Comments Add Comment

वीरगञ्जका उद्योगी सरकारसँग निराश, यस्ता छन् १२ माग

भन्छन्– सामाजिक सुरक्षा कोष व्यवहारिक छैन, श्रम ऐन उद्योगमैत्री छैन

८ माघ, वीरगञ्ज । वीरगञ्ज देशको आर्थिक राजधानीका रुपमा परिचित छ । मुलुकको आधाभन्दा बढी व्यापार र पारवहानमा वीरगञ्जले नै धानेको छ । वीरगञ्ज भन्सार, आईसीपी, सुख्खा बन्दरगहाबाट उठ्ने राजस्वले मुलुककै राजस्वको महत्वपूर्ण हिस्सा सम्हाल्छ । भारत तथा तेस्रो मुलुकसँग हुने अधिकांश व्यापारिक कारोबार वीरगञ्जबाटै हुन्छ ।

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योग, कलकारखानाले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाइराखेको छ । हजारौं मजदुरलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी मिलेको छ । नाकाबन्दीको समयमा देशका सबै नाका खुलेर वीरगञ्ज मात्र बन्द रहँदासमेत निकै कठिनाइको सामना गर्नुपरेको थियो । वीरगञ्ज नेपालको अर्थ जगतमा महत्वपूर्ण स्थान हो, यसमा कुनै दुईमत छैन ।

तर, मुलुकमा स्थिर सरकार आएपछि पनि यहाँका उद्योगी–व्यवसायीको ओठमा मुस्कान आएको छैन । उनीहरु अझै निराश रहेको बताउँछन् । उनीहरुका अनुसार उद्योगी व्यवसायीले अझै लगानी अनुसारको प्रतिफल पाउन नसकिरहेको अवस्था छ ।

तीन तहका सरकारले जारी गर्र्ने ऐन, नियम, नीति, निर्देशन, प्रावधान र कर, शुल्क, दस्तुर, निर्देशनात्मक प्रक्रियाले उल्टै समस्या निम्त्याउने गरेको उद्योगी व्यवसायीहरुको दुःखेसो छ ।

देशमा नयाँ उत्पादनमूलक उद्योगहरु खुल्ने क्रम किन बढेन ? भएका उद्योग धन्दा पनि किन समस्याग्रस्त छन् ? विकास खर्चको अवस्था किन निराशाजनक छ ? उर्जाशील युवाहरु विदेशिने क्रम किन रोकिएको छैन ?

हामीले वीरगञ्जका उद्योगी व्यवसायीहरुसँग यिनै प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरेका छौं ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया अनेक जटिलता र संकटपूर्ण अवस्थाबाट उद्योगी–व्यवसायीले कहिले उन्मुक्ति पाउने भन्ने ठेगानै नभएको बताउँछन् ।

‘राजस्व वृद्धिको लक्ष्य पूरा गर्ने नाउँमा निजी क्षेत्रमाथि विभिन्न अन्यायपूर्ण अस्त्रको प्रहार भइरहेको छ, अनुचित तवरले निजी क्षेत्रको घाँटी निमोठिँदैछ । कतै स्वास प्रश्वास प्रक्रिया नै बन्द हुने जोखिम निम्त्याउदै त छैन ?’ केडिया भन्छन् ‘मुलुकलाई नयाँ दिशामा लैजान निजी क्षेत्रलाई सहज र सरल वातावरणको निर्माण गरिदिनुहोस्, बाँकी अप्ठ्यारा र जटिलता समन्वय र सहकार्यमार्फत निरुपण गर्न सकिन्छ भन्छौं, तर सम्बन्धित निकायले सुन्दैन ।’

उद्योग व्यवसाय सञ्चालन गर्दा झण्डै सय भन्दा बढी ऐन, कानूनलगायत विभिन्न प्रावधानको परिपालना गर्नुपर्ने बाध्यकारी अवस्था रहेको उनी बताउँछन् । २५ वर्षदेखि वीरगञ्ज उद्योग वाणिज्य संघले उठाउँदै आएका आर्थिक मुद्दाहरु अझै उठाउनुपर्ने स्थिति लाजमर्दो भएको उनको तर्क छ ।

‘छोटो बाटो भएर चाँडै धनसम्पत्ति आर्जन गर्नेहरु व्यवसायीहरु पनि छन्् । कर, राजस्व र भन्सारमा जागिर खाएको १/२ वर्षमै राजधानीमा घरजम गर्ने र सम्पत्ति जोड्ने मानसिकता बोकेका कर्मचारीहरु पनि नभएका हैनन् ।’ केडिया भन्छन् ‘हामी यस्तोे प्रवृत्ति र सोचका विरोधी हौं, यस्तो प्रवृत्ति हावी रहुन्जेल स्वच्छ व्यवसायिक क्रियाकलापले आकार लिने र गतिशील हुने अवसर पाउँदैन । त्यसलाई राज्यले रोक्दा हामीले कहिल्यै बोलेका छैनौं ।’

केडियाजस्तै निम्बस ग्रुपका सञ्चालक जगदीश अग्रवाल पनि उद्योगी व्यवसायीले लगानी अनुसारको प्रतिफल नपाउँदा निराश हुनु परिरहेको बताउँछन् ।

‘लगानी भएका उद्योगको लगानी स्थिर छ, पूर्ण उत्पादन क्षमताको उपयोग गर्न पाइएको छैन । सिमेन्ट, स्टिल, छड, होटेल, दाना उद्योगजस्ता केही क्षेत्रमा मात्र लगानीकेन्द्रित भइरहेको छ,’ अग्रवाल भन्छन् ‘कुन क्षेत्रमा कति लगानी छ ? अब कति लगानी गर्न सकिन्छ ? त्यसको कुनै लेखाजोखा छैन । लगानीकर्तालाई सूचना दिइँदैन । प्रतिफल पाउन उत्पादित बस्तु बिक्री पनि त हुन पर्‍यो नि ।’

सरकारको लगानी पनि अनुत्पादक क्षेत्रमा बढी देखिने गरेको अग्रवालको भनाइ छ । उनी भन्छन्, ‘जहाँ सडक आवश्यक हुन्न, त्यहाँ बनेको हुन्छ, जहाँ आवश्यक छ, त्यहाँ बन्दैन, ठूला परियोजनामा आधा काम गरेर छाडिन्छ । सरकारले पनि प्रतिफल आउने ठाउँमा लगानी गर्नुपर्छ ।’

अग्रवाल अगाडि भन्छन् ‘सरकारी होस् वा निजी क्षेत्र, सही सूचना लिएर त्यसको विश्लेषण नगरी लगानी गरिरहेका छन्, यसले गर्दा कुनै क्षेत्रमा बढी लगानी भइरहेको छ तर, प्रतिफल दिनै नसक्ने अवस्थामा छ ।’

अव्यस्थित लगानीलाई राज्यले व्यवस्थित गर्नुपर्ने बताउँदै अग्रवाल उद्योग व्यवसायमा भएको लगानीको सामाजिक/आर्थिक प्रतिफल लिन सक्ने वातावरण बनाउनुपर्ने धारणा राख्छन् ।

सरकारले निजी क्षेत्रलाई मुखले सहयात्री भन्ने गरे पनि व्यवहारमा त्यसो नगरेको नेपाल उद्योग वाणिज्य महासंघका सदस्य एवं उद्योगी गणेश लाठ बताउँछन् ।

‘राजस्वको मामिलामा कुनै न कुनै विषयलाई लिएर मत बाझाबाझको स्थिति रहँदै आएको छ । सरकारले भन्सार दरबन्दी, आयकरमा र बैंक ब्याजमा छुटजस्ता थप सुविधा दिएर कपडा लगायतका केही स्थानीय उद्योगलाई संरक्षण दिइएको छ । स्थानीय चामल मिलको उत्पादनलाई संरक्षण दिन आयातीत चामलमा अग्रिम कर लगाएर अंकुश लगाइएको उदाहरण पनि छ ।’ उनी भन्छन् ‘तर कुनबेला कसको थाप्लोमा थेग्नै नसकिने गरी कर र जरिवानको भार आइलाग्ने हो र जेल जानु पर्ने हो भन्ने भयले घरजम गरेको छ ।’

स–साना त्रुटीमा राखिएको थुनछेकको प्रवाधान हटाएर आर्थिक अपराधको दण्ड सजाय आर्थिक नै हुनुपर्ने तर्क उनको छ । कथं कदाचित सरकारी कार्यालयबाट नै अन्याय भएको खण्डमा उपल्लो तहमा पुगेर तोकिएको धरौटी रकम तिरेर मात्र न्यायका लागि गुहार लगाउनुपर्ने बाध्यात्मक व्यवस्था अन्यायपूर्ण रहेको उनी बताउँछन् ।

‘माथिल्लो निकायमा गुहार लगाउँदा बर्षौं बर्षसम्म कुनै सुनवाइ हुँदैन । फैसला नसुनाउने, सुनाइयो भने प्रायः आफ्नो मातहतका कार्यालयको पक्षमा मात्र सुनाउने परिपाटी छ,’ उद्योगी लाठ भन्छन् ‘सम्बन्धित निकायमा हारगुहार गर्‍यो, सुनुवाई नै हुँदैन, यस्तै कारणले उद्योगी व्यवसायी हतोत्साही र निराश छन् ।’

उद्योगी व्यवसायीका १२ माग

मुुलुककै सबैभन्दा बढी राजश्व बुझाउने क्षेत्रले सदैब याचक बन्नु परिरहेको वीरगञ्जका उद्योगी व्यवसायीको दुखेसो छ । उनीहरु केही काम सरकारले नगरी नहुनेखालको रहेको बताउँछन् ।

१. राष्ट्रिय गौरवको आयोजनाका रुपमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए यस क्षेत्रको कायापलट हुने अपेक्षा छ । तर, कहिले पर्यावरण, कहिले भूअवस्थितिका नाममा त, कहिले केका नाममा विभिन्न कोणबाट अवरोध सिर्जना हुने गरेको छ । यस क्षेत्रका आम बासिन्दा मात्रै होइन, निजी क्षेत्र पनि यसबाट चिन्तित छन् । यी तमाम अवरोधहरु हटाउन सङ्घीय सरकारले अग्रसरता देखाउनुपर्छ । निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ । सँगसँगै सिमरा विमानस्थलको समेत स्तरोन्नति गर्न अपरिहार्य छ ।

२. आपराधिक क्रियाकलापमा न्यूनीकरण ल्याउन वीरगञ्ज उद्योग वाणिज्य सङ्घले अन्य सरोकारवालासँग मिलेर “सेफर वीरगञ्ज” मार्फत “सीसीटीभी परियोजना” आरम्भ गरेको छ । सीसीटीभी परियोजना विस्तारका लागि सरकारले बजेट विनियोजन गर्नुपर्छ ।

३. श्रम ऐन, २०७४ उद्योग व्यवसाय मैत्री छैन । श्रम ऐनमा भएका उद्योग विरोधी तथा अव्यवहारिक प्रावधान संशोधन हुनुपर्छ । त्यसका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, साना उद्यमी व्यवसायीको प्रतिनिधित्व समेत रहने गरी समिति बनाएर सुझाव लिनुपर्छ ।

४. सामाजिक सुरक्षा कोषको अवधारणा राम्रो भए पनि व्यवहारिक छैन । कोषमा आवद्ध हुन न त उद्यमी इच्छुक छन्, न त श्रमिक, बैंकिङ्ग, शैक्षिक क्षेत्र, चिया बगान, अनौपचारिक क्षेत्र । कुनै पनि क्षेत्र यो व्यवस्थाप्रति खुशी छैनन् । यसलाई सर्वहित सुखायको अवधारणामा आवश्यक संशोधन गरिनुपर्छ । उद्योगी व्यवसायीसमेतको प्रतिनिधित्वसमेत हुने गरी समूह बनाई अध्ययन गर्ने र श्रमिकलाई स्वेच्छिकरुपमा कोषमा आबद्ध हुने व्यवस्था मिलाईनुपर्छ ।

५. भीसीटीएसले गर्दा साना उद्यमी व्यवसायी, साना यातायात क्षेत्रहरु अस्त व्यस्त बनेका छन् । हजारौं साना उद्यमीले व्यापार व्यवसाय छाड्नुपर्ने अवस्था आएको छ । पहिलो चरणमा ठूला भंसार नाका र ठूला उद्योगबाट निस्कने माल बस्तुमा मात्र लागु गरी क्रमशः ५ वर्षभित्र अन्य क्षेत्रमा लागु गर्नेगरि व्यवस्था गरिनुपर्छ ।

६. सबै श्रमिकहरुको प्यान को व्यवस्था, एक हजारभन्दा बढीको खरिदमा प्यान बिल, सबै श्रमिकको बैंकमा खाता र बैंकबाट मात्र भुक्तानीगर्ने जस्तो व्यवस्था झण्झटिलो छ । यसबाट साना उद्योग सञ्चालनमा प्रक्रियागत कठिनाइ उत्पन्न भइरहेको छ । साना उद्योग व्यवसायीलाई सहज हुने वातावरण निर्माण गरिनुपर्छ ।

७. वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७६ भदौ २५ गते गरेको परिपत्र पूर्णत अव्यवहारिक, उद्योग विरोधी र कार्यान्वयन नहुने प्रकृतिको छ । सो परिपत्र तत्काल खारेज गर्न पर्ने देखिन्छ । २५ करोडभन्दा बढी लगानी गर्ने उद्योगहरुलाई झण्झटिलो र लामो समय लाग्ने वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिएकाले ठूला उद्योगहरु आइरहेका छैनन् । तसर्थ २५ करोडको सीमा १ अर्ब गरिनुपर्छ ।

८. कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गर्नुपर्ने ब्यालेन्स सीट पेश नगरेका कम्पनीहरुलाई अर्को जरिवानाको व्यवस्था गरिएको छ । संशोधन गरेर सजिलो प्रक्रिया अपनाउने र जटिलता बढी गर्ने व्यवस्था हटाउनुपर्छ । कम्पनी रजिष्ट्रार कार्यालयको शाखा वीरगञ्जमा समेत खोलिनुपर्छ ।

९. कच्चा पदार्थभन्दा तयारी सामानमा भन्सार दर बढी हुनुपर्छ । विशेष गरेर औषधि उद्योगमा प्रयोग हुने कार्टुन तथा औषधिका बट्टाहरु शुन्य भंसार भ्याटमा आयात हुने गरेको छ । तर स्वदेशमा उत्पादन हुँदा विभिन्न खाले कर लगाईन्छ । तसर्थ आर्थिक ऐनमा नै प्रष्ट व्यवस्था गरी कच्चा पदार्थभन्दा तयारी सामानमा बढी राजस्व लाग्ने व्यवस्था गरिनु पर्दछ ।

१०. लोडसेडिङ अन्त्य भइसक्दा समेत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनका नाममा उद्योग प्रतिष्ठानलाई प्रिमियम दरको महशुल लगाइरहेको छ । खपत भन्दा बढी विद्युत आपूर्ति भईरहेको समयमा पुनः डेडिकेटेड र ट्रंक लाइनको नाममा प्रिमियम दर महशुल असुल गर्नु न्यायोचित छैन । यसलाई हटाइनुपर्छ ।

११. नेपालको संविधान २०७२ ले नेपाली नागरिकलाई मुलुकभर एक अर्को ठाउँमा आवत– जावत गर्ने, व्यापार गर्ने जग्गा खरिद गर्ने जस्ता विषयहरुको ग्यारेन्टी गरेको छ । तर, यहाँ नियमपूर्वक राजश्व तिरी खातापाता दुरुस्त राखी कानूनबमोजिम पालना गर्नुपर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी व्यवसाय गर्दा समेत राजस्व कार्यालय, प्रहरी र प्रशासनबाट अनावश्यक छापा मारी दुःख दिने गरिएको छ । विधिपूर्वक सञ्चालित व्यवसायमा छापामारी गरेर दुःख दिने कामको अन्त्य हुनुपर्छ ।

१२. बारा पर्सा औद्योगिक करिडोर पुरानोमध्येको एक औद्योगिक करिडोर हो । तर, विडम्बना मान्नुपर्छ यस क्षेत्रमा कुनै सरकारी औद्योगिक क्षेत्र छैन । जग्गाको मूल्य आकाशिएको छ, उद्योग सँगसँगै बाक्लो बस्ती छ । ढल तथा पानी निकासको समस्याले गर्दा अब थप उद्योग व्यवसाय स्थापना गर्न कठिन छ । साना उद्योग व्यवसायहरुलाई उद्योग ग्राममा एकीकृत गरी एकै स्थानमा उद्योग स्थापना गराउनु जरुरी छ । तसर्थ वीरगञ्ज–३१ बेल्वामा झण्डै ७०० विगाहा जग्गा गुठीका नाममा छ । गुठीको जग्गालाई भाडामा लिई औद्योगिक क्षेत्र स्थापना गर्न महानगरपालिका समेत सकारात्मक भएकाले सम्बन्धित निकायले आवश्यक समन्वय गरिदिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment