Comments Add Comment

संकट व्यवस्थापन कसरी गर्ने ?

संकट कहिल्यै सूचना दिएर आउँदैन । २०७२ साल बैसाख १२ गतेको भूकम्प शनिबारको विदामा रमाइरहेका बेला आएको थियो । त्यो डरलाग्दो भूकम्पको पीडा आज हामीले बिर्सिसकेका छाैं । ७.८ रेक्टर स्केलको भूकम्पले हाम्रो जीवनलाई जगैसहित हल्लायो । तर, विस्तारै हामी जम्दै गयाै‌ं ।

त्यसबेलाको हल्ला सम्झँदा आङ सिरिङ्ग हुन्छ । भूकम्प गएको क्षणभरपछि नै समाजमा अब झन ठूलो ९ रेक्टर स्केलको भूकम्प जान्छ रे । बीबीसीले भनेको, सीएनएनले भनेको, अलजजिराले भनेको भन्दै सामाजिक सञ्जालहरु भरिए । फेसबुक, युट्युव, भाइबरमा हल्लाको राज चल्यो । जनतामा त्रासको आँधी चल्यो । सुत्न, बस्न खान नसक्ने अवस्था आयो ।

भूकम्प जाँदाका बखतमा म सूचना विभागमा थिएँ । सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल हुनुहुन्थ्यो । मन्त्रीको पहल र हाम्रो सक्रियतामा हामीले तत्कालै भूकम्पसम्बन्धी घटनाको विवरण, उद्धार, राहतको प्राप्ति र वितरण तथा आपूर्ति व्यवस्थापनका सूचनाहरु सूचना विभागको वेभगेटबाट मात्र सञ्चार माध्यममा जाने प्रवन्ध गर्‍याैं । नियमित रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियाहरुका लागि सूचना प्रवाह भयो । गृह मन्त्रालयले अफवाह फैलाउनेहरुमाथि कारवाही पनि गर्‍याे । संकटको समयमा डरलाग्दा हल्ला फैलाएर रमाउनेहरु किनारा लागे र जनताले राहत महसुस गरे । यसकारण संकट व्यवस्थापन माने सूचना व्यवस्थापन हो ।

संकटले संगठन, सर्वसाधारण र आमजनतालाई नै गम्भीर रूपमा प्रभावित गर्दछ । संकट अकस्मात वा छोटो अन्तरालमा आउने भएकाले त्यसबाट पर्ने नकारात्मक असर डरलाग्दो, अनियन्त्रित र व्यापक हुनसक्छ

सन् २०२० को दशकको शुरु दिनहरुबाट नै चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको त्रासले संसारका प्रत्येक देशमा संकट निम्त्याएको छ । रोगको उपचार छैन । संक्रमणले भीषण रुप लिइसकेको छ । संक्रमणबाट जोगिन नै मान्छेका लागि अहम परीक्षा बनेको छ । डरलाग्दा सूचनाहरु सामाजिक सञ्जालमा भरिएका छन् । आधिकारिक सूचनाहरु कसले दिने अन्योल छ, भाइरसले जनतामा ल्याएको भयको रोकथाम गर्नु राज्य र समाजका लागि चुनौतिपूर्ण बनेको छ । यस किसिमको अप्रत्याशित र अनौठो संकटले अहिले विश्वको औषधी विज्ञानको अनुसन्धानात्मक लगायत आर्थिक, सामाजिक एवं राजनीतिक वातावरणलाई हल्लाएको छ र नेपाल पनि अछुतो रहेको छैन ।

नेपाली बजारमा मास्क, सेनिटाइजर, थर्मामिटर पाउनै मुस्किल छ । विस्तारै खाद्य पदार्थहरु हराउँदै गएका छन् । यस अवस्थामा सरकारले जनतालाई आत्मविश्वास भर्न कोरोनासम्बन्धी तयारीलगायत मनोवैज्ञानिक रुपमा सकारात्मक सूचनाहरु नियमितरुपमा एक दिन बिराएर दिनुपर्छ ।

संकट के हो ?

संकट आकस्मिक अवस्था हो । प्रकृति र प्रविधि सिर्जित, वित्तीय संकट, जातीय घृणा, संगठनात्मक सूचना चोरी वा ह्याक, संगठनहरुको अस्पष्ट जिम्मेवारी वा जिम्मेवारीको बाँडफँडमा दोहोरोपन, कमजोर समन्वय प्रक्रिया, स्रोतको बाँडफाँडमा कमजोरी, कर्मचारीबीच मनोमालिन्यता, सूचना प्रवाहको कमजोरी, प्रविधि पञ्चर हुनु, हुलदङ्गा, आतंककारी आक्रमण, भ्रष्ट्राचार, संगठनले आफूले तिर्नुपर्ने ऋण समयमा भुक्तानी गर्न नसक्नु, अमूक रोगको महामारी, लैगिक हिंसा, युद्ध तथा साना मुद्दाहरुको समयमा नै समाधान नखोजिनु जस्ता कारणहरुले संगठनमा संकट निम्त्याउँछ ।

शासन प्रणालीलाई अस्त–व्यस्त बनाउने, संगठनको कार्यसम्पादन प्रक्रियामा अवरोध पुर्‍याउने, वित्तीय अवस्थालार्ई अस्तव्यस्त बनाउने, संगठनका कर्मचारी तथा सरोकारवालाहरुको रहन–सहन तथा स्वास्थ्यमा अप्ठेरोमा पार्ने अवस्था संकट हो । अकस्मात र आश्चर्यजनकरुपमा आउने र संगठनका कर्मचारी र सरोकारवालाहरुलाई तनावग्रस्त बनाउने स्थिति संकट हो ।

संकटले संगठन, सर्वसाधारण र आमजनतालाई नै गम्भीररुपमा प्रभावित गर्दछ । संकट अकस्मात रुपमा वा छोटो समय अन्तरालमा आउने भएकाले त्यसबाट पर्ने नकारात्मक असर डरलाग्दो, अनियन्त्रित र व्यापक हुन सक्छ । आजको अन्तरजेलित र अन्तरनिर्भर समाजमा संकट बारम्बार आइरहेका हुन्छन् । तीमध्ये कुनै असाध्य हुन्छन् त कुनै सामान्य ।

राज्य वा संगठन वा व्यक्तिको जीवनमा लागि संकट विभिन्नरुपमा आइरहेको हुन्छ । कुनै संकट सजिलै हल गर्न सकिन्छ भने कुनै संकटले ठूलो धनजनको क्षति गर्छ । संकटका बेला छोटो समयमा, सीमित सूचनाका आधारमा तर ठुला ठुला निर्णयहरु लिनुपर्ने बाध्यता सिर्जना भएको हुन्छ । निर्णयगर्दाका बखत संकटको परिणाम सामान्यरुपमा आंकलन गर्न पनि सकिँदैन र संकटले संगठनमा कार्य वातावरणलाई आश्चर्यजनक रुपमा अस्थिर बनाइरहेको हुन्छ ।

संकट व्यवस्थापन

संकट भन्नु नै संगठन वा देशको विद्यमान क्षमताभन्दा बाहिरको परिस्थिति अपर्झट वा अचानक आइपर्नु हो । संकटका कारण र प्रभावहरुको विश्लेषण गर्दै संगठनको स्रोतसाधन, तयारी र नेटवर्कलाई संकट समाधान गर्न परिचालन गर्ने निर्णय गरी कार्यान्वयन गर्नु संकट व्यवस्थापन गर्नु हो ।

संकट व्यवस्थापनका लागि तत्काल उद्धार, राहत, उपचार, प्रभावितहरुको बसोवास र खानपान, सत्यतथ्य सूचना प्रवाह र पीडितका लागि मनोसामाजिक परामर्श जस्ता कार्यहरु सञ्चालन गर्नु नै संकट व्यवस्थापन हो । संकट व्यवस्थापनमा निर्णय लिने समय छोटो हुन्छ । छोटो समयमा स्रोतसाधन र शक्तिको अधिकतम परिचालन गर्नुपर्छ ।

संकट व्यवस्थापन परिस्थितिमा आधारित व्यवस्थापन हो । संकट व्यवस्थापनको आफ्नै एउटा पदसोपान हुन्छ । यसलाई संकंट व्यवस्थापन चक्र पनि भनिन्छ । तयारी, पहिचान गर्ने, निरोध गर्ने, उद्धार गर्ने र अनुगमन गर्ने चक्र रहेको हुन्छ । संकटको व्यवस्थापन गर्न तयारी हालतमा रहनु भनेको स्रोतसाधन, मानवीय शक्ति, सूचना प्रवाह गर्ने संयन्त्र, उद्धार र उपचारको प्रवन्ध, राहत र मनोसामाजिक परामर्शको व्यवस्था र अनुगमनको प्रवन्ध गर्नु हो ।

संकट व्यवस्थापनको चरण

संकटको स्वाभाव र चरित्रको आधारमा एउटा संकटको जोखिम र कारण दुवै थाहा नहुने र अर्को संकटको जोखिम जानकारी हुने, तर त्यसको समय र परिणाम आँकलन गर्न नसकिने हुन्छ । सामान्यतया राज्य वा संगठन वा व्यक्तिले संकटको अपेक्षा गरेको हुँदैन । वर्तमान समयमा हरेक संगठनको व्यवस्थापनले सानातिना समस्याहरु समाधान गर्न भैपरी आउने योजना, जोखिम व्यवस्थापन योजना बनाएर बसेका पनि हुन्छन् । तर, संकट आउँछ विना सूचना । संकट आएको अनुमान गर्दै आफनो संयन्त्र र शक्ति परिचालन गर्नु, सर्वसाधारण जनतालाई सचेत र सावधान बनाउनु तथा सही सूचना सबैभन्दा पहिले प्रवाह गर्नु संकटको पहिचान र निरोध कार्यको चरण हो । संकटबाट प्रभावितको उद्धार, उद्धारपछि उपचार र बसोवास र खानपानको राहत तथा भय तथा पारिवारिक बिछोडका लागि मनोसामाजिक परामर्श दिनु उद्धारको चरण हो । संकट व्यवस्थापनको कार्यमा समन्वय र अनुगमन गर्न केन्द्रदेखि प्रदेश र स्थानीयतहसम्म नै समिति बनाई समितिहरुको परिचालन प्रभावकारीरुपमा गर्नु संकट व्यवस्थापनको अनुगमन चरण हो ।

संकटले व्यक्तिगत र पारिवारिक जीवन, संगठनको इज्जत र अस्थित्व तथा राज्यको राजनीतिक, सामाजिक आर्थिक अवस्थामा अनिश्चितता ल्याउँछ । संकट मानवीय स्वास्थ्य र जीवनका लागि चुनौतिपूर्ण बन्यो भने त्यो सबैभन्दा भयानक हुन्छ । संकटले संगठनको लक्ष्य, क्षमता र अस्तित्वलाई चुनौति दिन्छ । राज्य तथा संगठनको बौद्धिक सक्षमतामाथि प्रश्न खडा गर्छ । राज्य वा संगठनले संकटको व्यवस्थापन राम्रोसँग गर्न सकेन भने जनताको जीवन सबैभन्दा संकटपूर्ण बन्न जान्छ । समाजलाई आतङ्कित बनाउँछ ।

संकटको व्यवस्थापन सहजरुपमा गर्न सकिएन भने मानव जीवनको सुरक्षा महङ्गो पर्दछ । आजको नेटवर्क र स्वतन्त्र समाजमा एक छेउको संकटले अर्को छेउमा बसोवास गर्ने मान्छेलार्ई सहजै प्रभावित गरिरहेको हुन्छ । वस्तु सेवाको उत्पादन र व्यापारमाथिको अन्तराष्ट्रिय अन्तरनिर्भरताले बस्तुसेवाको आपूर्ति व्यवस्थापन गर्न चुनौतिपूर्ण हुन जान्छ । र, राजनीतिक आर्थिक उथल–पुथल हुन सक्छ ।

आजको अनिश्चित वातावरण, द्वन्द्व, नेटवर्क, दुई देशहरुबीचको स्वतन्त्र आवागमन, विचारमा पाईने मतभेद, तथा मान्छेको खानपान र व्यवहारजस्ता कारणहरुले संकट संगठनका लागि एउटा अवश्यंभावी घटना बनेको छ । संकटको समयमा अनिश्चितताको बादल मडारिरहेको हुन्छ । सरकारको तयारी अपूर्ण देखिन्छ । अर्नगल, अफवाह र गैरआधिकारिक, गैरवैज्ञानिक सूचनाहरु प्रवाहित हुन्छन् । सामाजिक सञ्जालको प्रयोग र दुरुपयोगले संकटलाई झनै जटिल बनाएको हुन्छ ।

संकटको कुशल व्यवस्थापन गर्न सकिएन भने यस्ले विकराल रुप लिन्छ र त्यसको व्यवस्थापन गर्न ठुलो प्रयासको खाँचो पर्दछ । जनतालाई आश्वस्त र विश्वस्त तुल्याउने एउटा प्रवल र सशक्त माध्यम नै सूचना प्रवाह हो । अर्नगल सूचनाको साम्राज्य फैलनुपूर्व नै राज्य वा संगठनको आधिकारिक सूचना प्रवाह हुनुपर्छ । संकट व्यवस्थापनमा सूचना प्रवाहको महत्वपूर्ण भूमिका रहने गर्दछ ।

संकट व्यवस्थापनको धार

संकट व्यवस्थापन गर्ने गुरुत्तर दायित्व निजामती सेवा, नेपाली सेना र नेपाल प्रहरीको हो । सार्वजनिक प्रशासनमा संकट व्यवस्थापनमा संकट नपरेसम्म अर्थात संकटले घाँटी अठ्याउन नआएसम्म नतात्ने एउटा धार र अर्को कुनै पनि संकटको व्यवस्थपन गर्न सक्ने आकस्मिक योजना बनाई तयार रहने धार गरी दुई धार रहेको पाइन्छ । संकटले ढोका नढकढक्याएसम्म सुतेर बस्ने कर्मचारीतन्त्र अकर्मकर्मचारीतन्त्र हो भने संकटको सम्भावनालाई स्वीकार गरी तयारी अवस्थामा रहने कर्मचारीतन्त्र कर्मशील कर्मचारीतन्त्र हो ।

निजामती सेवामा संकट नआएसम्म नतात्ने संस्कृतिको विकास भएको छ । समस्या सानो हुँदै समाधान नगर्ने, पन्छाउँदै बस्ने र संगठनका कमजोरीहरु नसच्याउने प्रवृत्ति रहेको छ । राज्य तथा संगठनका संवेदनशील क्षेत्रहरुको वेवास्ता गर्ने प्रवृति छ । कर्मचारीतन्त्रमा क्राइसिस आएपछि मात्रै काम गरेर पद र प्रतिष्ठा जोगाउने बानिपरेको छ । कर्मचारीहरुलाई संकट व्यवस्थापन गर्ने व्यवस्थापकीय तालिम दिएर सक्षम बनाइएको पनि पाइँदैन ।

संकट व्यवस्थापनले संस्थागत मान्यता प्राप्त गरेको छैन । कानूनी संरचना छैन । आवश्यक बजेट पनि विनियोजित हुदैन । तदर्थवादको सिद्धान्त बमोजिम संकट व्यवस्थापनका कामहरु भैरहेका छन् । जसले गर्दा संकट आयो कि सरकारी संयन्त्रको सातो जाने गर्छ । र, जनतालाई अविश्वसनीय वातावरणमा बाँच्नु पर्ने परिस्थिति सिर्जना हुने गरेको देखिन्छ ।

संकटका बेलामा हुने अनियन्त्रित सूचना प्रवाह, राहत समाग्री अव्यवस्थित जम्मा र वितरण, राहतमा जुट्ने गैरसरकारी संघसंस्थाहरुबीच समन्वयको व्यवस्थापन गर्ने सक्षमता पनि देखिँदैन । अनियन्त्रित सूचना प्रवाहले समाजमा भय र असुरक्षा बढाइरहेको हुन्छ ।

कर्मचारीतन्त्र जस्तोसुकै संकट आए पनि अलग रहन सक्दैन । उसको निर्माण नै जनता र सरकारलाई सहयोग गर्न भएको हो । यसकारण सार्वजनिक प्रशासन कर्मचारीतन्त्रलाई संकट व्यवस्थापन गर्न संवेदन, सक्षम र तत्पर बनाई राख्नु तथा सर्पोट संयन्त्र विकास गर्नु आजको खाँचो हो ।

संकटको अनुमान गर्न नसकिने भएको कारण हरेक संकटको व्यवस्थापन गर्न गरिएको तयारी जहिले पनि अपर्याप्त नै रहेको पाइन्छ । संकटले राज्य संयन्त्र वा संगठनात्मक संरचना अर्पझट आउने संकट निवारण गर्न अपर्याप्त भएको जनाउ दिन्छ र परिवर्तन गर्न झक्झक्याउँछ । संकटले नेतृत्वलाई स्मार्ट बनाउँछ वा स्मार्ट नेतृत्वको जन्म दिन्छ । निर्णय क्षमतालाई तिर्खाछ र नेतृत्वले राज्य र जनतालाई संकटबाट पार लगाउँछ । यसकारण संकटको समयमा नेतृत्व भरोशाको खम्बा बनेर संकट मोचन गर्न अटल एवं क्रियाशील बन्नुपर्छ ।

संकट व्यवस्थापनका टिप्सहरु

संकट एउटा हटाएर नहटने परिस्थिति हो । भूकम्प, बाढी पहिरो, हिउँ पहिरो, सुख्खा, रोगव्याधिको महामारी, आगलागि, आतंककारी आक्रमण, साईबर आक्रमण, अपहरण जस्ता अनेकन संकटहरु विना सूचना आउने गर्दछन् । २०७२ को भूकम्प र अहिलेकोे कोरोना यसैका उदाहरण हुन् ।

चीनको वुहानबाट विद्यार्थीको उद्धार गरेपछि सरकार सुत्यो । कोराना संकटको मनोवैज्ञानिक त्रास नेपालसम्म आइपुगेको पत्तो नै भएन । इटालीले लाखौंलाख जनतालाई क्वारेन्टाइनमा बस भनेको छ । हाम्रो देशमा पनि त्यसरी नै बस्नुपर्‍याे भने के गर्ने ? सरकार बेलैमा सचेत बन्नुपर्छ ।

संकट व्यवस्थापनका लागि सक्षमता विकास गर्नु सक्रियता बढाउनु र उत्तरदायी बन्नु राज्य, संगठन र परिवारको धर्म र कर्तव्य हो । संकट व्यवस्थापनका लागि व्यक्ति, समाज, संगठन र राज्य सँधै तयार रहनु पर्दछ । संकट व्यवस्थापनमा राज्य कहीँ कतै चुक्न मिल्दैन । सरकार चुक्यो भने जनताको होस ठेगानमा हुँदैन । संकट व्यवस्थापनका लागि यहाँ केही टिप्स प्रस्तुत गरिएको छ ।

· संकटको समयमा राज्यले जनतालाई जीवनको ग्यारेन्टी प्रदान गर्र्नुपर्छ र जनतालाई मानसिकरुपमा राहत र भरोसा दिन पनि सरकार सक्षम हुनुपर्छ ।
· संकट व्यवस्थापननको लागि संघ, प्रदेश र स्थानीय तह एकजुट भएर संलग्न हुनुपर्दछ । निजामती, सेना, प्रहरी शक्तिको सशक्त परिचालन गर्नुपर्दछ ।
· संकट व्यवस्थापनका लागि तत्काल रियल टाइम रणनीति योजना बनाउनुपर्छ ।
· संकट व्यवस्थापनका लागि संघ प्रदेश र स्थानीय सरकार सबैले आवश्यक र पर्याप्त तयारी गर्नुपर्छ ।
· संकटको समयमा समाजमा व्याप्त अपवाहको व्यवस्थापन गर्दे आधिकारिक सूचना प्रवाहलाई व्यवस्थित गर्नुपर्छ । सूचना संकलन व्यवस्था प्रभावकारी हुनुपर्छ र आधिकारिक सूचना नियमित रुपमा एउटै निकायबाट र सबैभन्दा पहिले प्रवाह गर्नुपर्छ ।
· सूचना प्रवाहमा मिडियासँग सहकार्य गर्नुपर्छ ।
· संकटको व्यवस्थापन गर्न समस्या र कारणलाई अलग गरी कारणको निदान खोज्नुपर्छ ।
· संकटको व्यवस्थापन गर्दा प्राथमिकता निर्धारण, सो अनुसार विकल्पहरुको खोजी र उत्तम विकल्प छनोट तथा परीक्षण गरी समस्या समाधान गर्न कार्यान्वयन गर्दै लैजानुपर्छ ।
· संकट व्यवस्थापन गर्न आवश्यक भौतिक, मानवीय, वित्तीय तथा खाद्य सामाग्री र औखती मूलोको पर्याप्त व्यवस्था गर्नुपर्छ ।
· संकटको व्यवस्थापन गर्न अन्तराष्ट्रिय सहयोग परिचालन एवं राष्ट्रिय संस्थाहरुको सहभागिता सुनिश्चिित गर्नुपर्छ ।
· संकट व्यवस्थापनमा सञ्चालन गरिने उद्धार, राहत उपचार, ओखतिमूलो तथा बसोवास जस्ता विषयहरुमा सरकार, जनता र सामाजिक सामुदायिक संस्थाहरुको सक्रियता, समन्वय र सहयोग परिचालन गर्नुपर्छ ।
· संकटको समयमा खाद्यवस्तुको अनावश्यक स्टोर हुने भएकाले जनतालाई सरकारले सबै अत्यावश्यक वस्तु र सेवा प्रदान गर्छ भन्ने विश्वास दिई ढुक्क रहने वातावरण निर्माण गर्नुुपर्छ ।
· संकटमा जनतालाई सचेतनाका कार्यक्रमहरु प्रवाह गर्नुपर्छ ।
· उद्धार र राहत कार्य लगायत संकट व्यवस्थापनका सबै कार्यमा उच्च तहबाट पर्याप्त समन्वय हुनुपर्छ ।
· संकट व्यवस्थापनका सम्पूर्ण क्रियाकलापहरुको अनुगमनका लागि संघ, प्रदेश र स्थानीय तहमा उच्चस्तरीय संयन्त्र बनाई क्रियाशील राख्नुपर्छ ।
· संकट व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय तह बडासम्म नै स्थायी संस्थागत एवं कानूनी व्यवस्था गर्नुपर्छ ।
संकटका समयमा काठमाडौं भौगोलिक एवं जनघनत्वको दृष्टिले अत्यन्त संवेदनशील छ । काठमाठौंकै लागि सरकारले छुट्टै रणनीति र आपूर्ति व्यवस्था गर्नुपर्ने हुन्छ । २०६२/०६३ आन्दोलनमा सबैतिर हडताल भएपछि काठमाडौंको आपूर्ति व्यवस्था सामान्य बनाउन नेपाली सेनाका ट्रकहरु परिचालन गरिएका थिए । यस हिसाबले मास्क, प्रोटेक्टिभ सुट, औषधीलगायत खाद्यवस्तुको उत्पादन वितरण यथावत चल्दै रहनुपर्छ ।
कोरोनाको सक्रमणबाट जोगिन जोगाउन सरकारको तयारी, उद्धार र राहतका लागि बृहत्तर दृष्टिकोण राखी अप्रत्याशित नकारात्मक परिणाम आउन नदिन बढी नै संवेदनशील र बढी नै जिम्मेवार हुनपर्ने देखिएको छ ।

आगे जो विचार सरकार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment