Comments Add Comment

किन अभिभावक र बच्चाको दूरी बढ्दैछ ?

खासगरी आठ/दश बर्षको उमेरसम्म बच्चाहरु आमाबुवासँग झ्याम्मिने गर्छन् । आफ्नो आमाबुवा नै उनीहरुका निम्ति सबैथोक लाग्छ । सबैभन्दा जान्ने, सबैभन्दा बुझ्ने, सबैभन्दा राम्रो आफ्नो आमाबुवा लाग्छ ।

तर, उमेर बढ्दै गएपछि बिस्तारै आमाबुवासँग उनीहरुको दूरी बढ्छ । किशोरवयमा पुगेपछि छोराछोरीको रेखदेख गर्न छाड्छन् । उनीहरुले पनि आफ्नो सानोतिनो काम आफै गर्छन् । विद्यालयमा, टोलमा उनीहरुले आफ्ना उमेरका साथी बनाउँछन् । साथीहरुसँगको संगत बढ्दै गएपछि आमाबुवासँग उनीहरुको दूरी बढ्दै जान्छ ।

अहिले शहरिय परिवेशमा आमाबुवा दुवै कामकाजी हुँदा बच्चालाई समय पुग्दैन । बिहान बेलुकी मात्र घर आइपुग्ने भएकाले बच्चासँग पर्याप्त समय दिन सक्दैनन् । त्यसो त कामकाजी दम्पतीले बच्चालाई सानै उमेरदेखि प्ले गु्रप वा डे केयर सेन्टरमा छाड्ने गर्छन् । पछि होस्टलमा राख्छन् । यसले बुवाअमा र बच्चाको दूरी बढ्छ ।

के हुन्छ असर ?

आमाबुवा र छोराछोरीबीच आपसी सम्बन्ध हुनुपर्छ । सम्बाद हुनुपर्छ । यसले छोराछोरीको मनोभावना बुझ्न सकिन्छ भने आमाबुवाको अवस्था पनि ।

धेरै किशोर/किशोरीले आफ्नो आमाबुवाको आर्थिक अवस्था बुझेकै हुँदैनन् । त्यही कारण उनीहरु अनेक किसिमको डिमान्ड गर्छन् । परीक्षाको नतिजा आउनसाथ यस्तो किनिदिनु, यसो गरिदिनु भनेर सर्त राख्छन् । टुर जाने, सपिङ गर्ने, फिल्म हेर्ने, खेल खेल्ने पैसा माग्न थाल्छन् । पकेट खर्च बढाउँछन् । साथीहरुको लहलहैमा लागेर जथाभावी खर्च गर्छन् ।

उनीहरुलाई थाहा हुँदैन, आफुले यसरी खर्च गर्ने पैसा बुवाआमाले कति दुख गरेर आर्जन गरिरहेका होलान् भन्ने कुरा । उनीहरुलाई थाहा हुँदैन, आफुले यसरी डिमान्ड गरेका कुराहरु पुरा गर्न बुवाआमालाई कति गाह्रो भएको होला । उनीहरुलाई थाहा हुँदैन, आफुले राख्ने सर्तहरु पालना गर्न बुवाआमालाई कति समस्या हुँदो हो ।

किनभने, उनीहरुले यति मात्र बुझेका हुन्छन्, साथीको बुवाआमाले यसो गरिदियो, मलाई किन नगरिदिने ?

फलानो साथीलाई यस्तो किनिदियो, मलाई किन नकिनिदिने ?

उनीहरु आमाबुवासँग घुर्की लगाउँछन् । धम्काउँछन् । जसरी हुन्छ, आफुले चाहेको कुरा पुरा गरिदिन बाध्य पार्छन् । यति कक्षा पास गरेपछि बाइक वा स्कुटर किनिदिनुपर्छ भनेर सर्त राख्छन् । स्कुलको विदामा फलानो ठाउँ घुम्नका लागि खर्च दिनुपर्छ भनेर सर्त राख्छन् ।

वास्तवमा आमाबुवाले कसरी पैसा कमाइरहेका छन् ? घरखर्च कसरी टारिरहेका छन् ? विद्यालयको शूल्क कसरी जोहो गरिरहेका छन् ? चाडपर्व कसरी टारिरहेका छन् ?

यावत् कुरा राम्ररी नबुझेर नै छोराछोरी घुर्की लगाउँछन् । सर्त राख्छन् । धम्काउँछन् ।

बुवाआमा र छोराछोरीबीच नियमित सम्बाद हुने हो भने उनीहरुले आ-आफ्नो घरायसी कामकाज, व्यवहार आदिको बारेमा छलफल गर्न पाउँछन् । यसले गर्दा छोराछोरीलाई बुवाआमाको अवस्थाको राम्ररी ज्ञान हुन्छ । घरखर्च कसरी चलिरहेको छ भन्ने कुराको बोध हुन्छ । यसले गर्दा उनीहरु अनावश्यक डिमान्ड गर्नुअघि पारिवारिक अवस्थाको बारेमा विचार गर्न थाल्छन् । बुवाआमालाई जबरजस्ती कुनै कुरा पुरा गराउन वाध्य तुल्याउँदैनन् ।

बुवाआमा र छोराछोरीबीच आपसी सम्बन्ध नहुँदा छोराछोरीको मनोभावना पनि बुझ्दैनन् । किशोरवयमा पुगिसकेका छोराछोरी मानसिक तथा शारीरिक रुपले परिवर्तन भइरहेका हुन्छन् । उनीहरुमा हर्मोनल परिवर्तन हुन्छ । शारीरिक अंगहरुको थप विकास हुन्छ । यससँगै भावनात्मक परिवर्तन पनि हुन्छ । यौनजन्य कुराप्रति चासो बढ्न थाल्छ । मनमा अनेक जिज्ञासा उठ्छ । त्यस्ता जिज्ञासा शान्त पार्ने माध्याम नभेट्दासम्म उनीहरु वेचैन हुन्छन् ।

छोराछोरीको यस्तो भावना वा परिस्थितीलाई बुवाआमाले पनि बुझ्नुपर्छ । छोराछोरीमा कसरी शारीरिक तथा मानसिक परिवर्तन आउँदैछ भन्ने कुरालाई बुझेर सोही अनुसार सही मार्गदर्शन गर्नुपर्छ ।

उनीहरुको मन बहकिने गर्छ । जे पनि गरौं वा गर्न सक्छु भन्ने आत्माविश्वास पलाउँछ । त्यसैले उनीहरुलाई के गर्ने, के नगर्ने, कसरी गर्ने, कसरी नगर्ने भन्ने कुराको जानकारी आवश्यक हुन्छ ।

छोराछोरी र आमाबुवाबीच दूरी बढेमा यस्ता समस्या र जटिलता पनि बढ्दै जान्छ । तर, उनीहरुवीच आपसमा छलफल हुने, भावना साझेदार गर्ने भएमा संभावित समस्याहरु पनि सजिलै हल हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment