+
+

१५ अर्ब पूँजी भएका बैंकले २-३ अर्ब नाफा कमाउनु स्वभाविक : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ७ गते १६:०१

७ माघ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । १५ अर्ब पूँजी भएका बैंकले २-३ अर्ब रुपैयाँ नाफा कमाउनु स्वभाविक नभएको उनले बताए ।

कृषि विकास बैंकको ५३ औं वाषिर्कोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नाफा अर्बमा देखिए पनि प्रतिशेयर आम्दानी कम हुने बताए ।

‘१५ अर्बको बैंकले १५ प्रतिशत मुनाफा बाडनु पर्‍यो भनेपनि २ अर्ब भन्दा बढी नाफा त गर्नै पर्‍यो, बैंकको नाफा २ अर्ब भएपछि व्यवसायीक साथिहरुलाई आँखा लाग्छ, ओहो ! २-२ अर्ब नाफा, ३-३ अर्ब नफा ४-४ अर्ब नाफा भन्ने अनि पूँजी कति छ हिसाब नगरिदिने ?’ उनले भने ।

उनले देशको अर्थतन्त्र सकारात्मक हुनुमा बैंकहरुको भूमिका महत्वपूर्ण हुने समेत बताए । व्यापार घाटा बढ्दै जाने अवस्थाको अन्त्य भएको तर रेमिट्यान्स बढी चाहिने, राजश्व बढी उठाउनु पर्ने, बैंकको ब्याजदर कम हुनुपर्ने यी सबै एकसाथ खोज्दा अर्थतन्त्रमा असर हुने उनको भनाइ छ ।

‘वैदेशिक रोजगारीमा जाने संख्या पनि घटाउ, रेमिट्यान्स पनि एकदमै धेरै ल्याउ, व्यापार घाटा एकदमै कम गर, राजश्व पनि एकदमै धेरै बढाईहाल, निक्षेपको ब्यज धेरै देउ, कर्जाको ब्याज त्यो भन्दा कम राख भन्ने कुराहरुले हामी कहिल्यै पनि लजिकल टुंगोमा पुग्दैनौं,’ खतिवडाले भने ।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले कुल कर्जाको ५० प्रतिशत रकम साना तथा मझौला क्षेत्रमा प्रवाह गर्न समेत आग्रह गरे ।  उनले कृषि विकास बैंकले १० लाख भन्दा कमको कर्जा कुल कर्जाको ८० प्रतिशत हुनुले साना तथा मझौला कर्जामा बैंकको ध्यान गएको स्पस्ट हुने बताउँदै निजी क्षेत्रका बैंकहरुले पनि यस्तो कर्जा बढाउनुपर्ने बताए ।

खतिवडाले नेपालको अर्थतन्त्रको आधार नै साना तथा मझौला उद्योग व्यवसाय नै भएकाले त्यसमा सहयोग गरी अर्थतन्त्रलाई सुदृढ बनाउन सहायोग गर्नेगरी ऋण लगानी गर्न आग्रह समेत गरे ।

अर्थमन्त्री खतिवडाले नेपालको वित्तीय क्षेत्र दक्षिण एशियामै उत्कृष्ट भएको समेत बताए । उनले निष्कृय कर्जाको अवस्था पत्याउनै नसक्ने गरी तल रहेको उल्लेख गर्दै कर्जा प्रवाह गर्दा ज्ञान सीप भएका युवाहरुलाई अवसर दिन आग्रह गरे ।

उनले वित्तीय क्षेत्रमा आएको प्रतिस्प्रधात्मक सुधारको अवस्थाले यस वर्ष सरकारले पनि तीनवटै सरकारी बैंकबाट उच्च लाभांश लिन पाएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?