
तत्कालिन सभामुख कृष्णवहादुर महरामाथि बलात्कार उद्योगको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारीले महरालाई सफाइ दिने अदालतको फैसलाको स्वागत गरेकी छन् ।
उनले आफूले मानसिक सन्तुलन गुमाएका बेला महरामाथि सो आरोप लगाए पनि त्यसयता लगातार घटना होइन भनेर बयान दिएको बताइन् ।
अदालतका फैसलालगत्तै अनलाइनखबरसँग कुरा गर्दै उनले महरालाई आफ्नो कारण होइन, राजनीतिक षडयन्त्रका कारण जेल हालिएको भन्दै अब पनि महरासँगको सम्बन्ध यथावत रहने बताइन् । प्रस्तुत छ, उनीसँग गरिएको संक्षिप्त कुराकानी ।
जिल्ला अदालतको फैसलाबारे तपाईको प्रतिक्रिया के छ ?
फैसला स्वागतयोग्य छ । सर्वप्रथम त म सम्मानित अदालतलाई धन्यवाद पनि दिन चाहन्छु, न्यायोचित र स्वागतयोग्य छ ।
अदालतले तपाईसँग पनि बयान लियो ?
मेरो वकपत्र मंसिर २८ गते भएको हो । मैले घटना भएको होइन भनेको हो र पहिले जे भनेको हो त्यही भनेँ ।
तपाईले शुरुमा लगाएको बलात्कारको आरोप चाहिँ के थियो त ?
त्यो कुरा चाहिँ अब म गर्न पनि चाहान्न । शुरुको शुरुमै भइसक्यो,सिद्धियो त्यो । त्यसपछिका कुराहरु चाहिँ असोज १४ गतेबाट मैले होइन भनिराखेको थिएँ । त्यहिनै हो मेरो कुरा अहिलेसम्म । असोज १४ गते मैले मिडियामा पनि होइन भनेको छु । १५ गते मैले लिखित निवेदन पेश गरेको छु र त्यसपछिको अहिलेसम्म मेरो करा त्यहिनै हो ।
अनि जाहेरी तपाईले दिनुभएको होइन, महराविरुद्ध ?
होइन होइन, जाहेरी मैले दिएकी छैन ।
त्यो शुरुमा तपाईले लगाएको आरोप आवेगमात्र थियो त ?
आबेग पनि होइन त्यो त । म एक त अश्वस्थताका कारण हो ।
तपाईकै कारण महराको सभामुख पद त गयो, अब उहाँको राजनीतिक जीवनको…?
(बीचमै रोकेर) मेरो कारणले होइन । त्यो मेरो कारणले नभन्नुस् है । किनभने मैले १४ गते नै होइन भनिसकेपछि त्यो मेरो कारण हुँदै होइन नि । त्यसमा त अरुनै कारण छन् ।
अरु कारण के हुन् त ? भन्न चाहनुहुन्छ ?
त्यो अरु नै कारण छन् । त्यो कारण सबैलाई थाहा छ । षड्यन्त्रपूर्वक गरिराखेका छन्, त्यही नै हो कारण ।
सरकारको षडयन्त्र भन्ने कि राजनीतिक षडयन्त्र ?
राजनीतिक षडयन्त्र हो ।
तपाईलाई सामाजिक सञ्जालमा कतिपय महिलाले नै प्रश्न उठाएका छन्, तपाईले बयान फेरेका कारण कतिपय वास्तविक बलात्कार पीडित महिलाको न्यायमा समेत असर गर्ने भयो भनेर,उनीहरुलाई के भन्नुहुन्छ ?
त्यो त अब मैले कुन अवस्थामा त्यो बोलेको थिएँ, मेरो मानसिक असन्तुलन उहाँहरुले थाहा पाउनु भएको थियो कि थिएन ? पहिला त थाहा थिएन होला नि उहाँहरुलाई, पछि न थाहा पाउनुभयो ।
मानसिक सन्तुलन गुमाएको मान्छेले भनेको कुरा हो यो भनेर पहिला बुझ्नुपर्यो । त्यो नबुझीकन हावामा दौडिने हो भने त यहाँ कसले के भन्छ के । यस्ता यस्ता मुद्दा मामिला, ,यो महिला बलात्कार शब्द ल्याउँछन् ।
अरु केही एजेण्डा नभएपछि महिला र बलात्कार जस्ता शब्दलाई एजेण्डा बनाएर राजनीति गर्न खोजिदैछ । यो विल्कुल गलत हो क्या । यो कसैले पनि गर्नु हुँदैन । तपाई हामी कसैले पनि गर्नुहुँदैन । अब कुनै पनि एजेण्डा नपाएपछि महिला र बलात्कार क्या । दुईटा शब्द मिसाइदिएपछि त सबैभन्दा ठूलो हतियार । महिलालाई अघि सार्दिने,अनि बलात्कार शब्दलाई सार्दिने ।
त्यही भएर यस्ता कुरामा म जाँदैजान्न । यस्तो कृुराले हो भने महिलाले कहिल्यै न्याय पाउँदैन । पुरुष चाहिँ पीडित नहुने महिलामात्र पीडित हुन्छ ? यहाँ कति पुरुष पनि रोएर हिडेका छन् ।
अब महरा सरसँगको सम्बन्ध पहिलेकै जस्तो हुन्छ ?
लौ, हाम्रो त अभिभावक हो उहाँ । हाम्रो गुरु हुनुहुन्छ उहाँ पहिलेदेखिबाटै । अब त्यो रहने नरहने त किन र । त्यो त जे हो हाम्रो सम्बन्ध,एउटा सौहार्दपूर्वकको त्यो सधैंभरि कायमै रहन्छ । त्यही हो ।
प्रतिक्रिया 4