
‘जकफूड खान हुँदैन’ आमाबुवाले यसै भन्छन् । शिक्षक/शिक्षिका दोहोर्याउँछन्, ‘जंक फूडले स्वास्थ्य खराब गर्छ ।’
उदेकलाग्दो चाहिँ के भने विद्यालयकै स्वमित्व र नियन्त्रणमा सञ्चालन गरिने क्यान्टिनले बालबच्चालाई जंकफूड खुवाउँछ । त्यो पनि बाध्यकारी रुपले । विद्यालयले अभिभावकबाट दिवा-खाना र नास्ताको नाममा चर्को पैसा असुल्छ । अतः खाना र नास्ताको मेनुमा राखिन्छ, मम, चाउमिन, स्यान्डवीच, दुनोट, समोसा आदि ।
खासगरी काठमाडौंमा सञ्चालित थुप्रै निजी विद्यालयले क्यान्टिन सञ्चालन गर्छ । बालबच्चाले विद्यालय अवधिमा त्यहीँको खाना खानुपर्छ । काठमाडौंका अधिकांश विद्यालयमा घरबाट समेत खानेकुरा लैजान पाइँदैन । वाषिर्क वा मासिक रुपमै बालबच्चाको खानाको शुल्क असुलिन्छ । तर, विद्यालयको क्यान्टिनमा कति स्वास्थ्यबर्द्धक, ताजा, पोषिलो र मौसमी खानेकुुरा उपलब्ध होला ?
यस सम्बन्धमा न अभिभावकले खोजी गरेको पाइन्छ, न विद्यालय व्यवस्थापनले नै सर्तकता अपनाउने गरेको छ । विद्यालयले स्वस्थ्यबर्द्धक एवं पोषिलो खानेकुराको बारेमा त पाठ घोकाउँछ । यद्यपि विद्यालयकै क्यान्टिनमा त्यस्ता खानेकुरा उपलब्ध हुँदैनन् । यसरी बालबच्चालाई दिग्भ्रमित बनाउने मात्र होइन, उनीहरुको स्वास्थ्यमा खेलबाड पनि गरिन्छ ।
बढ्दो उमेरका बालबच्चालाई पोषिलो र सन्तुलित खानेकुराको आवश्यक हुन्छ । शारीरिक र मानसिक स्वास्थ्यका लागि । जंकफूडले भने उनीहरुको स्वास्थ्य खराब गर्छ । मानसिक विकासमा समेत अवरोध पैदा गर्छ । तर, यो संवेदनशीलताप्रति अभिभावक नै उदासिन छन् । विद्यालयको चतुर्याईलाई अभिभावकले चुपचाप सदर गरिदिएका छन् ।
के पाक्छ क्यान्टिनमा ?
काठमाडौंका राम्रा भनिएका विद्यालयमा बालबच्चालाई खाजा वा नास्तामा जंक फुड ख्वाउने गरिएको पाइन्छ । मःम र चाउमिन जस्ता खानाहरु कम गरेको भएपनि समोसा, दुनोट जस्ता जंकफुडहरु धेरैको क्यान्टिनको मेनुमा भेट्न सकिन्छ ।
अवस्था के छ भने, धेरैजसो निजी विद्यालयमा बालबच्चाहरु ८ वा ९ बजेभित्र पुगिसक्नुपर्छ । उनीहरुले घरको खाना खान नै भ्याउँदैनन् । उठ्नसाथ विद्यालय पुग्छन् र विद्यालयले सञ्चालन गरेको क्यान्टिनमा खाना खान्छन् । नास्ता पनि ।
कतिपय विद्यालयले घरबाट खाजा ल्याउन नपाइने सर्त पनि राख्ने गरेको पाइन्छ । ति विद्यालयले तीन, चार छाकसम्मको खाना र नास्ता विद्यालयमै ख्वाउने गर्छन् । यसवापत अभिभावकबाट राम्रै पैसा पनि असुल्ने गरिन्छ । विद्यालयको भर्ना र मासिक शुल्कमा धेरै चलखेल गर्न नपाउने भएकाले पनि विद्यालयले अतिरिक्त सेवाबाट मनग्ये शुल्क उठाउने गरेको अभिभावकहरु बताउँछन् ।
पोशाक, पुस्तक, कपी-पेन्सिल, यातायातसँगै खानपानबाट विद्यालयले चर्को शुल्क उठाउँछन् । जबकी विद्यालयको क्यान्टिनमा उपलब्ध खानेकुराको गुणस्तरबारे भने अभिभावक ढुक्क हुने स्थिती छैन । किनभने विद्यालयको क्यान्टिनको सरसफाई, खानेकुराको गुणस्तर, पकाउने विधीबारे त्यती धेरै प्रश्न उठाएको पाइदैन । जस्तो पाक्छ, त्यस्तै खान बाध्य छन् बालबालिकाहरु ।
आफ्ना बालबच्चाले कस्तो खाइरहेका छन्, के खाइरहेका छन् भने निगरानी गर्न पनि अभिभावकलाई छुट छैन । न त अभिभावकले यसमा गंभिरतापूर्वक चासो नै राखेका छन् ।
किन चुप अभिभावक ?
बच्चाको विद्यालयको शुल्कको बारेमा समेत प्रश्न उठाउन लजाउने अभिभावकहरुका कारण पनि विद्यालयहरुको मनपरी बढिरहेको अभिभावक संघका अधिकारीहरु बताउँछन् ।
अभिभावकहरुको अधिकारको लागि लड्नको लागि भनेर अभिभावक संघको समेत गठन गरिएको छ । अभिभावक संघमा पनि सामान्य अभिभावकहरुको पहुँच पुग्ने गरेको छैन । त्यसैमाथि संघ आफैंमा विद्यालयहरुप्रति लाचार छ । संघका अध्यक्ष केशव पुरी आफूहरु कार्यकारी निकाय नभएको भन्दै आफूहरुले कुरा उठाउने बाहेक केही पनि गर्न नसक्ने बताउँछन् ।
आफूहरुले यस विषयमा कुरा उठाउँदा पनि शिक्षा विभागले केही चासो नदिने गरेको उनको गुनासो छ । उनी गुनासो गर्ने अभिभावकलाई अनेकानेक झण्झटको सामना गराउने भन्दै अभिभावकहरु अहिले संघमा गुनासो गराउनै आउन छाडेको उनी बताउँछन् । पुरी भन्छन् ‘गुनासो गर्ने अभिभावकहरुलाई बच्चाले राम्रो नपढेको, स्कूलमा धेरै उपद्रो काम गरेको जस्ता मानसिक रुपमा दबाब दिने काम गर्न थालेपछि अहिले अभिभावकहरु गुनासो गर्नै छाड्ने गरेका छन् । हामीले पनि सरकारी अधिकारीहरुलाई यसबारे कारबाही गर्न आग्रह गर्ने हो । तर, स्कूल सञ्चालकहरु नै सरकारी अधिकारी र सांसदहरु धेरै रहेको ठाउँमा कसले गर्ने कारबाही ?’
विद्यालयको धन्दा
‘पोषाक, दिउँसोको खाना/खाजा, पुस्तक/कापीहरु तपाईंहरुले विद्यालयबाट नै किन्नु पर्नेछ । विद्यालयमा विद्यार्थीको पूरा ख्याल गरिनेछ । विद्यालयमा आएर जहाँ पायो त्यहाँ तपाईंले बच्चाहरुलाई भेट्न सक्नुहुन्न ।’ काठमाडौं चावहिलका सन्तोस पन्थीले काठमाडौंका ठूला भनिएका विद्यालयमा आफ्नो छोरा भर्ना गराउने उद्देश्यले फोन गर्दा विद्यालय प्रशासनको तर्फबाट पाएको जवाफ हो ।
यी सबै सर्तहरु सुनिसकेपछि एकछिन मनन गरेका उनले आफ्नै छोरामाथि स्कूल पठाएपछि आफ्नै स्वामित्व गुम्ने देखेपछि ती स्कूलहरुमा छोरालाई नपठाउने निर्णय गरे ।
सन्तोषले सुनाए ‘ठूला स्कूल भनेर सुरुमा रातोबंगलामा भर्नाको लागि कुरा गरेँ । सुरुमा नै सर्तनामा अघि सारे । सबै सर्तनामाहरु पढिसकेपछि त्यहाँ बच्चा पढाउन नसक्ने निष्कर्षमा पुगेँ । बच्चालाई चाहिने ड्रेस उनीहरुले भनेकै कार्नेसन टेलरबाट किन्नुपर्ने रे, पुस्तकमा पनि त्यस्तै मनपरी, विद्यालयमा विद्यार्थीलाई घरबाट खाना ल्याउन नपाउने आफ्नो बच्चाले के खाँदैछ ? त्यो पनि हेर्न नपाउने भन्ने सुनेपछि आफ्नै बच्चामाथि स्वामित्व गुमाउन चाहिन ।’
अघिल्लो बिहीबारदेखि हिमाली जिल्लामा शैक्षिक वर्ष सुरु भइसकेको छ । अरु जिल्लाहरुमा पनि विद्यालयहरुले भर्नाको लागि तीब्र तयारी गरिरहेका छन् । विद्यालयहरुमा नयाँ भर्ना खुलेसँगै अभिभावकहरुमा भने टाउको दुखाई सुरु भएको छ ।
कालोपुलकी सिर्जना खत्रीले पनि अघिल्लो वर्ष यसैगरी विद्यालयको दादागिरीबाट आजित भएपछि बरु घर नजिकैको एउटा स्कूलमा विद्यार्थी पढाउँदै आएको सुनाइन् । पि्रमियर स्कुलमा आफूले बच्चा भर्नाको लागि कुरा गर्दा पोशाकबाहेक पुस्तक, खानपान, यातायात लगायत सबैको पैसा लाग्ने बताए ।
घरको खाना स्वीकार्य छैन भनेपछि आफूले बरु घरमै बच्चालाई धेरै ख्याल गरेर पढाउने भनेर ठूला स्कूलमा विद्यार्थी भर्ना नगरेको बताइन् । उनी भन्छिन् ‘बच्चा हाम्रो हो, आफ्नै बच्चाको ख्याल हामीले गर्न पाउँदैनौं भने स्कूल पठाएर मात्रै केही पनि हुँदैन भनेर ठूला स्कूलमा बच्चा नै भर्ना गराइन ।’
खत्री र पन्थीले भनेका विद्यालयमा कुरा गर्दा ती विद्यालयहरुले आफूहरुको सर्तनामा बारे स्वीकार गरे । यो समस्या ती विद्यालयमा मात्रै होइन, काठमाडौंका ठूला भनिएका सबै विद्यालयहरुमा देखिने समस्या हो । जहाँ विद्यार्थी भर्ना गरेपछि अभिभावकहरुले आफ्नै सन्तानको स्वामित्व गुमाइसकेका हुन्छन् । स्कूलले कुन दिन कुन शीर्षकमा पैसाको रसिद पठाउँछ भन्ने कुरेर बस्नुबाहेक आफ्नो बच्चाले स्कूलमा के खान्छ ? के गर्छ भन्ने कुरामा अभिभावकहरु नै बेखबर हुन्छन् ।
विभिन्न विद्यालयहरुबाट प्राप्त विवरणलाई आधार मान्दा अधिकांश विद्यालयहरुले हरेक साताको लागि छुट्टा छुट्टै खाजा र खानाको व्यवस्था गरेको हुन्छ । त्यो खाजाको सूचीमा परिवर्तन हत्तपत्त हुँदैन । त्यस्तो अवस्थामा बच्चालाई मन नपर्ने र बच्चालाई आवश्यक खानाको अभाव हुने देखिन्छ । विभिन्न विद्यालयको भोजन गृहबाट पाइएको भोजनको सूची हेर्दा धेरै स्याण्डविच, दुनोट जस्ता खानेकुराहरु धेरै पाइन्छ ।
जंकफुडले मस्तिष्कलाई असर
जंकफुडमा चिनी र चिल्लो पदार्थको मात्रा उच्च हुन्छ । यस किसिमको भोजने सेवन गर्नाले पेप्टाइड भनिने दिमागको गतिविधी कम हुन्छ ।
यसको साथै मस्तिस्कमा सिनेप्सिस हुन्छ जसले स्मरणशक्ति र अरु कुराहरु ध्यान राख्न मद्धत गर्छ । धेरै मात्रामा क्यालोरीको सेवन गर्नाले सिनेप्सिसको उत्पादनमा बाधा उत्पन्न हुन थाल्छ ।
प्रतिक्रिया 4