Comments Add Comment

वीरेन्द्रकालीन टर्मिनल र विमानस्थलको आगो !

३० वर्ष पुरानो टर्मिनलले धन्न थेगिरहेको छ त्रिभुवन विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक कफी सपमा लागेको आगो । तस्वीर : दीपेन्द्र कर्ण

२९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले २५ पुसमा एक सूचना निकाल्दै भन्यो, विमानस्थलमा विद्युतीय उपकरणहरुले अत्यधिक विद्युत खपत गरेका कारण अत्यावश्यक उपकरणमा प्रत्यक्ष प्रभाव पर्‍यो । कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्सका उपकरणमा असर परेका कारण बढी विद्युत खपत गर्ने हिटर, एयर कन्डिसनिङलगायत उपकरणको अनावश्यक प्रयोग नगरिदिनुहोला ।

विमानस्थलले सुरक्षा निकाय, त्रिवि अध्यागमन कार्यालय, त्रिवि भन्सार कार्यालय, वायुसेवा, विभिन्न पसल कबल सञ्चालकलगायतलाई विद्युत खपत घटाउन घटाउन आग्रह गरिएको थियो ।

त्यस अगाडि विमानस्थलको सञ्चार उपकरण पटक-पटक बिग्रिएर हवाई सेवा प्रभावित भइरहेको थियो ।

सोमबार साँझ विमानस्थलको प्रस्थान कक्षस्थित एक कफीसपमा आगलागी भयो । आगलागीका कारण विमानस्थलको सेवा करिब सवा घण्टा अवरुद्ध भयो । काठमाडौं आइपुग्नै लागेका जहाज भारततर्फ डाइभर्ट भए । विमानस्थलमा उडानका लागि प्रतिक्षा गरिरहेका यात्रु आतंकित भए ।

विमानस्थल कार्यालयका अनुसार आगलागी हुनुको कारण ‘बिजुली सट’ हुनुलाई मानिएको छ । कार्यालयका एक उच्च अधिकारीका अनुसार कफीसपले चलाएको उपकरणको लोड धान्न नसकेकै कारण विजुली सट भएको अनुमान गरिएको छ । दुर्घटनाको कारण खोतल्न मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विद्यमान अन्तराष्ट्रिय टर्मीनल भवन ३ दशक पुरानो हो । अधिकतम प्रतिघण्टा औसतः १३ सय यात्रुलाई सेवा दिने उद्देश्यसहित सरकारले सन् १९८९ मा यो भवनको निर्माण गरेको थियो ।

तत्कालीन राजा वीरेन्द्रले १८ फेब्रुअरी १९९० मा टीआइए कम्प्लेक्सको उद्घाटन गरेका थिए । त्यसयता यो भवनले दुईवटा ठूला भूकम्प थेगिसकेको छ । क्षमताभन्दा दोब्बर संख्यामा यात्रु थेगिरहेको छ ।

विमानस्थलमा पटक-पटक हुने यस्तो घटना-दुर्घटनाका पछाडि कतै पुराना उपकरण, त्यसको नियमित मर्मतको अभाव र क्षमताभन्दा बढी उपयोग त होइन ?

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्री भवन पुरानो भए पनि सञ्चार र विद्युतीय उपकरण भने आवश्यकता अनुसार फेर्ने गरिएको बताउँछन् ।

‘विद्युत सट भएर हुने आगलागी त एक दुर्घटना मात्र हो’, उनी भन्छन्, ‘दुर्घटना नयाँ भवन, नयाँ उपकरणमा पनि हुन सक्छ ।’ यद्यपि क्षमताभन्दा बढी उपयोगबाट संरचना र उपकरणमा चाप पर्नु चाहिँ उनी स्वाभाविक ठान्छन् । सोही कारण विमानस्थलले बेला बेला सूचना नै जारी गर्नुपरेको उनको भनाइ छ ।

योजना कार्यान्वयनमा ढिलाइ गर्दाको परिणाम

त्रिभुवन विमानस्थलको क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत अन्तराष्ट्रिय टर्मीनल भवन नयाँ बनाउने योजना छ । योजना अनुसार काम भएको भए सन् २०१५/१६ मै त्रिभुवन विमानस्थलमा नयाँ टर्मीनल भवन बनिसक्ने थियो ।

तर, विमानस्थल क्षमता विस्तारको आयोजना बीचमै अलपत्र परेपछि टर्मिनल विल्डिङ निर्माणको काम पनि अलपत्र बन्यो । प्राधिकरणका निर्देशक प्रदिप अधिकारीका अनुसार आगामी ५ वर्ष भित्रको योजनामा नयाँ टर्मिनल बिल्डिङ तयार पारिसक्ने योजना प्राधिकरणले बनाएको छ ।

पाँच वर्षभित्र जहाजहरु राख्ने ह्याङ्गर, एप्रोन, नयाँ टर्मिनल भवन, प्यारलल ट्याक्सीवेजस्ता संरचना त्रिभुवन विमानस्थलमा बनि सक्नेछन् । त्यसअवस्थामा त्रिभुवन विमानस्थलले वार्षिक ९२ लाख यात्रुलाई सेवा दिन सक्नेछ । अहिले यस विमानस्थलबाट वार्षिक ७० लाख हाराहारी यात्रुले सेवा लिइरहेका छन् ।

त्रिभुवन विमानस्थलमा हुने क्षमता अभिवृद्धिका योजनाले आगामी दिनमा बढ्दो ट्राफिक चाप धान्न नसक्ने प्रक्षेपण प्राधिकरणको छ । सोही कारण निजगढ विमानस्थल आयोजनाको प्रस्ताव गरिएको हो । अर्कोतर्फ भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेका छन् । यी विमानस्थल संचालनमा आएपछि थोरै भए पनि त्रिभुवन विमानस्थलले राहत पाउने उपमहानिर्देशक क्षत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment