Comments Add Comment

अलपत्र बन्यो आदिकवि भानुभक्तको जन्मस्थल

स्थानीय सरकार भन्छ– हामीले सकेनौं, केन्द्रले नै गरोस्

११ माघ, चितवन । आदिकवि भानुभक्त आचार्य देशमा मात्रै होइन, विदेशमा समेत परिचित छन् । रामायणलाई नेपाली भाषामा अनुवाद गरेर ख्याति कमाएका यी राष्ट्रिय विभूति युगयुगसम्म बाँचिरहेका छन् ।

तर, यिनै राष्ट्रिय विभूतिको जन्मस्थल तनहुँको चुँदी रम्घा र उनको नाममा गठन गरिएको भानु जन्मस्थल विकास समिति भने आफैं अलपत्रप्रायः अवस्थामा पुगेको छ ।

भानुभक्त र जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ०५२ मा गठन गरिएको जन्मस्थल विकास समिति विगत २ वर्षदेखि नेतृत्वविहीन अवस्थामा गुज्रिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमातहतमा रहेको समिति संघीय संरचनामा स्थानीय तहको मातहतमा गएपछि यसका दूर्दिन सुरु भएको हो । भानु नगरपालिका–४ मा रहेको आदिकवि भानुभक्त जन्मघर र समिति दुवै अहिले अलपत्र छन् । न त्यहाँ कर्मचारी छन् न त यसको विकासमा कुनै काम नै अघि बढेको छ ।

समितिका कर्मचारीले ०६४ देखि ०७५ सम्मको पूरा तलबसमेत पाएका छैनन् । ५ कर्मचारीलाई तलबबापत करिब ४८ लाख रूपैयाँ दिन बाँकी छ, । तलब नपाएपछि अरू कर्मचारीहरू कार्यालय आउन छाडेका छन् । गत साउनदेखि नगरपालिकाबाट करारमा तलब लिएको तर बढेको तलब नपाएको गुनासो उनीहरूको छ ।

संरचना अलपत्र

तनहुँको डुम्रे बजारबाट करिव ५ किलोमिटर उत्तरपूर्व हिँडेपछि पुगिन्छ, आदिकवि भानुभक्तको जन्मथलो चुँदी रम्घा । समथर फाँट, नजिकै चुँदी खोला, चुँदी खोलाको नजिकै छ आदिकवि भानुभक्तको जन्मथलाको विकास, प्रचारप्रसार तथा प्रवद्र्धनका लागि गठन गरिएको समितिको अलपत्र भवन ।
भवनका अगाडि उभिएको छ, फुंग रंग उडेको भानुभक्तको पूर्ण कदको शालिक । शालिक छेउ बन्दै गरेको अलपत्र संग्रहालय भवन । आदिकवि भानुभक्तको जन्म भने, यहाँ भएको होइन् । जन्मस्थल विकास समितिबाट झण्डै ४ किलोमिटर उकालो हिँडेपछि शिखर कटेरी भन्ने ठाँउ आउँछ । यहाँसम्म पुग्न कच्ची सडक बनाइएको छ । वरपर सालको जंगलको बीचमा रहेको शिखर कटेरीमा आदिकवि भानुभक्तको भग्नावशेष जन्मघर देखिन्छ । वरपर कुराको घाँरीले पुरिन लागेको जन्मघर संरक्षणको प्रतीक्षामा छ । यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र बनाउने भएपछि ०५७ मा समितिको एक लाख रूपैयाँमा भानुभक्तको घर पुनर्निर्माण भएको थियो । ०६१ जेठमा आगलागी भएपछि अहिले घरको भग्नावशेष मात्र बाँकी छ ।

हरेक वर्ष लाग्ने डढेलो, वर्षा र झरीले यसलाई क्षति गराउँदै लगेको छ । जन्मघरकै छेउमा झण्डै तीन करोडको लागतमा एउटा भव्य रामायण भवन बनाइएको छ । झट्ट हेर्दा पूरा भएजस्तो देखिए पनि अझै निर्माण सकिएको छैन । रामयण वाचन गर्ने घरका रूपमा बनाइएको भवन ठेकदारले हस्तान्तरण नगर्दै अलपत्र बनेको हो । गाउँलेका गाइवस्तु आएर भवनको बार्दलीमा बिस्टाएर फोहर गरेका छन् । यहीँबाट थाहा हुन्छ यो जन्मथलोको वेवास्ता कुन हदसम्म छ भनेर ।
जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शंकर रानाभाट आफूले नेतृत्व छाडेपछि भानुको जन्मस्थल अलपत्र परेको बताउँछन् । ०७१ मा उनी चारवर्षे कार्यकालका लागि कार्यकारी निर्देशक भएका थिए । उनकै पालामा रामायण वाचन भवन, संग्रहालय र भानु स्मृति पार्क निर्माण गर्ने काम अघि बढेका थिए । ठूला र महत्त्वपूर्ण काम नै अलपत्रमा परेको कार्यकारी निर्देशक रानाभाटको गुनासो छ ।

समितिले ११ रोपनी खरिद तथा तीन रोपनी दानमा मिलेको जग्गामा स्मृति पार्क बनाउन थाले पनि यो भताभुंग अवस्थामा छ । रानाभाटकै पालामा शिखर कटेरीभन्दा माथि १० रोपनी जग्गासमेत खरिद गरिएको छ । यहाँ भानुको अग्लो प्रतिमा बनाउने योजना छ । विभिन्न समयमा हुने साहित्यिक कार्यक्रम रोकिएका छन् ।

भानु नगरपालिकाले नै भानुलाई बिर्सिएको बताउँछन्, निवर्तमान कार्यकारी निर्देशक रानाभाट । भानु नगरपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर लौडारीे भानुभक्तका सन्तानहरू यो ठाउँ छाडेर पलायन हुँदा पनि आशातीत विकास हुन नसकेको तर्क गर्छन् ।

केन्द्र सरकारमातहतमा हुँदा जन्मस्थल विकास समितिलाई वार्षिक चालु र पुँजीगत गरेर २०–३० लाख रुपैयाँ बजेट आउने गरेको थियो । नगरपालिकामातहत आएपछि जम्मा १८ लाख आउने गरेको छ । बजेटको अधिकांश हिस्सा चालु खर्चमा जान्छ । बचेको रकमले केही साना काम गर्न सकिए पनि ठूला काम गर्नसक्ने अवस्था नै नरहेको बताउँछन् निवर्तमान कार्यकारी निर्देशक रानाभाट ।

‘यसै पनि बजेट कम आउँछ, अहिले त झन् समिति नै छैन, समिति कसरी बनाउने भन्ने पनि अन्योलता छ,’ निवर्तमान कार्यकारी निर्देशक रानाभाटले भने, ‘सानो–तिनो बजेटबाट भानुभक्तको जन्मस्थलको विकास गर्न सम्भव छैन, सरकारले भानुभक्तको गरिमालाई खुम्चाउने खोजेको देखिन्छ ।’

भानु नगरपालिकाको मातहतमा समिति आएपछि नगरपालिकाले माखो पनि नमारेको भनाइ छ, समितिका एक पूर्वकर्मचारी रामकुमार श्रेष्ठको । उनले नगरपालिकाले ‘भानुभक्तीय टोपी’ बाँड्नेबाहेक अरू केही काम नगरेको आरोप लगाए । समितिलाई संघअन्तर्गत राखेर बजेट बढाई यसलाई राष्ट्रिय साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्नुपर्ने उनको धारणा छ । श्रेष्ठ अगाडि थप्छन्, ‘भानुमा हरेक ठूला नेताले पाइला टेकेका छन् । देखेका छन् । तर यसको विकासमा कसैले ध्यान नदिएको प्रतीत हुन्छ ।’

आदिकवि भानुभक्तको जन्मस्थललाई सांस्कृतिक तथा साहित्यिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भन्दै कस्सिएको पश्चिमाञ्चल विकास मञ्चको योजना हराएको यहाँका स्थानीयले बताएका छन् । मञ्चले ०७३ चैत २२ मा करिब ६८ लाख रूपैयाँको लागतमा भानुगृह बनाउने भन्दै तामझामका साथ शिलान्यास पनि गर्‍यो । तर, अहिलेसम्म जगसमेत खनिएको छैन । भानुभक्त जन्मिएको शिखर कटेरीमा नै यो गृह बनाउने भनिएको थियो ।

भानुग्राम बनाउने उद्देश्यले मञ्चले गुरुयोजनासमेत बनाएको थियो । गुरूयोजनामा भानुभक्तको घर दुईतले बनाउने उल्लेख छ । गृहनजिकै पोखरी, धर्मशाला, संग्रहालय, फूलबारी, भ्युटावर, चौतारी, रामायण भवन, पुस्तकालय, चमेनागृह, पाले घर र शौचालयलगायतका पूर्वाधार तयार गर्ने गुरुयोजनामा समेटिएको छ । तर, गुरुयोजनाको सपना देखाएको मञ्च नै हराएको स्थानीय इन्दु ढकालले बताए ।

संघ मातहत राख्न नगरपालिकाको माग

आदिकवि भानुभक्तकै नामबाट गठन गरिएको भानु नगरपालिकाले जन्मस्थल विकास समितिलाई केन्द्रीय सरकारको मातहतमा राख्न माग गरेको छ । संघीय संरचनामा स्थानीय तहको मातहत जन्मस्थल विकास समिति आएपछि नगरपालिकाले आफूहरूले यसलाई चलाउन नसक्ने भन्दै संघ सरकारमातहतमा राखेर विकास गर्नुपर्ने निर्णय गरेका छन् । यस्तो निर्णयको प्रति संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा समेत बुझाइसकिएको छ ।

भानु नगरपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर लौडारी वडा र नगरपालिकाकोतर्फबाट समितिलाई बजेट र रेखदेख गर्न नसकिएको बताउँछन् । उनले संघ सरकारकै मातहत राखेर भानुको जन्मस्थलको विकास गर्नुपर्ने धारणा राखे ।
नगरपालिकाका मेयर उदयराज गौलीको मत पनि वडाध्यक्ष लौडारीको जस्तै छ । नगरपालिकाले जन्मस्थल विकास समिति चलाउन नसक्ने भएकाले केन्द्रीय सरकारले नै समिति गठन गरेर स्वायत्त निकायका रूपमा काम गर्नुपर्ने उनले बताए । ‘देश–विदेशमा ख्याति कमाएका भानुभक्तको योगदानलाई सरकारले घुम्च्याउने, अपमान गर्ने काम गरेको छ, साँघुरो घेरामा राख्ने प्रयास गरेको छ,’ नगरप्रमुख गौलीले भने, ‘हामीले स्पष्ट भनेका छौं नगरपालिकाले जन्मस्थल विकास समिति चलाउन सक्दैन, यसलाई राष्ट्रिय महत्त्वका साथ लिएर विकास हुनुपर्दछ नगरपालिकाको साथ भने पक्कै रहन्छ । ’

प्रतिनिधिसभा तनहुँ क्षेत्र नं. १ का सांसद् किसान श्रेष्ठले जन्मस्थल विकास समितिलाई केन्द्र सरकारमातहत राखेर विकास गर्ने बताउँछन् । उनले पर्यटन मन्त्रालयबाट फाइल क्याविनेटमा पुगेको जानकारी पनि दिए ।

खिन्न भएर फर्किन्छन् साहित्यक अनुरागी

नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्तलाई देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपाली भाषीहरूले श्रद्धापूर्वक सम्मान गर्ने गर्दछन् । भारतको दाजर्लिङ, सिक्किम, वमा लगायतका क्षेत्रबाट नेपाली भाषीहरू भानुभक्तको जन्मथलो हेर्न आइपुग्छन् । तर, यहाँको अवस्था देख्दा उनीहरू खिन्न भएर जाने गरेको भानु–४ का इन्दु ढकालले बताए । ‘भानुभक्तको जन्मथलो के–के नै होला भनेर उत्साही भएर साहित्य अनुरागीहरू आउने गर्दछन्, तर यहाँ आउँदा निरास भएर फर्किन्छन्,’ ढकालले भने, ‘भानुभक्तको जन्मस्थलको हालत देखेर लाज लाग्छ, हामीलाई त हीनताबोध हुन्छ ।’

ढकालकै भनाइसँग सहमत छन् निकै लामो समयसम्म जन्मस्थल विकास समितिको कर्मचारी भएर काम गरेका रामकुमार श्रेष्ठ । उनी भानु नगरपालिका र केन्द्र सरकार दुवैले आदिकवि भानुभक्तको अपमान गरेको गुनासो गर्छन् । स्वदेश तथा विदेशका विभिन्न ठाँउबाट आएका सर्जकहरू भानुभक्त जन्मस्थलको अवस्था देखेर निकै दुःखी हुने गरेको उनले सुनाए । ‘उहाँहरू यहाँ आएर अति नै दुःखी भएर जानुहुन्छ,’ श्रेष्ठले भने ‘जाँदा भानुभक्तको भूमिको माटो भनेर अलिकति पोको पारेर लैजानुहुन्छ ।’
बर्सेनि भानुजयन्ती मनाउन विभिन्न स्थानबाट साहित्यप्रेमी यहाँ आइपुग्छन । केही वर्षदेखि असार २९ को साहित्यिक कार्यक्रमको रौनकता पनि घट्दै गएको स्थानीयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment