Comments Add Comment

अमेरिकी चुनाव : को बन्दैछन् ट्रम्पका प्रतिस्पर्धी ?

२० फागुन, काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ३ मा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः रिपब्लिकनका तर्फबाट उम्मेदवारी दाबी गरेका छन् ।

रिपब्लिकन पार्टीभित्र अहिलेसम्म ट्रम्पकै पल्ला भारी देखिएको छ । ७३ वर्षीय ट्रम्पको पहिलो कार्यकालमा उनले धेरै आलोचनाको सामना गरिरहेका छन् । तर, पार्टीभित्र भने उनलाई चुनौती दिन सक्ने अर्को उम्मेदवार देखिएका छैनन् ।

अमेरिकामा राष्ट्रपतिको उम्मेदवार बन्नका लागि सुरुमा आफ्नो पार्टीभित्रै चुनाव जित्नुपर्छ । नेपालमा जस्तो पार्टीले तोकेका भरमा अमेरिकाको राष्ट्रपतिमा उम्मेदवार बन्न पाइँदैन । उम्मेदवार मनोनयनपूर्व ५० वटै राज्यहरुका पार्टी सदस्यहरुबीच चुनाव हुन्छ, जसलाई प्राइमरी इलेक्सन भनिन्छ ।

अहिले रिपब्लिकन र डेमोक्रेटिक दुबै पार्टीभित्र आन्तरिकरुपमा प्राइमरी चुनावहरु भइरहेका छन् ।

डोनाल्ड ट्रम्पको मनोनयन पक्काजस्तै

उम्मेदवार मनोनयनका लागि जारी प्राइमरी चुनावमा डोनाल्ड ट्रम्पले आफ्नो पार्टी रिपब्लिकनभित्र ८६ डेलिगेट्सको मत जितेका छन् ।

रिपब्लिकनका तर्फबाट ट्रम्पको विकल्पमा उम्मेदवार दाबी गरेका ७४ वर्षीय बिल वेल्डले भने अहिलेसम्म एक मत मात्रै पाएका छन् ।

रिपब्लिकनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नका लागि प्राइमरी इलेक्सनमा १२७६ डेलिगेट्सको मत प्राप्त गर्नुपर्ने हुन्छ । यसमा ट्रम्पको मनोनयन पक्का जस्तै देखिएको छ ।

यसपटक ट्रम्पको विकल्पमा रिपब्लिकनका तर्फबाट उम्मेदवारीको दाबी गरेका ७४ वर्षीय बिल वेल्ड सन् २०१६ को निर्वाचनमा उपराष्ट्रपतिका लागि उठेका थिए । तर, सफल हुन सकेनन् ।

वेल्डले राष्ट्रपति ट्रम्पको कार्यकालको आलोचना गर्दै आएका छन् । तर, उनले अहिलेसम्मको मनोनयनमा अत्यन्तै निराशाजनक मत पाएका छन् ।

डेमोक्रेटिकको उम्मेदवार अझै अनिश्चित

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विपक्षी डेमोक्रेटिक पार्टीबाट कसले चुनाबी प्रतिस्पर्धा गर्ला भन्ने अझैसम्म निश्चित भइसकेको छैन । सन् २०१६ को चुनावमा ट्रम्पसँग हिलारी क्लिन्टनले प्रतिस्पर्धा गरेकी थिइन् । तर, यसपालि पुरुष उम्मदेवारले नै ट्रम्पसँग प्रतिस्पर्धा गर्ने पूर्वसंकेत देखिएको छ । तथापि डेमोक्रेटिकमा महिला उम्मेवार नै नभएका चाहिँ होइनन् । राष्ट्रपतिको दौडमा हिन्दु सांसदसहित तीनजना महिलाहरुसमेत छन् ।

विपक्षी डेमोक्रेट्सका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न अझैसम्म पाँचजनाको सम्भावना जीवितै छ । रिपब्लिकनमा भन्दा डेमोक्रेट्समा उम्मेदवारहरुको प्रतिस्पर्धा तीब्र देखिएको छ ।

डेमोक्रेट्सका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना बोकेका डेमोक्रेट्सहरु यस्ता छन्: –

१. बर्नी स्यान्डर्स

अमेरिकाको भर्मन्टबाट अमेरिकाको माथिल्लो सदन सिनेटको सांसद बनेका स्यान्डर्सका लागि राष्ट्रपतिको उम्मेदवारीका लागि यो दोस्रो प्रयास हो । उनले सन् २०१६ मा पनि राष्ट्रपतिको उम्मेदवारीका लागि प्रयास गरेका थिए । तर, उनी पार्टीभित्रै हिलारी क्लिन्टनसँग पराजित भए ।

७८ वर्षीय स्यान्डर्सले यसपटकको निर्वाचनका लागि न्यूनतम तलब प्रतिघण्टा १५ डलर बनाउने र विश्वव्यापी स्वास्थ्य सेवामा सुधार गर्नेजस्ता महत्वपूर्ण योजना अघि सारेका छन् ।

डेमोक्रेटिकतर्फको प्राइमरी इलेक्सनमा १५५ डेलिगेट्सहरुको छनोट सकिँदा स्यान्डर्सले ६० मत पाएका छन् । तर, उनका प्रतिस्पर्धीहरुले उनलाई पछ्याइरहेका छन् । राष्ट्रपति उम्मेदवार चुनिन १९९१ डेलिगेट्सको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

२. जो बाइडन

बाइडन पूर्वराष्ट्रपति बाराक ओबामाको पालामा उपराष्ट्रपति थिए । ७७ वर्षीय उनी अमेरिकामा ४० वर्षदेखि निरन्तर निर्वाचित अधिकारीको रुपमा रहँदै आएका छन् । उनलाई यसपटक डेमोक्रेट्सको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारको प्रमुख दाबेदारको रुपमा हेरिँदै आएको छ ।

यसअघि बाइडन माथि युक्रेनमा अनुसन्धान गर्न दबाव दिएको भन्दै ट्रम्पमाथि महाभियोग दर्ता गरिएको थियो । यसबाट पनि बाइडन आफूमाथि बहालवाला राष्ट्रपतिबाटै अघि बढ्न नदिने षडयन्त्र भइरहेको भन्ने देखाउन उनी सफल भएका थिए ।

३. माइकल ब्लूमवर्ग

ब्लूमवर्गले सन् २००२ देखि २०१३ सम्म न्यूयोर्क सहरको मेयरको रुपमा काम गरेका थिए । उनले गत नोभेम्बरमा मात्र राष्ट्रपतिको उम्मेदवारीको लागि दाबेदारी प्रस्तुत गरेका थिए । ७७ वर्षीय ब्लूमवर्गले फोब्र्सको सूचीअनुसार विश्वको आठौं सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग ५३ अर्ब ४० करोड डलरको सम्पत्ति छ ।

उनले यो मनोनयनमा विजयी हुनका लागि उल्लेख्य रकम खर्च गरेका छन् । उनले ट्रम्पलाई अबको चार वर्ष सुम्पिने हो भने अमेरिका समस्यामा पर्न सक्ने बताउँदै आएका छन् । उनले जलवायु परिवर्तन रोक्न परोपकारी कोष स्थापना र पोस्तोलको हिंसाविरुद्धमा वकालत गर्दै आएका छन् ।

४. एलिजावेथ वारेन

७० वर्षीया वारेन सन् २०१३ यता अमेरिकाको सिनेटरको रुपमा रहँदै आएकी छिन् । उनले प्रतिष्ठित हावार्ड विश्वविद्यालयमा प्रोफेसरको रुपमा पनि काम गरिसकेकी छिन् । उनले भ्रष्टाचारविरोधी मुद्दा अघि सारेकी छिन् । साथै अमेरिकालाई ठूलो संरचनात्मक परिवर्तन आवश्यक रहेको बताउँदै आएकी छिन् ।

५. तुलसी गावार्ड

तुलसी गावार्ड अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी पहिलो हिन्दु सांसद हुन् । उनले युद्धविरोधी मुद्दा अघि सारेकी छिन् । ३८ वर्षीय गावार्ड सबैभन्दा युवा उम्मेदवारको दाबेदार हुन् । उनी २१ वर्षको उमेरमा नै हाउस अफ रिप्रिजिन्टेटिभ्सको सदस्य बनेकी थिइन् । यससँगै उनले सबैभन्दा कम उमेरमा तल्लो सदनको उम्मेदवार बन्ने कीर्तिमान राखेकी थिइन् ।

( विभिन्न विदेशी सञ्चार माध्यमको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment