Comments Add Comment

पेरुङ्गोमा गणेश रसिक

काठमाडौं खाल्डोमा पसेपछि हम्मेसी कोही पनि काठमाडौं छाड्न चाहँदैनन् । जागिरका लागि, अवसरका लागि, छोराछोरीको पढाइका लागि अथवा जे पनि बहानामा काठमाडौं रोज्नेहरुले नै काठमाडौं भरिएको छ ।

काठमाडौंको यो सदाबहार आकर्षणमा कहिल्यै कमी आएन । म आफैं पनि काठमाडौंको दक्षिणतिर मकवानपुरको टेक्करमा जन्मिएर, हेटौंडामा स्कूले शिक्षा सकेपछि कलेज पढ्न काठमाडौं प्रस्थान गरेपछि काठमाडौंमै बसें । काठमाडौंमै घरजम गरें । अमेरिका प्रस्थान नगरुन्जेल काठमाडौंमै बसें ।

यो एक प्रकारको शाश्वत आकर्षण हो । सक्नेले घर बनाएका छन् काठमाडौंमा, नसक्नेले डेरामै बसेर पनि काम चलाएका छन् । तर, काठमाडौं छाडेका छैनन् ।

तर, भोजपुरको छिनामखुमा जन्मेर काठमाडौंमा विभिन्न सुन्दर अवसरहरु आस्वादन गरेर पनि गणेश रसिकले भने काठमाडौंलाई रोजेनन्, उनले इलाम रोजे, इलामका चियाबारीलाई रोजे । यो एक प्रकारको अपवाद नै हो ।

रत्न रेकर्डिङ संस्थानको महाप्रवन्धक, राष्ट्रिय नाचघरको महाप्रवन्धक, साझा प्रकाशनको कार्यकारी अध्यक्ष, संगीत नाटक एकेडेमीको प्राज्ञिक पदजस्ता सुनौला आकर्षणहरु रोज्ने र भोग्ने गणेश रसिकलाई काठमाडौंको आकर्षणले नतानेको हो कि इलामको आकर्षणले तानेको हो, छुट्याइहाल्न, खुट्याइहाल्न गाह्रो छ ।

वायाँबाट- हिरण्य भोजपुरे, गणेश रसिक र उर्मिला श्रेष्ठ

कुनैबेला रेडियोमा बरोबर बज्ने गर्थ्यो– ‘रातो भाले क्वायँ क्वायँ, सुत्केरीलाई ख्वाएँ, सुत्केरीको नाम गरी टाउको मैले खाएँ…’

कुनैदिन यिनै सर्जकसँग जम्काभेट होला, उठबस होला र भलाकुसारी होला भन्ने चाहीं लागेको थिएन । तर, जुन दिनदेखि परिचय भयो, उनको रुप, उनको स्वभाव, उनको आनीवानी मलाई एकै लागिरह्यो, यद्यपि उनले समयको क्रममा राजनीतिका रङ्गहरु भने अदली–बदली गरिरहे ।

गणेश ररिसकले राल्फाकालमा ‘झोडा’ उपन्यास लेखेका थिए । पारिजातले ‘भाइ पुस्तक छाप्न सकिएन भने पनि आफ्ना साथी सङ्गाती साहित्यकारहरुलाई फोटोकपी गरेर भए पनि पढ्न दिनुस् यो उपन्यास’ भनेकी थिइन्

जतिबेला काठमाडौंमा राल्फा सन्ततीले साहित्यिक जगतमा हलचल मच्चाइरहेको थिए, गणेश रसिक पनि त्यो समूहमा थिए । उनले राल्फालीको समूहमा आफूलाई खुम्चिएको पाए र लघुताभासले बाउन्ने भएको ठाने । अझ केही राल्फालीहरुले अलिक रुखो व्यवहार गरेको उनले ठम्याए अनि राल्फामा बसेर काम छैन भनेर सात पेज लामो चिट्ठी मञ्जुलका नाममा लेखेर सबै औडाहा, असन्तुष्टि, आवेग पूरै सिनित्त पोखेर मन हलुङ्गो पार्दै सधैंका लागि राल्फा छाडे ।

अनि २०२४ साल श्रीपञ्चमीको दिन ‘लेकाली’ जन्मियो, जसमा हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, नविन किशोर, तीर्थ शेरचनलगायत गणेश रसिक पनि थिए । उनी ‘लेकाली’ भए । कवितालाई, नेपाली जनजीवनका कथालाई लेकालीले आफ्नो विषय बनाएको थियो । लेकाली समूहले क्यानाडामा समेत लेकाली संगीत पुर्याएका थिए, गुञ्जाएका थिए ।

सिर्जनात्मक लेखन र सिर्जनात्मक गतिविधिमा बाक्लै समय लगाए पनि रसिकको नाम भने गीत संगीत क्षेत्रमै बढी चलेको थियो । उनले पहिलो साहित्यिक रचना कथा लेखेका थिए र पहिलो पुस्तक पनि कथा सङ्ग्रह नै थियो, ‘क्षितिजलाई छुन खोज्दा’ जसलाई भानु प्रकाशनबाट भवानी घिमिरेले २०२४ सालमा प्रकाशन गरिदिएका थिए । त्यसपछि २०२७ सालमा रत्न पुस्तकबाट ‘एउटा सारङ्गीभित्र’ दोश्रो कथा सङ्ग्रह निस्केपछि उनले कथा लेखनलाई एक किसिमले विसाए । तर, गीत लेखन र गायन अनि सङ्गीतमा भने उनको निरन्तरता कायम थियो ।

खासमा गणेश राई हुन् उनी । उनले अच्छा राई रसिकको कृति पढेपछि, रसिकले प्रभावित तुल्याएपछि र साहित्यकारले फरक नामले चिनिनुपर्छ भन्ने लागेपछि आफ्नो नाम गणेश पछाडिको ‘राई’ मिल्कादिए र जोडे ‘रसिक’ । रसिक नाम यति प्रख्यात भयो कि, रसिक भनेपछि गणेश रसिक नै भनेर चिन्न थाले सबैले ।

उनले राल्फाकालमा  ‘झोडा’ उपन्यास लेखेका थिए । त्यो उपन्यास लेख्दाखेरि नै चर्चा परिचर्चा भएको थियो । पारिजातले त्यसको चर्चा पनि गर्ने गर्थिन् । उनले “भाइ पुस्तक छाप्न सकिएन भने पनि आफ्ना साथी सङ्गाती साहित्यकारहरुलाई फोटोकपी गरेर भए पनि पढ्न दिनुस् यो उपन्यास’ भनेकी थिइन् । पछि त्यो उपन्यास प्रकाशित नगरेकोमा उनको आपत्ति पनि थियो । उनले त्यो उपन्यासमा भूमिका लेख्न आग्रह गर्दा राजनीतिक आस्थाको द्वन्द्व हुने कारण देखाएर इन्कार गरेकी थिइन् । गणेश रसिक पञ्चायतको राजमा महाप्रवन्धक थिए, पारिजात नेकपा चौथो अधिवेशनकी सदस्य । राजनैतिक र्‍याङ–ठ्याङ मिल्ने कुरै भएन ।

लामो प्रतीक्षापछि सो उपन्यास ‘आकाशगंगाको ओतमुनि’ शीर्षकमा प्रकाशित भयो र दमक झापामा सम्पन्न किरात राई यायोख्खाको महाधिबेसनमा दार्जीलिङका प्रख्यात साहित्यकार शिवकुमार राईको हातबाट विमोचन भयो । झापाको पृष्ठभूमिको उपन्यास, झापामै बिमोचन, जातीय सन्दर्भ उठेको समय, जातीय सम्मेलनको अवसरमा विमोचन हुँदा मारामार बिक्छ भन्ने आशा आकाँक्षाकासाथ ७०० प्रति बोरामा हालेर लगिएको थियो ।

तर, आशा आकांक्षाको विपरीत झापाको टण्टलापुर घाममा बिस्कुन सुकाएको “आकाशगंगाको ओतमुनि’’ जम्माजम्मी ३ प्रति बिक्दा उनी अचम्मले दिग्दार भएका थिए । हजारौं रुपैयाँ भोज पार्टीमा मन फुकाएर खर्च गर्नेहरुले ३० रुपैयाँ मोलको उपन्यास किन्ने सदाशयता नदेखाएकोमा उनी खिन्न भए । तर, पछि सबैले केही–केहीप्रति आ–आफूले व्यक्तिगत सकृयतामा बिक्री गर्ने योजना चाहिँ सफल भएर पुस्तक सकिएको थियो ।

गणेश रसिक साहित्यिक पत्रकारितामा पनि संलग्न भए । पाँचौं पिँढी नामक पत्रिका सम्पादन प्रकाशनमा पनि उनको संलग्नता थियो । उनी अखबारी पत्रकारितामा पनि होमिए, तर उनको गन्तब्य त्यो थिएन ।

गणेश रसिकले जब २०५५ सालमा “जब सिस्नुहरु टेक्दै हिंडे’’ प्रकाशनमा ल्याए, उनको त्यो कृतिले एकाएक देशव्यापि चर्चा वटुल्यो । उनको गद्यलाई साराले मन पराए । त्यो मन पराइले गर्दा उनको अर्काे कृति पनि आयो “दस गजामा उभिएर’’ । यो कृतिले उनलाई माझिएको गद्यकारको तहमा पुर्याइदियो । उनी पुरस्कृत पनि भए । उनको गद्यको उचाइ बढ्यो ।

२०४६ सालको राजनैतिक परिवर्तनपछि नेपालको सबैजसो क्षेत्रमा राजनीतिको भाइरसले प्रवेश गर्यो, प्रवेश नगर्नुपर्ने ठाउँमा पनि । डा.तुलसी भट्टराई नेपाली कांग्रेसको सरकारको तर्फबाट साझा प्रकाशनमा पुगे । नेकपा एमाले सरकारमा आएपछि त्यो ठाउँमा जान विमल निभा तम्सिए र राजनैतिक रुपले लाइन क्लियर गरे ।

तर, डा. तुलसी भट्टराईले पद नछाडेकोमा उनी आक्रोशित थिए । बल्लतल्ल डा. तुलसी भट्टराईले राजीनामा गरे र विमल निभा साझा प्रकाशनको महाप्रवन्धकको कुर्सीमा पुगे । तर, उनले आफ्नो कार्यकालभरि माखो मारेनन् । जागिर मात्र खाइरहे । उनको आफ्नो स्पस्ट कथन थियो, साझामा मैले केही खराव गरिनँ, किनभने मैले केही पनि गरिनँ । केही गरेको भए पो असल खराव हुन्थ्यो ?

तर, एक दिन एमालेको सरकार पनि गयो । राप्रप्राको लाइन मिल्यो गणेश रसिकलाई र उनी अध्यक्षको पदमा नियुक्त भए । तर, अध्यक्षको काम त बैठकको अध्यक्षता गर्ने मात्र हुन्थ्यो । कुनै सुविधा, काम वा कार्यकारी अधिकार थिएन । कार्यकारी अधिकार भएका विमल निभा मजाले जागिर खाइरहेका थिए । अनि एकदिन गणेश रसिकले विमल निभालाई साझा प्रकाशनको बोर्ड बैठक बोलाउन लगाए । महाप्रवन्धक सदस्य सचिब हुनाले बोर्डको बैठक अध्यक्षको ईशारामा उनले डाक्नुपर्थ्यो । बैठक डाकियो । बैठकमा सबै उपस्थित भएपछि अध्यक्ष गणेश रसिकले विमल निभालाई कोठाबाट बाहिर बस्न आग्रह गर्दै भने, ‘तपाईं बाहिर बसिदिनोस् । तपाईंकै बारेमा यहाँ छलफल र निर्णय हुँदैछ ।’

भाइबहिनी हुर्काउने जिम्मेवारी उनकै काँधमा आयो । कान्छा भाइले आत्महत्या गरे । माइलो भाइ माओवादी द्वन्द्वमा मारिए । साइँलो भाइ दुर्घटनामा बिते । एक्लो छोरो पनि बित्यो । श्रीमती पनि अस्वस्थ छिन् । उनी दुःखको हलाहल पिएर हाँसिरहेका छन्

विमल निभा बाहिर निस्किए । भित्र बोर्डले गणेश रसिकलाई अध्यक्ष तथा महाप्रवन्धक बनाउने निर्णय गर्यो । विमल निभा बाहिरको बाहिरै भए । यसरी उनले साझाको बागडोर सम्हाले ।

जागिर, राजनीति, संगीत अनि गीतमा छरिएका गणेश रसिकका साहित्य सिर्जना पनि विधागत रुपमा छरिए कतै गीत भएर, कतै संस्मरण भएर, कतै कथा भएर त कतै उपन्यास भएर । शायद जीवन भन्नु पनि छरिनुको अर्काे नाम हो भने झैं ।

२०६७ साल मंसिर २४ गते एकमात्र छोरा निमेषको मृत्यु उनको जीवनको असह्य पीडाको क्षण थियो । उनले दसगजामा उभिएरको नयाँ संस्करणमा छोरालाई सम्वोधन गर्दै लेखेका समर्पणका शब्दहरु आँसुले लेखेका हुन् कि मुटु चिरिएर त्यहाँबाट निस्केको आर्तनाद, छुट्याउन मुस्किल पर्छ पाठकलाई । जसमा लेखिएको थियो–

तेरो झझल्को आजीवन कारावासजत्तिकै भयो मेरा लागि । अब त न भन्न सक्छौं तँलाई, न सुनाउन सक्छौं यी आवाजहरु । न त तेरो आवाज नै सुन्न सक्छौं, न त गाली, न त माया । हाम्रो जिन्दगीलाई भँड्खालोमा हालेर गइस् । हामीलाई अधकल्चो पारेर गइस् । तैंले आफ्ना सपनाहरु आफैंसँग लिएर त गइस् गइस् । हाम्रा केही सुन्दर सपनाहरु पनि आफैंसँग लिएर गइस् । अब त तैंले लान नसकेका बाँकी सपनाहरु यो गोधूली यात्रातिर लम्किरहेको हाम्रो जीवनका लागि धेरै नै बोझिलो र गह्रुँगो भएको छ । कस्तो बाध्यता हाम्रो सामु ? तँजस्तो कतै थाकेर जीवनको भारी बिसाउने मन हुँदा पनि धर पाइँदैन । तैंले बाँचुञ्जेल दिएको असङ्ख्य मानसिक यातना र परपीडा भन्दा तैंले छाडेर गएको एउटै तेरो अभाव र शून्यताको पीडा हाम्रा लागि असह्य र कष्टकर भएको छ । तैंले पनि हामीले जस्तै आमा र बाबु भएर उमेर पुगेको सन्तानको शोक छातीमा राखेर बाँच्नुपरेको भए थाहा पाउने थिइस्, निष्ठुरी ! सन्तान के हो ? आमाबाबुको माया कस्तो हुन्छ ? अब त तैंले लान नसकेको अथवा लान नचाहेर छाडेको नासो सपनाहरु हाम्रा पनि सपना भए ।….खै के भनौं निमेश तँलाई, तँजस्तै मर्न पनि सकिएन, अब त आकाशका ताराहरुमा आफ्ना सपनाहरु सजाएर बाँच्ने प्रयत्न गरिरहेका छौं ।’

२०६७ साल मंसिर १७ गते रसिकले भोजपुरमा आफ्नो नाममा भएको पुख्र्यौली जग्गा छोरा निमेषका नाममा पास गरिदिएका थिए । तर, मंसिर २४ गते छोराको मृत्यु भएको थियो ।

गणेश रसिकका रोजा कथाहरुको सङ्कलन “मुनिया र उसको छोरो’’, आत्मपरक संस्मरण “दसगजामा उभिएर’’, एकसय गीतहरुको विटो “ ताराभन्दा सपना धेरै’’, उपन्यास, “ आकाशगंगाको ओतमुनि’’ तथा २० प्रतिभा वारेमा संस्मरणात्मक निवन्धहरु “ छपक्कै मनमा बसेकाहरु’’ अब एउटै पेरुङ्गामा आएका छन् गणेश रसिकको सग्लो सम्पूण प्रतिभाको प्रतिमूर्ति भएर ।

यी ५ कृतिहरुमा गद्यले नै जितेको छ, गद्यमा पनि आख्यानले भन्दा संस्मरण, संस्मरणात्मक निवन्ध र आत्मकथात्मक रचनाले जितेको छ । पेरुङ्गोमा प्रवेश गरेर यी पाँचै कृति हेरिसकेपछि, पढिसकेपछि रहृदयङ्गम गरिसकेपछि गणेश रसिकलाई पूर्ण रुपले चिनिन्छ ।

एउटा आरोह–अवरोह, एउटा फैलावट र एउटा शान्त प्रशान्त महासागर जस्तो लाग्छ गणेश रसिकको व्यक्तित्व ।

गीत, संगीत, साहित्य आफ्नो ठाउँमा छ । पद प्रतिष्ठा नाम आफ्नो ठाउँमा छ । तर, जीवन आफ्नो ठाउँमा । गणेश रसिकले सानैमा आमा गुमाए । बाबुले अर्की आमा ल्याए । तन्नेरी उमेरमै घर छाडे । पछि बाबु पनि विते । भाइबहिनी हुर्काउने जिम्मेवारी उनकै काँधमा आयो । कान्छा भाइले आत्महत्या गरे । माइलो भाइ माओवादी द्वन्द्वमा मारिए । साइँलो भाइ दुर्घटनामा बिते । एक्लो छोरो पनि बित्यो । श्रीमती पनि अस्वस्थ छिन् । उनी दुःखको हलाहल पिएर हाँसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment