+
+

काठमाडौं महानगर : ब्याजको लागि विकास बजेट बैंकमा

रोयल आचार्य रोयल आचार्य
२०७६ माघ ९ गते १४:०८

८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले विकास बजेट बैंकमा राखेर ब्याज खाने नीतिलाई निरन्तरता दिएको छ । महानगरले केही वर्ष अघिदेखि विकास खर्च मुद्दति निक्षेपमा राखेर ब्याज खाने गरेको हो ।

महानगरपालिकाको ५ अर्ब रुपैयाँ अहिले पनि नगद मौज्दातमा रहेको महानगरका राजश्व विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षको १ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राखिएको छ ।

महानगरले ब्याजको लागि साधारण निक्षेपमा पनि रकम राख्ने गरेको छ । ब्याजबाट भएको आम्दानी खर्च गर्ने योजना भने बनाएको छैन । ब्याज आम्दानी नदेखाइने भएकाले केही कर्मचारी र जनप्रतिनिधिले खाने गरेको आरोप पनि लाग्ने गरेको छ ।

बजेट खर्च १९ प्रतिशत

महानगरले विकास निर्माणमा खर्च गर्न नसकेको रकम मुद्दति खातामा जम्मा गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा महानगरले जम्मा १९ दशमलव २६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

महानगरले चालु आवको १४ अर्ब ४७ करोड ८७ लाख ४२ हजार बजेटमध्ये पुस मसान्तसम्म २ अर्ब ७८ करोड ८७ लाख ४१ हजार ५६८ रुपैयाँ (१९.२६ प्रतिशत) मात्र खर्च गरेको छ ।

महानगरपालिकाले बजेट खर्च गर्न नसके पनि राजश्वको लक्ष्य भने हासिल गरेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म महानगरको राजश्व लक्ष्य ३० प्रतिशत नाघेको छ । राजश्व विभाग प्रमुख नुरनिधि न्यौपानले ६ महिनाको राजश्व संकलन सन्तोषजनक रहेको बताए ।

महानगरले गत वर्ष ९२ प्रतिशत राजश्व लक्ष्य भेटेको जानकारी दिदै यस वर्ष अझ राम्रो प्रगति हुने उनले बताए । उनी भन्छन्, ‘यस वर्ष शतप्रतिशतकै हारहारीमा पुगिने हाम्रो अनुमान छ ।’

महानगर भन्छ– ब्याज खान राखेका होइनौं

महानगरका प्रवक्ता ईश्वरमान डंगोल मुद्दति निक्षेपमा रकम राखिएको भए पनि ब्याज खानका लागि नभएको बताउँछन् । निक्षेपमा रहेको एक अर्ब रुपैयाँ जुनसुकै बेला निकाल्न सकिने उनले बताए । ‘महिना दिनको लागि राखिएको रकम चाहिएको बेला निकाल्न सकिन्छ’ प्रवक्ता डंगोलले भने, ‘ब्याज खानका लागि एक–वर्षका लागि राखेको होइन ।’

विकास खर्च पनि विगतको भन्दा यसपाला राम्रो हुने उनको दाबी छ । महानगरले खर्च नहुने ठाउँको बजेट खर्च हुने ठाउँमा रकमान्तर गर्ने निर्णय गरिसकेको उनले बताए ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?