Comments Add Comment

ईयूबाट अलग्गियो बेलायत

१७ माघ, काठमाडौं । युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट आज अलग हुँदैछ । बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन लागेको हो ।

ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका थिए ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईयूबाट बाहिरिएसँगै नयाँ बिहान सुरु हुने प्रतिक्रिया दिएका छन् । ‘ब्रेक्जिट अन्त्य नभएर सुरुवात हो,’ बहिर्गमनपूर्व आफ्नो धारणा सार्वजनिक गर्दै जोन्सनले भनेका छन् ।

ईयूबाट बाहिरिएपछि ११ महिना संक्रमणकाल रहनेछ ।

युरोपियन कमिसनकी अध्यक्ष युर्सुला भोन डेर लियनले ईयू र यूके असल मित्र र साझेदारका रूपमा रहिरहून भन्ने आफ्नो चाहना रहेको बताएकी छन् । बेलायत ईयूबाट बाहिरिएपछि पनि टाढा नहुने र माया गरिराख्ने उनको भनाइ छ ।

बेलायत (ब्रिटेन)ले गत वर्ष २९ मार्चदेखि यूरोपेली युनियनबाट अलग्गिने प्रक्रिया (ब्रेक्जिट) सुरु गरेको थियो । त्यसपछि २३ जूनमा जनमत संग्रह गरिएको थियो जसको परिणाम यूरोपेली युनियनबाट अलग हुने पक्षमा आएको थियो । ५१.९ प्रतिशत मतदाताहरुले अलग हुने पक्षमा मतदान गरेका थिए भने ४८.१ प्रतिशतले विपक्षमा । जनमत संग्रहको फैसलापछि डेभिड क्यामरुनले पद छोड्ने घोषणा गरेपछि पूर्वगृहमन्त्री टेरिजा मे नयाँ प्रधानमन्त्री बनेकी थिइन् ।

तर, संसदबाट अनुमोदन गराउन नसकेपछि तत्कालीन प्रधानमन्त्री टेरिजा मेले राजीनामा दिइन् । त्यसपछि बोरिस जोन्सन प्रधानमन्त्री बनेका थिए । जोनसनले पनि ‘नो–डिल ब्रेक्जिट’ अर्थात् विना कुनै सम्झौता ईयूबाट बेलायतको बहिर्गमनलाई अघि बढाएका थिए । उनको प्रस्ताव पनि पटक–पटक अस्वीकृत भएपछि ब्रेक्जिटको समयसीमा बढाएर ३१ जनवरीसम्म कायम गरिएको थियो ।

अब ब्रिटेनले ईयूको सदस्यता परित्याग गरेर उक्त गठबन्धनबाट बाहिरिने छ । यससँगै ब्रिटेन एकल युरोपेली बजार र संयुक्त भन्सार प्रणाली कस्टम्स युनियनबाट पनि अलग हुनेछ ।

त्यसैगरी औषधिदेखि ट्रेडमार्कसम्मका क्षेत्रलाई नियमन गर्ने ईयूका बिभिन्न प्रशासकीय निकायहरूको सदस्यता पनि अन्त्य हुनेछ । ईयूलाई ब्रिटेनले वार्षिक दिँदै आएको नौ अर्ब पाउन्ड बजेट पनि दिनुपर्ने छैन ।

छोटकरीमा ईयू भनिने युरोपेली युनियन २८ यूरोपेली देशहरुको एउटा संगठन हो । यसको निर्माण दोस्रो विश्वयुद्धपछि आर्थिक सहायता बढाउन गरिएको थियो । युरोपेली युनियनको आफ्नै मुद्रा छ यूरो, जुन १९ सदस्य राष्ट्रले प्रयोग गर्छन् । तर बेलायतको मुद्रा भने पाउन्ड नै छ ।

ईयूबाट अलग्गिनका लागि बेलायतले लिस्बन सन्धिको धारा ५० लागू गर्नुपर्छ । त्यसपछि दुवै पक्षले दुई वर्षभित्र अलग हुने शर्तमा सहमति जनाउनुपर्छ । सदस्यता छोड्ने शर्तमा २७ सदस्य राष्ट्रका संसदहरुको पनि सहमति लिनु जरुरी हुन्छ ।

के हो धारा ५० ?

धारा ५० यूरोपेली युनियन छाड्न इच्छुक देशलाई ध्यानमा राखेर बनाइएको योजना हो । यो लिस्बन सन्धिको अंग हो जसमार्फत यूरोपेली संघलाई संवैधानिक मान्यता प्राप्त छ । यो सन्धि १ डिसेम्बर २००९ मा लागू भएको थियो । यसभन्दा अगाडि कुनै देश यूरोपेली युनियनबाट अलग हुने औपचारिक प्रक्रिया निर्धारण गरिएको थिएन ।

धारा ५० निकै सानो दस्तावेज हो । यसमा केवल ५ अनुच्छेद छन् । आजसम्म यसको प्रयोग भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment