Comments Add Comment

तनहुँ हाइड्रोमा एउटै कामका लागि तेस्रोपटक टेन्डर आह्वान

तनहुँ हाइड्रोपावर क्याम्प ।

२० फागुन, काठमाडौं । १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । यसअघिको बोलपत्रमा परेका ४ वटै कम्पनीको प्रस्तावलाई दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले अयोग्य ठहराएको थियो ।

आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले शुक्रबार एउटै कामका लागि तेस्रोपटक ४५ दिनको समय दिएर टेन्डर गरेको कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिए ।

उनका अनुसार दोस्रोपटक दातृ निकाय एसियाली विकास बैँक (एडीबी)को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो । जसमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोङ डा कर्पोरेसन भियतनाम/कालिका कन्ट्रक्सन नेपाल जेभीले प्रस्ताव पेश गरेका थिए ।

आयोजनाले कम्पनीहरुले पेश गरेको प्राविधिक बोलपत्रको मूल्याङ्कन गरेर एडीबीमा प्रतिवेदन पठाएको थियो । तर, एडीबीले कम्पनीको योग्यताको कारण देखाउँदै प्रक्रिया स्थगित गर्न आयोजनालाई भनेको थियो । उसले कम्पनीका सहायक ठेकेदारहरुको योग्यता नपुगेको तर्क गरेको थियो ।

एडीबीको प्राविधिक मूल्याकंनको चक्करमा आयोजना डेढ वर्षपछि धकेलिन पुगेको छ । सन् २०२३ सम्म बनाइसक्ने लक्ष्य रहेको आयोजनामा अब सन् २०२५ को जुनसम्म धकेलिने अवस्था आएको हो

नेपालमा ठूला आयोजनामा काम गरिररहेको सिनो, गेजुवा जस्ता कम्पनीलाई पनि उपठेकेदारको योग्यतामा प्रश्न उठाएर एडीबीले नयाँ टेन्डरमा जान दबाव दिएको थियो ।

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी इटालियन सीएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तर्राष्ट्रिय टेण्डर आव्हान गरेको थियो ।

सुरुमा बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएकोमा बोलपत्र पेश गर्न इच्छुक कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो ।

तर, प्रक्रिया पूरा गरेर कम्पनी छनोटको समयमा एडीबीले प्रस्तावक ४ वटै कम्पनीलाई अयोग्य ठहराएपछि आयोजना फेरि ठेक्का गर्न बाध्य भएको हो ।

एडीबीको प्राविधिक मूल्याकंनको चक्करमा आयोजना डेढ वर्षपछि धकेलिन पुगेको छ । सन् २०२३ सम्म बनाइसक्ने लक्ष्य रहेको आयोजनामा अब सन् २०२५ को जुनसम्म धकेलिने अवस्था आएको हो ।

यो प्याकेजमा छनोट हुने निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नु पर्ने छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एसियाली विकास बैक (एडीबी) र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुने छ ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम गरिरहेको छ ।

सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइन र निर्माण गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाइन, ग्रामीण विद्युतिकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, इआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसका लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment