Comments Add Comment

हङकङको लगातार दोस्रो जित

काठमाडौ । हङकङले घरेलु टोली थाइल्याण्डलाई पराजित गर्दै एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मंगलबार भएको खेलमा हङकङले थाइल्याण्डलाई ८ विकेटले पराजित गरेको हो ।

थाइल्याण्डले दिएको ७८ रनको सामान्य लक्ष्य हङकङले ७.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो । हङकङका लागि ओपनर निजाकट खानले सर्वाधिक ३६ रन बनाए । यस्तै किन्चित साहले अविजित १९ रन जवडे भने जेम्स एटकिन्सन ११ रनमा अविजित रहे ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर ७७ रन बनाएको थियो । थाइल्याण्डका लागि जिउल हकले २३ र डानिल जाकोब्सले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । हङकङका किन्चित साह, अफ्ताब हुसेन र इशान खानले २र२ विकेट लिए ।

लगातार दोस्रो जितपछि हङकङले २ खेलबाट ४ अंक जोडेको छ । मंगलवारै मलेसियामाथि १२८ रनको पराकिलो जित हासिल गरेको सिंगापुरले पनि २ खेलबाट ४ अंक जोडेको छ । ३ खेल खेलिसकेको मलेसियाको पनि ४ अंक नै छ ।

लगातार तेस्रो हारपछि थाइल्याण्ड शीर्ष दुईको होडबाट बाहिरिसकेको छ । यस्तै उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाल पनि लगातार दुई खेल हारेपछि उपाधि होडबाट बाहिरिएको छ ।

अब उपाधि होडमा ३ टिम छन् । नेपालको भने शीर्ष दुईमा रहँदै एसिया कप क्वालिफायरमा पुग्ने झिनो आशा बाँकी छ । तर त्यसका लागि अब बाँकी ४ वटै खेलको नतिजा नेपालको पक्षमा आउनुपर्नेछ । दुई खेल नेपालले जित्नैपर्नेछ भने अन्य दुई खेलको नतिजा पनि नेपालको अनुकुल आउनुपर्नेछ ।

पाँच टिम सहभागी इस्टर्न रिजनबाट राउण्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टिम एसिया कप क्वालिफायरमा पुग्नेछ । उपाधि जित्दै एसिया कप क्वालिफायरमा पुग्ने लक्ष्य बनाएपनि नेपालले सुरुवाती दुई खेलमा हार बेहोर्दा सुरुमै झड्का लागेको हो ।

नेपालले बुधबार थाइल्याण्डसँग आफ्नो तेस्रो खेल खेल्दैछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउन बाँकी दुई खेल फराकिलो अन्तरले जित्नुपर्नेछ । यस्तै हङकङले पनि बाँकी दुई खेलमा सिंगापुर र मलेसियालाई फराकिलो अन्तरले हराउनुपर्नेछ । यस्तो भएमा हङकङ ८ अंकसहित शीर्ष स्थानमा हुनेछ । नेपाल, सिंगापुर र मलेसियाको समान ४ अंक हुनेछ । यस्तोमा दोस्रो हुने टिमको निर्णय रनरेटबाट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment