Comments Add Comment

भटमासले बदल्न सक्छ नेपाली कृषकको भाग्य

२९ माघ, काठमाडौं । खेतको आली, बारीको सेपिलोदेखि पारिलो फाँटमा समेत प्रशस्त फल्ने भटमासबाट बन्ने तेल निर्यात आर्थिक वर्षको ६ महिनामा निकै उत्साहजनक देखिएको छ ।

व्यवसायीक तेल उत्पादनका लागि नेपालमा कमै मात्र खेती गरिने भटमासको माग र निर्यात तथ्यांक हेर्दा नेपाली कृषकको भाग्य भटमास खेतीले नै बदल्न सक्छ कि भन्ने आशा पालाएको छ ।

भटमास आयात निर्यातको अवस्था

गत आर्थिक वर्षको ६ महिनामा ६ करोडको सोयाविन तेल भारततर्फ निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । तर। यस वर्षको ६ महिनामा ४ अर्ब ३८ करोड रुपैयाँ बराबरको सोयाबिन तेल नेपालबाट भारततर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ ।

यस अवधिमा ३ करोड ४१ लाख ४० हजार किलो प्रशोधित सोयाबिन तेल भारत निर्यात भएको भन्सार विभागले जनाएको छ । गत वर्ष २ अर्ब ३४ करोड ६३ लाख रुपैयाँको प्रशोधित सोयाबिन तेल भारत निर्यात भएको थियो ।

यस्तै गत वर्षभरिमा २२ करोड ६५ लाख ६८ हजारको कच्चा भटमासको तेल भारततर्फ निर्यात भएको थियो ।

राम्रो निर्यात देखिएको भटमासको तेल बन्ने कच्चा पदार्थ अर्थात भटमास भने नेपालको आफ्नै उत्पादन होइन । भन्सार विभागको विवरणअनुसार भारततर्फ निर्यात भएको भटमासको तेलको कच्चा पदार्थ अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, पराग्वे र युक्रेनबाट नेपाल भित्रिएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ९६ करोडको कच्चा पदार्थ आयात हुँदा भारतमा मात्रै नेपालबाट ४ अर्ब ३८ करोडको प्रशोधित भटमास तेल निर्यात भएको छ ।

नेपालमा अर्जेन्टिना ५ करोड ६३ किलो, ब्राजिल, १ करोड ९७ लाख किलो, इन्डोनेसिया २ लाख ५५ हजार किलो, पराग्वे १ करोड ३५ लाख किलो र युक्रेन ११ लाख ७४ हजार किलो भटमासको तेल आयात भएको तथ्यांकमा देखिन्छ ।

नेपालमा भटमास खेती

कृषि विकास मन्त्रालयका अनुसार नेपालमा भटमास खेती गरिन्छ तर यसको व्यवसायिक उत्पादन ठूलो मात्रामा भने छैन । आर्थिक वर्ष ०७४/७५ मा नेपालमा २२ हजार ६ सय २ हेक्टर जमिनमा २८ हजार २५३ मेट्रिक्टन भटमास फलेको थियो ।

यस्तै आर्थिक वर्ष ०७५/७६ मा २२ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा २९ हजार १७६ मेट्रिक टन भटमास फलेको थियो । अघिल्लो वर्ष १.२५ प्रतिशत रहेको उत्पादकत्व गत वर्ष १.२९ पुगेको छ ।

कृषि तथा पशुपछी विकास मन्त्रालयले मकै भटमासको बजार प्रसस्त रहेको जनाएको छ । पश्चिम नेपालको विभिन्न भेगमा राम्रो उत्पादन हुने भटमासका लागि केही वर्ष पहिले कृषि विभागले मिसन कार्यक्रम पनि चलाएको कृषि तथा पशुपंछी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।

‘नेपालमै पनि तेल र दाना उद्योगका लागि मकै र भटमास खेती गरेर राम्रो लाभ लिन सकिन्छ,’ प्रवक्ता केसीले भने ।

यस वर्षको भटमास आयात र तेल निर्यातको अवस्था हेर्दा लाभको बाटो प्रशस्त देखिए पनि गहिरो अध्ययन भने जरुरी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment