Comments Add Comment

प्रहरीलाई सुराकी दिएको आशंकामा साथीको हत्या, तीन जना पक्राउ

६ माघ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका २२ वर्षीय अजयकुमार साह, रानीघाट बस्ने २० वर्षीय कृष्णकुमार गुप्ता र श्रीपुरकै २० वर्षीय राजन साह कानु पक्राउ परेका हुन् ।

उनीहरुले नै सहनीको हत्या गरेको दाबी प्रहरीले गरेको छ । केही समय पहिले अजयले भारतबाट म्याजिक टेम्पोमा झण्डै ३ लाखको किराना समान ल्याउँदा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले समातेको थियो । त्यो समान सुरेन्द्रको सुराकीको आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको आशंका अजय लगायतले गरेका थिए । पुस १९ गतेसँगै लागूऔषध गाँजा सेवन गर्न बसेका उनीहरुबीच यही विषयमा विवाद भएको थियो । त्यसपछि उनीहरुले चक्कुले हानेर सहनीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता विरेन्द्र शाहीले सहनीको हत्यामा संलग्न तीन जनालाई पक्राउ गर्न सफल भएको बताए । ‘शरीरको विभिन्न भागमा काटिएको अवस्थामा शव भेटिएको थियो, हत्या भएको आशंका हामीले गरेका थियौं,’ उनले भने, ‘अनुसन्धान गर्दै जाने क्रममा घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएका छौं । उनीहरुले नै मिलेर सहनीको हत्या गरेका हुन् ।’

गत पुस २० गते बेलुका वीरगञ्ज–२२ जगरनाथपुरमा धारिलो हतियारले काटेको अवस्थामा बाँसघारीमा सहनीको शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment