
मानिसको शरीर वातावरणीय असरको कारण शुद्ध छैन । हामीले फेर्ने हावा, हामीले प्रयोग गर्ने सफाईको सामग्री, खानेपानी, खाना सबै स्वस्थकर छैनन् । त्यसका साथै हामीले लिने अनावश्यक तनावले पनि हामीमा मानसिक दबाब बढाएको छ । यी सबै कुराहरु हाम्रो शरीरभरी फैलिएर बसेका छन् । यसबाट विभिन्न किसिमको रोगले सजिले आक्रमण गर्न सक्ने जोखिम बढाउँछ ।
हाम्रो शरीरको प्रणालीलाई चुस्त बनाउन यस्ता खराब तत्वलाई हटाउन जरुरी छ । यस्ता तत्वलाई शरीरबाट प्राकृतिक रुपमा हटाई शरीर शुद्धीकरण पनि गर्न सकिन्छ । तपाईंले कहिलेकाहीँ थकाई वा कमजोर महसुस गरिरहनु भएको छ भने त्यसको अर्थ तपाईंको लागि कफी वा चिया चाहियो कि भन्ने होइन । यो त तपाईंको शरीरलाई शुद्धीकरण गर्ने एक मौका हो । प्राकृतिक रुपमा कसरी राख्ने शरीरको शुद्धीकरण ?
१. सुख्खा ब्रशले सफा गर्नु
शरीरमा रहेको खराब तत्वलाई हटाउने एक उपाय सुख्खा ब्रशले शरीर सफा गर्नु पनि हो । यसरी सुख्खा ब्रशले शरीर सफा गर्दा हाम्रो बाहिरी छालामा रहेका मृत कोष हट्न सक्छन् । यसबाट छालामा रहेको साना प्वालहरु खुल्छन् र यहाँबाट भित्रको हानिकारक तत्वहरु बाहिर आउन सहयोग पुग्छ । साथै यसो गर्नाले शरीरमा राम्रो मसाज पनि हुन्छ । यसले रक्तसञ्चार प्रक्रिया पनि राम्रो बनाउन सहयोग गर्छ । साथै शरीरमा पनि प्राकृतिक तेल लगाउनु राम्रो हुन्छ । अन्य रासायनिक उत्पादनले पनि शरीरलाई राम्रो प्रभाव पार्दैन ।
फाइदा
– सजिलो र छिटो तरिका
– बाह्य र आन्तरिक फोहोर सफा गर्न सहयोगी
– धेरै सामग्री आवश्यक नहुने
२. पर्याप्त निद्रा
संसारमा करिब ४० प्रतिशत मानिसमा पर्याप्त निद्रा नपुगेको एक अध्ययनले देखाएको छ र मानिसलाई पर्याप्त निद्राको लागि ७ देखि ९ घण्टासम्म सुत्नुपर्छ । जर्नल साइन्समा प्रकाशित एक प्रतिवेदनका अनुसार पर्याप्त निद्राले दिमागमा रहेको कोषको दूरी बढाउँछ । जसबाट मानिस बिउँझेको समयमा नचाहिने फोहोरहरु त्यहाँबाट बाहिरि निस्किन सहयोग पुग्छ । यस किसिमका फोहोरले अल्जाइमर्सजस्ता न्यूरोसम्बन्धी रोग निम्त्याउन सक्छ ।
फाइदा
– अल्जाइमर्स हुनबाट बचाउँछ
–दिमाग तीक्ष्ण बनाउन सहयोग गर्छ
३. समस्या बढाउने खाना नखाने
मानिसको शरीरलाई सबै खानेकुराले फाइदा पुर्याउँदैनन् । केही खानेकुुरा आफैंमा पनि समस्या बोक्ने किसिमका हुन्छन् । यस्तो खानाबाट टाढै रहने प्रयास गर्नुपर्छ । यस्तोमा कुन खानेकुरा नखाने भन्ने कुराको अन्योल भएको खण्डमा डक्टरको सल्लाह पनि लिन सकिन्छ । सामान्यतया आफ्नो स्वस्थ खानेकुरामा भटमास, मकै, अण्डा, चिनी र अल्कोहलजस्ता खानेकुरा हटाउनु राम्रो मानिन्छ । यसरी आफ्नो खानामा यी खानेकुरा हटाउँदा मानिसलाई के कुराले आफूमा नकारात्मक असर पारिरहेको छ भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ।
फाइदा
– आफ्नो शरीरको नकारात्मक असरको कारण पत्ता लगाउन सकिन्छ
– शरीरमा लाग्नसक्ने अन्य धेरै रोगबाट मुक्ति पाउन सकिन्छ
४. कपिङ
यो एक परम्परागत चिनियाँ थेरापी विधि हो । यसमा मानिसको शरीरको बाहिरी छालामा साना कपहरु राखिन्छन् । यी कपले भित्रबाट बाहिरपट्टि दबाब दिएर भित्रको फोहोर बाहिर ल्याउन सहयोग पुर्याउँछ । यसले दबिएर बसेका नशाहरुलाई पनि माथि उठाउँछ । यसले छाला र मांशपेशीको रक्तसञ्चार पनि राम्रो हुन्छ । सन् २०१६ को रियो ओलम्पिकमा अमेरिकी पौडीका खेलाडी माइकल फेल्प्सले यो थेरापिको प्रयोग गरेको खुलेको थियो । त्यसयता यो विधि पनि निकै लोकप्रिय बनेको छ ।
फाइदा
– यसले मांसपेशीलाई खुकुलो बनाउँछ र मांसपेशीको दुखाई पनि कम गर्छ ।
– पाचन प्रणालीमा सुधार
– रक्तसञ्चारमा सुधार
५. योगाको अभ्यास
नियमित योगाले मानिसको जीवनमा धेरै सकारात्मक असर पार्छ । योगाले मानिसको रक्तसञ्चार प्रणालीमा राम्रो बनाउँछ । जसले मानिसको शरीरमा रहेको हानिकारक तत्वलाई पचाउनसक्ने क्षमता पनि बढाउँछ । योगाको माध्यमबाट शरीरभित्र रहेको हानिकारक तत्वलाई बाहिर निकाल्न पनि सहयोग पुर्याउँछ ।
फाइदा
– दिमाग र शरीरमा सकारात्मक असर
– यसबाट बहने पसिनाले हानिकारक तत्व बाहिर निकाल्न सहयोग पुग्छ
– यसको अभ्यास जहाँपनि गर्न सकिन्छ
६. पसिना बहाउनु
मानिसको शरीरबाट निस्किने पसिनाले पनि मानिसको शरीरलाई आन्तरिकरुपमा शुद्धीकरणको लागि सहयोग पुर्याउँछ । क्यानडाका शोधकर्ताले सार्वजनिक गरेको एक अनुसन्धानले पनि पसिनाबाट शरीरभित्रको हानिकारक तत्व बाहिर निकाल्न सहयोग पुर्याउने देखाएको थियो ।
७. प्राकृतिक खानेकुरा खानु
बजारमा पाइने जंक फूड, तरकारी, मासु र दुग्ध उत्पादनभन्दा घरमा नै बनाइएको खानेकुरा र तरकारी खाने बानीको विकास गर्नुपर्छ । यसले शरीरमा कम मात्र हानिकारक तत्व प्रवेश हुन्छ । यदि घरमा नै सबै कुरा सम्भव हुँदैन भने कम र बढी रसायन मिसिएको खानेकुरा पहिचान गरी कम रसायन भएको खानेकुरा खानुपर्छ ।
फाइदा
– यसबाट शरीरमा रसायन खपत कम हुन्छ
– रसायन खपत घटेसँगै क्यान्सरको जोखिम घट्नुका साथै गर्भवती महिलामा त्यसको असरले बच्चाको वृद्धि विकासमा पनि असर पार्छ ।
प्रतिक्रिया 4