सचिवालयमा आफ्नो मत व्यक्त गर्नुपर्दा आफूले प्रचण्डलाई साथ दिने समेत बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै गौतमले भने, ‘सभामुखमा प्रचण्डले नै सुवास नेम्वाङको नाम प्रस्ताव गर्नुभए उहाँ पार्टीको साझा अध्यक्ष भएको अनुभूति सबैले गर्ने थिए । किनकि एकीकृत पार्टीको कार्यकारी अध्यक्षले हिजोको समूहको भाग खोज्नु राम्रो होइन । तर, उहाँलाई पार्टी एकता भइसकेको छैन भन्ने लागेको हो भने विगतको शक्ति सन्तुलन अनुसार सभामुख उहाँले नै प्रस्ताव गर्न पाउनुपर्छ ।’

भैंसेपाटीमा गत साता गौतमनिवासमै बसेको ५ जना नेताको बैठकमा पनि प्रचण्डले सभामुख आफूले प्रस्ताव गर्ने अडान राखेको गौतमले बताए । गौतमले भने भैंसेपार्टी बैठकमा भावनात्मक एकता र आफू सिंगो पार्टीको अध्यक्ष भएको सन्देश दिन नेम्वाङलाई सभामुख प्रस्ताव गर्न प्रचण्डलाई आग्रह गरेका थिए । सो बैठकमा सभामुख पूर्वमाओवादीलाई नै दिनुपर्ने भनेर कुनै निर्णय नभएको समेत गौतमले प्रष्ट पारेका छन् ।

भैंसेपाटीबाट आफूलाई घेराबन्दी गरेर दबाव दिन खोजिएको बुझेपछि प्रधानमन्त्री ओलीले सभामुख उम्मेदवार पनि सोही बैठकका नेताहरुलाई चयन गर्न चुनौति दिएका थिए ।

भैंसेपाटी भेलापछि उपसभामुख तुम्बाहाङफेले आफू राजीनामा नदिने भन्दै महाअभियोग लगाएर हटाउन चुनौति दिएकी थिइन् ।

कार्यकारी भूमिका पाएका अध्यक्ष प्रचण्डले अन्यत्रै भेला गरेर दबाव दिन थालेपछि प्रधानमन्त्री असन्तुष्ट बनेको उनी निकट नेताहरुले बताएका छन् । उता, पूर्वमाओवादीका नेताहरु चाहिँ सचिवालयका नेता एक ठाउँमा जमघट हुनै नपाइने नियम कतै नभएको तर्क गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment