Comments Add Comment

होटेलमै हुनुपर्छ हेल्थ क्लिनिक, नेपालमा के छ ?

१४ माघ, काठमाडौं । अघिल्लो मंगलबार दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा राती २ बजेसम्म सहि-सलामत रहेका ८ जना भारतीय पाहुना बिहान ८ बजे ढोका खोल्दा बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि कर्मचारीले प्रहरी बोलाए, प्रहरी आएर हेलिकोप्टर मगाईयो, काठमाडौंबाट गएको हेलिकोप्टरले अचेत अवस्थाका व्यक्तिलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरियो । उनीहरुलाई अस्पताल भर्ना गर्नासाथ चिकित्सकले मृत घोषणा गरे ।

होटेल तथा रिसोर्टका लागि सरकारले बनाएको मापदण्डले भन्छ, ‘होटेलमा अनिवार्य कल डाक्टरको सेवा भएको हुनुपर्छ, होटेलमा आधारभूत चिकित्सकीय सामग्री तथा औषधीसहित २४ सै घण्टा चिकित्सकद्धारा स्वास्थ्य परीक्षण गर्न सकिने व्यवस्था हुनुपर्छ ।’ मापदण्ड अनुसार कल डाक्टरको सेवा सबै तहका होटेल र रिसोर्टमा अनिवार्य गरिएको छ । अस्पतालमा डाक्टर नै उपस्थित हुनुपर्ने प्रावधान चार तारे भन्दा माथिको होटेलका लागि अनिवार्य छ ।

मापदण्डको अर्को बुँदाले भन्छ, ‘आकस्मिक अवस्थामा तुरुन्त प्राथमिक उपचार उपलब्ध हुने प्रवन्ध सबै तह र वर्गका होटेलले गरेको हुनुपर्छ ।’ यो प्रावधान त्यहा कार्यरत कर्मचारीका लागि हो । तर, आवश्यकता पाहुनाका लागि पनि हो । यस घटनामा संलग्न छानविन समितिका एक सदस्यका अनुसार रिसोर्टमा पाहुनाका लागि प्राथमिक उपचारका लागि कुनै प्रवन्ध गरिएको थिएन ।

छानविन समितिका संयोजक तथा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाका अनुसार होटेलमा अत्यधिक चिसो भएपछि पाहुनाले जबजस्ती हिटर मागेर लगेको पाइएको छ । यद्दपी पूर्ण प्रतिवेदन भने आइसकेको छैन । स्वास्थ्यका दृष्टिकोणबाट हानिकारक वस्तुको प्रयोग पाहुनाले जबर्जस्ती गरेपनि रोक्नु पर्ने थियो, त्यसमा रिसोर्टले लापरवाही गरेको देखिएको छ । साथै अत्यधिक चिसो हुने स्थानमा मानव स्वास्थ्य अनुकूल हुनेगरी वातावरण बनाउन आवश्यक पूर्वाधार रिसोर्टले नराखेको पाइएको छ ।

होटेलमै हुनुपर्छ क्लिनिक

अन्तराष्ट्रिय मापदण्ड अनुसार सकेसम्म सबै होटेलले आकस्मिक र प्राथमिक उपचारमा प्रयोग हुने औषधीसहितको क्लिनिक होटेलमै हुनुपर्छ । सांगि्रला होटेल एण्ड रिसोर्टका प्रवन्ध निर्देशक प्रविण पाण्डेका अनुसार नेपालमा पाँचतारे स्तरका सबै होटेलमा स्वास्थ्य क्लिनिक  राखिएको छ । ती होटेलमा २४ सैं घण्टा भने डाक्टर बस्दैनन् । उनीहरु होटेलमा आउने निश्चित समय हुन्छ । सामान्यतया होटेलमा काम गर्ने कर्मचारीको मासिक नियमित स्वास्थ चेकजाँच गर्नुपर्छ, त्यसबाहेक कुनै आकस्मिक अवस्था आइपरे चिकित्सकले स्वास्थ्य सल्लाह दिन सक्छन् ।

काठमाडौं उपत्यका, पोखरा, चितवन, भैरहवा, नेपालगन्जजस्ता ठूला शहरमा संचालनमा रहेका तारे होटेलले होटेलमै चिकित्सकीय सेवा दिन नसक्दा ‘नजिकै अस्पतालको पहुँच’ रहेको बताउने गरेका छन् । अधिकांश होटेलले आफ्नो सेवा-सुविधामा समेत यस्तो विवरण राख्ने गरेका छन् ।

साना होटेलमा के हुन्छ ?

होटेल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठका अनुसार साना होटेल ‘कल डाक्टर’को सुविधा छ । कर्मचारी र पाहुना जसलाई स्वास्थ्य सेवा आवश्यक पर्‍यो, तुरुन्तै बोलाउन सकिने गरी डाक्टरसँग सम्झौता गरिएको हुन्छ । उनको सिफारिसमा बिरामीलाई अस्पताल रिफर गर्न समेत सकिन्छ ।

शहरी इलाकाभन्दा टाढाका होटेल तथा रिसोर्टले पनि मापदण्डमा राखिएका प्रावधान अनिवार्य कार्यान्वयन गर्नुपर्छ । तर, व्यवहारमा त्यसो गरेको पाइदैन । यसको प्रमाण एभरेष्ट पानोरमा रिसोर्ट हो । अर्कोतर्फ होटेलले मापदण्ड लागु गरे-नगरेको नियमित चेकजाँच तथा अनुगमन सरकारी निकायबाट हुँदैन ।

त्यसकारण अहिले कति होटेलले यस्तो सुविधा लिएका छन् भन्ने तथ्यांक समेत सरकारी तथा निजी कुनै पनि निकायसँग छैन । पर्यटन विभागका एक कर्मचारीका अनुसार कुन होटेलले आकस्मिक स्वास्थ सेवाको प्रवन्ध गरेको छ वा कुनमा छैन भनेर अहिलेसम्म तथ्यांक राख्ने गरिएको छैन ।

कति छन् देशभर होटेल ?

पर्यटन विभागमा हाल मुलुकमा पाँचतारे होटल १५, चारतारे ८, तीनतारे ३७, दुईतारे ४३, एकतारे ३३ र पर्यटकस्तरका ५०९ होटल छन् । देशभर होमस्टे २५२ होमस्टे दर्ता छन् । देशभर चलिरहेका सयौं होटल अहिलेपनि सरकारको नियमको दायराभित्र अटाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment