Comments Add Comment

सरस्वतीलाई ६-१ ले हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं । मछिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । पूछारमा रहेको सरस्वती युथ क्लबलाई ६-१ को फराकिलो अनतरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

११ खेलबाट मछिन्द्रले २५ अंक जोडेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी दोस्रो स्थानमा छ ।

आर्मीले बिहीबार नै  एपीएफसंग खेल्दैछ । उक्त खेल जिते पुन: शीर्ष स्थानमा फर्कनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मछिन्द्रले सरस्वतीविरुद्ध पहिलो हाफमा एक गोलको मात्र अग्रता लिए पनि दोस्रो हाफमा पाँच गोल गरेको हो ।

मछिन्द्रको फराकिलो जीतमा दीपक राईले दुई गोल गरे भने यस्तै देवेन्द्र तामाङ, विशाल राई ए, एडिलाजा सोमिडे र आन्द्रेस नियाले एक-एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए ।

खेलको ४० औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा भने गोल वर्षा गर्‍यो ।

खेलको ५४ औं मिनेटमा दीपक राईले व्यक्तिगत पहिलो गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । ५९ औं मिनेटमा विशाल राईले मछिन्द्रका लागि तेस्रो गोल गरे । ७७ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रको अग्रता ४-० बनाए ।

८७ औं मिनेटमा सरस्वतीका काजिमले पेनाल्टीमा गोल फर्काउँदै खेललाई ४-१ मा ल्याए ।

तर इन्जुरी समयमा मछिन्द्रले दुई गोल थप्दै जित अन्तर फराकिलो बनायो । मछिन्द्रका लागि सोमिडेले गोल इन्जुरी टाइमको चौथो र आन्द्रेस नियाले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरे । यस सिजन लिगमा यो सबैभन्दा फरकिलो अन्तरको जित हो ।

यसअघि सरस्वतीविरुद्ध नै एनआरटी र थ्रीस्टार समान ४-० को अन्तरले विजयी भएका थिए ।

दुई गोल गरेका मछिन्द्रका दीपक राई खेलको म्यान अफ दि म्याच चुनिए ।

जीतपछि ११ खेलबाट २५ अंक जोड्दै मछिन्द्रले उपाधि होड बलियो बनाएको छ । उता सरस्वती भने रेलिगेसनतिर धकेलिएको छ ।

११ खेलमा ४ अंक मात्र जोडेको सरस्वती भने अंकतालिकामा पुछारमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment