Comments Add Comment

हामी कति सभ्य ?

हामी कति सभ्य छौं ? यो आफैले परीक्षण गर्न सकिने कुरा हो । यसका लागि अरु केही गर्नुपर्दैन, आफुले दिनभर गर्ने व्यवहारको मूल्यांकन गरे पुग्छ ।

अशक्तको खातिर के गर्छौ ?

मानौं, कुनै दृष्टिविहिन व्यक्ति असजिलो बाटोमा हिँडिरहेका छन् । हामीकहाँ दृष्टिविहिनका लागि उपयुक्त हुने बाटो छैन । शहरका केही स्थानमा ब्रेल मार्ग त छ, तर त्यो व्यवहारिक प्रयोगका लागि उपयुक्त छैन । सेतो छडीको साहारामा एउटा दृष्टिबिहिनलाई हिँडडुल गर्न पक्कै गाह्रो हुन्छ । उनीहरुको त्यस्तो बाध्यता देखेर पनि हामी नदेखे झै गर्छौं ।

यदी हामीमा थोरैमात्र मानविय चेत हुँदो हो त, हामी दृष्टिविहिनलाई निश्चित गन्तव्यसम्म डोहोर्‍याएर सहयोग गर्न सक्छौं । वा अगाडिको बाटोको अवस्थाबारे अवगत एवं सचेत गराउन सक्छौं ।

तर, हामीले के देखेका छौं भने, आफ्नै सुरमा हिँडिरहेका दृष्टिविहिन व्यक्तिलाई पन्छाउँदै, धकेल्दै हामी अगाडि बढ्छौं । गाडीमा चढ्दा होस् वा कुनै पसलमा किनमेल गर्दा, आफुभन्दा कमजोर वा अशक्तलाई पन्छाउने गरिन्छ । यो हाम्रो असभ्यपन हो ।

बृद्धबृद्धाको अगाडि के गर्छौ ?

मानौ कुनै बृद्धबृद्धा बसिरहेका छन् । उनीहरुप्रति हामी कति सम्मानभाव प्रकट गर्छौं । उनीहरुको अगाडि हामी कसरी प्रस्तुत हुन्छौं ? यो कुराले पनि हाम्रो सभ्यता जाँच्छ ।

धेरैजसो के देखिन्छ भने, बृद्धबृद्धालाई अपहेलना गर्ने । उनीहरुसँग शक्ति, सामथ्र्य छैन भनेर हेपाह व्यवहार गर्ने । हामी उनीहरुको अगाडि हार्दिकतापूर्वक व्यवहार गर्न कञ्जुस गर्छौ । यो हाम्रो असभ्यपन हो ।

बृद्धावस्था एक प्राकृतिक चरण हो र त्यो चरणमा पुगेपछिको अवस्था कति संवेदनसिल हुन्छ भनेर बुझ्न सक्दैनौ भने हामी कसरी सभ्य ?

आफुभन्दा साना वा कमजोरप्रति कस्तो व्यहार गर्छौ ?

अक्सर हाम्रो प्रवृत्ति के हुन्छ भने, आफुभन्दा साना, कमजोरलाई हेला गर्ने । समाजमा गन्यमान्य भनिने, आफुलाई प्रतिष्ठित देखाउन चाहनेहरु पनि आफुभन्दा साना र कमजोरमाथि हेपाह व्यवहार गर्छन् । यो असभ्यता हो ।

आफुभन्दा ठूलाको अगाडि हात मोलेर प्रस्तुत हुनेहरु आफुभन्दा सानालाई हप्काउने, दप्काउने गरिरहेका हुन्छन् । यस्तो प्रवृत्ति भएकाहरु वास्तवमै असभ्य हुन् । सभ्य मानिसले आफ्नो व्यवहार, हेराईमा कसैमाथि विभेद गर्दैन ।

जीवजन्तुप्रति हामी कस्तो व्यवहार गर्छौ ?

मानौं तपाई बाटोमा हिँडिरहेको बेला कुनै भुस्याह अर्थात सडक कुकुर देख्नुहुनेछ, तब के गर्नुहुन्छ ? लात बजार्नुहुन्छ कि साहनुभूतिपूर्वक केही खानेकुरा दिनुहुन्छ ?

अक्सर के देखिन्छ भने सडक कुकुरलाई ढुंगा हान्ने, लात बजार्ने, तातो पानी खन्याउने । यो असभ्यताको हद हो । सभ्य मानिसले निर्दोश एवं निरिह प्राणीमाथि चोट पुर्‍याएर खुसी हुने चेष्टा गर्दैन ।

बरु, घरमा खाँदा खाँदै बाँकी रहेको खानेकुरा, रेष्टुरेन्टमा आफुले खाएर बाँकी रहेको खानेकुरा प्याकिङ गरेर कुकुर, बिरालो, काग एवं चराचुरुङ्गीलाई दिइन्छ भने त्यो सभ्यता हो । किनभने हामीलाई आफु बाँच्नका लागि प्रकृतिसँग एकाकार आवश्यक छ । प्रकृतिका सबै प्राणीसँग सद्भावपूर्ण र प्रेममय सम्बन्ध बनाउन आवश्यक छ ।

सार्वजनिक ठाउँमा हामी के गर्छौ ?

सार्वजनिक स्थानमा हामी जे गर्छौ, त्यसो जिम्मेवारी लिनु पर्दैन । अर्थात चुरोट तानेर ठूटो जताभावी मिल्काए भो । खकार थुक्दा भो । पान चपाएर जताततै थुक्दा भो । पराग वा चाउचाउ खाएर त्यसको खोल जथाभावी मिल्काइदिए भो । हामी ठान्छौं, आफुले सरसफा गर्नु नपर्ने भएपछि बाल मतलब !

सार्वजनिक सौचालयमा प्रयोग गरिसकेपछि पानीले सफा गर्दैनौं । कुनै सरकारी कार्यलयमा पुग्छौं, त्यसको भित्तामा पान चपाएर थुकिदिन्छौं, वास्तवमा यो असभ्यता हो ।

सार्वजनिक स्थान, सरकारी कार्यलय जहाँ होस्, हामीले आफुलाई अनुशासित राख्नुपर्छ । तब न सभ्य भइ्न्छ ।

तपाई कति सभ्य ?

टिपटप भएर हिँड्दा, सुकिलो मुकिलो हुँदा, महंगो रेष्टुरेन्टमा खाना खाँदा, निजी गाडी चढ्दा सभ्य भइने होइन । सभ्यता आफ्नो व्यवहारमा प्रदर्शित हुने कुरा हो ।

कुनै सार्वजनिक ठाउँमा केरा खाएर त्यसको बोक्रा जतनसाथ डस्विनमा मिल्काउनुहुन्छ । त्यो सभ्यता हो । कुनै सार्वजनिक यातायातमा अशक्त, कमजोरलाई चढ्न र बस्न सहयोग गर्नुहुन्छ । त्यो सभ्यता हो । कुनै कुकुर वा जनवारलाई प्रेमपूर्वक व्यवहार गर्नुहुन्छ । त्यो सभ्यता हो ।

सभ्यता सानो-सानो कुराले झल्काउँछ । र, त्यो देखाउनका लागि होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment