५ फागुन, वीरगञ्ज । पर्साको बढनिहारमा जारी पर्सा गोल्डकप अन्तर्गत सोमबारको खेलमा नेपाल खेलकुद क्लव चपुर विजयी भएको छ ।
एम्पायरको निर्णयप्रति असहमति जनाउँदै एफसी सिमरा युनाइटेडले सोमबारको खेल बहिष्कार गर्यो । सिमराले खेल बहिष्कार गरेपछि खाली पोष्टमा गोल गरेकै आधारमा एम्पायरले चपुरलाई विजयी घोषणा गरेका थिए ।
खेलको सुरुवाती १९औं मिनेटमा चपुरका रोशन पहरीले गोल गरेर चपुरलाई अग्रता दिलाएका थिए । खेलको ५२औं मिनेटमा सिमराका निकेश थापाले गोल गर्दै खेललाई बराबरी गरे । खेलको ६९औं मिनेटमा सिमराका सुनिल राउतले रातो कार्ड पाएपछि एम्पायरको निर्णयमा असहमति जनाउँदै सिमराले खेल बहिष्कार गर्यो ।
खेलको म्यान अफ द म्याच (रौतहट) चपुरका रोशन पहरी भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष उद्धवबहादुर उप्रेतीले ट्रफी प्रदान गरे ।
प्रतियोगिताको चौथो खेल मंगलबार निजगढ एफसी बारा र आयोजक पर्सागढी युवा स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाखसहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाणपत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए ।
प्रतिक्रिया 4