Comments Add Comment

अब मनाङले उपाधि रक्षा गर्न गाह्रो छ !

२० माघ, काठमाडौं । स्टार खेलाडीहरुले क्लब छाडेर पनि साविकको विजेता मनाङ मर्स्याङ्दी क्लबले लगातार तीन खेल जित्दै शहीद स्मारक ए डिभिजन लिगमा राम्रो सुरुवात गर्‍यो । तर चौथो चरणबाट लगातार चार खेल बराबरी खेल्यो । फ्रेण्ड्स, मछिन्द्र, हिमालयन शेर्पा र थ्रीस्टारसँग अंक बाँड्यो ।

तर उपाधि होडमा रहेका त्रिभुवन आर्मी र मछिन्द्र क्लबको प्रदर्शनमा तलमाथि भइरह्यो । नवौं चरणमा संकटा क्लबविरुद्ध ३-० को शानदार जीत हात पारेपछि प्रशिक्षक धनेश्वर प्रजापतिले यो खेल लिगमै पर्फेक्ट खेल बताए ।

उपाधि होडमा रहेका आर्मी र मछिन्द्र एकआपसमा खेल्न बाँकी छ, र यो खेल बराबरी भएमा सोझो फाइदा मनाङलाई हुने भएकाले यो तीन अंक मनाङलाई अर्थपूर्ण थियो ।

तर दशौं चरणमा आर्मी र मछिन्द्रले आआफ्नो खेल जित्दा मनाङ सोमबार च्यासल युथ क्लबसँग पराजित भयो । ९ खेलसम्म अपराजित मनाङलाई च्यासलले २-० ले स्तब्ध बनायो । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा २४ औं मिनेटमा अग्रता लिएको च्यासलले दोस्रो हाफको इन्जुरी टाइममा गोल थपेको थियो ।

उपाधि होडमा रहेका टोलीको समान तीन खेल बाँकी रहँदा व्यहोरको हारले मनाङको उपाधि रक्षा अभियानमा धक्का लागेको छ । ‘यो हाम्रो लागि ठूलो धक्का हो’ प्रशिक्षक प्रजापति भन्छन्, ‘अब उपाधि रक्षा गर्न धेरै गाह्रो छ ।’

च्यासलविरुद्ध राम्रो खेल्न नसकेको उनले सुनाए । ‘स्ट्राइकरको डिसिजन मेकिङ पावर कम भयो । बक्सभित्र लानुपर्ने बल बाहिर ल्याएर खेल्यो’ उनले हारको कारण सुनाए ।

खेलको शुरुवातदेखि नै मनाङका खेलाडीहरुबीच तालमेल अभाव देखिएको थियो । टिम लिस्टमा नाम नभए पनि मनाङको टच लाइनमा नाइजेरियन प्रशिक्षक फुजा तोपे खेलाडीहरुलाई निर्देशन दिइरहेका थिए तर खासै पालना भएन ।

३५ औं मिनेटमा थाएगा नाकामुराले फ्रिकिकमा गोल गर्दै च्यासललाई अग्रता दिलाएपछि मनाङ दबावमा आयो । उसले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । बरु इन्जुरी टाइममा च्यासलले नै गोल थप्यो । च्यासलका लागि दोस्रो गोल गरेका सन्तोष साहुखल यस सिजन लिगमा सर्वाधिक गोल गर्नेहरुको शीर्ष स्थानमा छन् । उनले यो सिजन ७ गोल गरेका छन् ।

यद्यपि लिग लिडर आर्मीभदा ४ अंकले पछि परेको मनाङले अझै उपाधिको आश भने मारेको छैन । बाँकी तीन खेलमा राम्रो खेलेर ‘टफ फाइट’ दिने प्रशिक्षक प्रजापतिले सुनाए ।

लिग लिडर आर्मीको १० खेलबाट २३ अंक छ भने दोस्रो स्थानमा रहेको मछिन्द्रको २२ अंक छ । समान खेल खेलेको मनाङ भने १९ अंकसहित तेस्रो स्थानमा कायमै छ ।

यता मनाङलाई हराएको च्यासल भने रेलिगेसनको डर टरेकोमा खुसी देखिएको छ । च्यासलका व्यवस्थापक शंकर व्यन्जनकारले सोचेजस्तै खेल भएको बताए ।

प्रशिक्षक बालगोपाल साहुखलले रातो कार्ड खाँदै टचलाइन छाडेपछि पोष्टम्याच कन्फ्रेन्समा उपस्थित भएका व्यवस्थापक व्यन्जनकारले भने, ‘‘हामी जित्न आएको थियौं, सोचेको जस्तै भयो । खेलाडीले राम्रो खेले । एमदकै खुशी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment