Comments Add Comment

चार्जिङ स्टेसनको महसुल प्रस्ताव, सवारी चार्ज गर्दाको शुल्क कति ?

१ फागुन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीको चार्जिङ स्टेसन सञ्चालकले अधिकतम् २० प्रतिशतसम्म मुनाफा लिन पाउने गरी यातायातका विद्युतीय सवारी साधन चार्ज गर्ने महसुल दर प्रस्ताव गरेको छ । विद्युत नियमन आयोगसँग सिजनल (मौसमी) रुपमा र विहान, दिउँसो र बेलुका मूल्य फरक लिनुपर्ने गरी महसुल तोक्न प्रस्ताव गरिएको हो ।

यही प्रस्ताव स्वीकृत भएमा सवारी चार्ज गर्दा समयअनुसार प्रतियुनिट ५.३४ रुपैयाँदेखि १४ रुपैयाँ ४ पैसासम्म तिर्नुपर्नेछ । वर्षा यामको ८ महिना (वैशाखदेखि मंसिरसम्म) रातको समयममा चार्ज गर्न सबैभन्दा सस्तो पर्ने छ भने हिउँद (पुसदेखि चैतसम्म)को पिक समयमा सवारी चार्ज गर्दा सबैभन्दा महंगो मूल्य तिर्नुपर्नेछ ।

हिउँदमा उत्पादन घट्ने भएकाले महंगो मूल्यमा विजुली किन्नुपर्ने भएकाले महसुल पनि बढी तोक्न बाध्यता रहेको प्राधिकरण्का एक अधिकारी बताउँछन् । ‘हामीले लिने महसुलमा २० प्रतिशत शुल्क जोडेर चार्जिङ स्ट्सनले शुल्क उठाउँछ,’ उनले भने,’ निकै वैज्ञानिक तवरले महसुल तोकेका छौं । सार्वजनिक विद्युतीय सवारीलाई विशेष सहुलियत दिएका छौं ।’

प्राधिकरणले सार्वजनिक यातायातको चार्जिङ स्टेसनलाई रात -राती ११ देखि विहान ५ बजेसम्म) मा चार्ज गर्दा कम शुल्क प्रस्ताव गरेको छ । सरकारले चार्जिङ स्टेसनले विद्युतको डिमान्ड शुल्क तिर्ने वा वा स्वाप सुविधा दिएर नतिर्ने दुबै विकल्प खुला राखेर महसुल तोक्न प्रस्ताव गरेको हो ।

यसअनुसार डिमान्ड शुल्क तिर्ने स्टेसनहरुको प्रतियुनिट इनर्जी चार्ज सस्तो प्रस्ताव गरिएको छ भने डिमान्ड शुल्क नतिर्ने चार्जिङ स्टेसनले प्रतियुनिटमा इनर्जी चार्ज केही महंगो तिर्नुपर्ने छ । तोकिएको समयअनुसार चार्ज गर्न आएकासँग महसुलमा २० प्रतिशत बढी मात्रै शुल्क जोडेर स्टेसनले ग्राहकलाई चार्जिङ सुविधा दिन सक्नेछन् ।

प्राधिकरणले टाइम अफ दि डे (टीओडी) विद्युत महसुल दर (अटोमेटिक स्वाप कार्ड ग्राहक) डिमान्ड शुल्क नलाग्ने स्टेसनका लागि तोकेरै प्रतियुनिट कुल महसुल निर्धारण गरेको छ ।

वर्षायाम र रातमा सस्तो

वर्षाको समय (वैशाखदेखि मंसिरसम्म) विद्युतीय सवारी चार्ज गर्न सस्तो पर्ने छ । सार्वजनिक सवारीको चार्जिङलाई प्रतियुनिट न्युनतम् ४.४५ रुपैयाँदेखि ८.७० रुपैयाँसम्म चार्जिङ स्टेसनले खर्चिनुपर्ने देखिन्छ ।

यो समय सार्वजनिक यातायातका चार्चिङ स्टेसन -३३ केभी लाइन लिएका)ले रातमा -राती ११ देखि विहान ५ बजेसम्म) प्रतियुनिट ४.४५ रुपैयाँ महसुल तिर्नुपर्ने प्रस्ताव प्राधिकरणले गरेको छ ।
यस्तो महसुल ११ केभीका चार्जिङ स्टेशनलाई ५.०५ रुपैयाँ र तल्लो भोल्टेज (२३०/४००भोल्ट) का ग्राहकलाई ५.०५ रुपैयाँ प्रस्ताव भएको छ ।

यस्तै वर्षाको मौसममा विहान ५ बजेदेखि साँझ ५ बजेसम्म ३३ केभीका चार्जिङ स्टेनसनले प्रतियुनिट ६.६० रुपैयाँ, ११ केभीकाले ६.७० र तल्लो भोल्टेजकाले ६.९० रुपैयाँ महसुल तोक्न खोजिएको छ ।

यसैगरी पिक समय (साँझ ५ देखि राती ११ बजेसम्म) ३३ केभीको चार्जिङ स्टेशनलाई प्रतियुनिट ८.४० रुपैयाँ, ११ केभीकालाई ८.६० रुपैयाँ र तल्लो भोल्टेजकालाई ८.७० रुपैयाँ प्रस्ताव गरिएको छ ।

हिउँदमा कति ?

चार्जिङ स्टेसनलाई पनि पुसदेखि चैतसम्म भने महसुल केही महंगो पर्छ । यो समयमा दिनलाई दुई भागमा विभाजन गरेर चार्जिङ स्टेसनको महसुल तोक्न प्रस्ताव गरिएको छ । ३३ केभीका चार्जिङ स्टेसनले साँझ ५ बजेदेखि राती ११ बजेसम्म प्रतियुनिट ८.४० रुपैयाँ महसुल प्रस्तावित छ भने ११ केभीकोलाई ८.६० रुपैयाँ र त्यसभन्दा तल्लो भोल्टेजकालाई ८.७० रुपैयाँ ।

हिउँदमा राती ११ बजेदेखि विहान ५ बजेसम्म ३३ केभीका चार्जिङ स्टेसनलाई प्रतियुनिट ६.६० रुपैयाँ, ११ केभीको स्टेसनलाई ६.७० रुपैयाँ, त्यसभन्दा तल्लो भोल्टेजका स्टेसनलाई ६.९० रुपैयाँ तोक्न प्रस्ताव गरिएको छ ।

सार्वजनिक बाहेकलाई कति ?

प्रस्तावअनुसार सार्वजनिक यातायात बाहेकले चार्ज गर्ने चार्जिङ स्टेसनले न्युनतम् ४.४५ रुपैयाँदेखि ११.७० रुपैयाँसम्म महसुल तिर्नुपर्नेछ । यसअनुसार निजी सवारीका चार्जिङ र्साजनिकभन्दा केही महंगो पर्ने छ ।

यस्ता चार्जिङ स्टेसनले वैशाखदेखि मंसिरसम्म पिक समय (साँझ ५देखि राती ११ बजेसम्म)मा चार्जिङ स्टेसनको प्रकारअनुसार प्रतियुनिट ११.२० रुपैयाँदेखि ११.७० रुपैयाँसम्म महसुल तिर्नुपर्ने हुन्छ ।

वर्षाको यो सिजनमा रातमा भने प्रतियुनिट ४.४५ रुपैयाँदेखि ५.१५ रुपैयाँसम्म महसुल तिर्नुपर्नेछ ।

यस्तै वर्षाको समयका दिन (विहान ५देखि साँझ ५ बजेसम्म)मा प्रतियुनिट १०.१० देखि १०.३० रुपैयाँ महसुल प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment