
२९ माघ, काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी संगठनभित्र व्यक्ति केन्द्रीय दौडाहा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसले अधिकृतको व्यवसायिकतामा पनि सम्झौता गरेको उनले बताए ।
नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई बुधबार दर्ज्यानी चिन्ह लगाइदिएपछि सम्बोधन गरेका न्यौपानले प्रश्न गरे, ‘माथिल्लो दर्जाका साथीहरुमा अलिकति प्रतिष्पर्धात्मक भावना बढी भयो कि ?’
उनले कसैलाई उछिन्छु भनेर दौडिनेभन्दा पनि व्यवसायिक कामतिर बढी ध्यान दिनु जरुरी रहेको बताए । ‘सधैं आफ्ना विषयमा चिन्तन गर्दा संगठनका विषयमा हामी कतै अलिकति कम सोच्ने त भएका छैनौं ?’, न्यौपानेले चिन्ता व्यक्त गर्दै भने, ‘त्यसैले आफ्ना कुरा चेन अफ कमाण्डअनुसार हाई र्याङ्किङमा राख्ने र धेरै दौडधुप नगर्ने परिपाटी अवलम्बन गर्नु हुन सम्पूर्ण साथीहरुलाई आग्रह गर्दछु ।’
साथै, न्याय दिने विषयमा प्रहरी नेतृत्व र गृह प्रशासन कानूनले तर्जुमा गरेको विषयलाई अवलम्बन गर्न लागिपरेको उनले बताए ।
आईजीपी ज्ञवालीले पनि ‘नियमसंगत रुपमा ती विषयलाई भेदभाव गरिने छैन’ भनिसकेको स्मरण गराउँदै न्यौपानेले भने, ‘प्रहरी संगठनको थप सक्रियता नभएका कारणले अपराधिक प्रवृत्तिहरुले मौलाउन अवस्था पाएको त होइन ? भन्ने विषयलाई समीक्षा गर्न जरुरी छ ।’
यो पनि पढ्नुस्
प्रतिक्रिया 4