+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुणस्तरीय स्वास्थ्य सेवा र बिरामीको सुरक्षा

डा. बच्चु कैलाश कैनी डा. बच्चु कैलाश कैनी
२०७६ फागुन २७ गते १०:५५

स्वास्थ्य सेवाको उपयोग नगर्ने को होला र ? जन्मेदेखि मृत्युसम्म हामीले कुनै न कुनै बेला स्वास्थ्य सेवा लिएका हुन्छांै । यस क्रममा सबैले गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा राख्नु स्वाभाविक हो । गुणस्तरीय स्वास्थ्य सेवा लिने र दिने क्रममा सरकार, स्वास्थ्य सेवा प्रदायक संस्था, चिकित्सक वा स्वास्थ्यकर्मी र सेवा लिने र दिने दुबै पक्ष उत्तिकै जिम्मेवार हुनु अति जरुरी हुन्छ ।

गुणस्तरीय स्वास्थ्य सेवा भनेको स्वास्थ्य सेवाग्राही वा बिरामीलाई बिना कुनै हानी नोक्सानी समयमा नै स्तरीय र उचित स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । साथै स्वास्थ्यकर्मीको बोली व्यवहार राम्रो हुनु, दक्ष र योग्य स्वास्थ्यकर्मी हुनु, उचित पूर्वाधार हुनु, आवश्यक उपकरण र औजारहरुको व्यवस्था गर्नु, सफा र स्वच्छ वातावरण हुनु, सचेत सेवाग्राही हुनु आदि पनि गुणस्तरीय स्वास्थ्य सेवाको लागि अति आवश्यक कुरा हुन् ।

स्वास्थ्य सेवामा गुणस्तरको परिभाषा देश, समाज वा स्वास्थ्य सेवा प्रदायक संस्था अनुसार फरक–फरक हुनु हुँदैन । जहाँ, जसले, जस्तो सेवा प्रदान गरे पनि स्वास्थ्य सेवाको सिद्धान्त, मान्यता र उपयोग विश्वव्यापी रुपमा मूलतः एउटै हुन्छ । किनकि स्वास्थ्य सेवा विज्ञान, अनुसन्धान र सर्वव्यापी मान्यतामा आधारित हुन्छ ।

जुनसुकै मुलुक, समाजमा बसे पनि, जस्तो आर्थिक हैसियत भए पनि हरेक व्यक्तिको ज्यान उत्तिकै महत्वपूर्ण हुन्छ । मैले बेलायतमा बसेर जस्तो सेवाको उपभोग गरेको छु वा पाएको छु, सिद्धान्ततः नेपालमा पनि त्यस्तै सेवा पाउनुपर्छ । तर, के यो सम्भव छ ? आवश्यक पूर्वाधार, श्रोत र साधनको व्यवस्था गर्ने, बिरामी र सेवाग्राहीमा जनचेतनाको विकास गर्ने, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई उचित तालिमको व्यवस्था गर्ने आदि जस्ता काम गर्ने हो भने मात्रै यो सम्भव छ ।

मानिसको जीवन अमूल्य हुन्छ । यो अमूल्य जीवनको हेरचाह, रेखदेख र माया गर्ने जिम्मा सबैभन्दा पहिले मानिस वा जिउधनी आफंैको हो । कसैलाई कुनै समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नु, आफ्नो समस्याका बारेमा खुलस्त कुरा गर्नु, चिकित्सक वा स्वास्थ्यकर्मीको राय सल्लाह मान्नु, समयमा नै भने अनुसार औषधीको सेवन गर्नु र आफ्नो स्वास्थ्यको पूरा खेल राख्ने जिम्मा हरेक व्यक्तिको हो ।

स्वास्थ्य सेवामा कुनै कमी कमजोरी देखिएमा राय सल्लाह दिने काम सेवा उपयोग गर्ने बिरामी वा व्यक्ति र हरेक नागरिकको हो भने त्यस्तो राय सल्लाह अनुसार सेवामा सुधार गर्नु सरकार, स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मी वा चिकित्सक सबैको दायित्व हो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न हरेक देशका स्वास्थ्य संस्थाहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।

जस्तै– स्वास्थ्य संस्थाहरुले बिरामीलाई आफ्नो सेवाका बारेमा जानकारी दिन र बिरामीसँग सेवाको समन्वय गर्न बेलायतको ‘एनएचएस’ अर्थात राष्ट्रिय स्वास्थ्य सेवाको हरेक अस्पतालमा ‘प्यासेन्ट अड्भाइस एण्ड लियाजन सर्भिस’ को व्यवस्था कानूनीरुपमा नै गरिएको छ । साथै हरेक अस्पतालमा ‘कम्प्ल्यान्ट डिपार्टमेन्ट’ वा गुनासो बिभाग अनिवार्य रुपमा राखिएको हुन्छ । जसले बिरामी र स्वास्थ्य सेवा उपभोग गर्नेले लिखितरुपमा दिएको उजुरीको उजुरी प्राप्त भएको तीन दिनभित्र उजुरी पाएको लिखित जानकारी र सामान्यतः छ हप्ताभित्र गुनासोको छानविन गरी लिखित रुपमा जानकारी दिनुपर्ने नियम छ ।

त्यस्तै, स्वास्थ्य संस्थामा हुने हरेक प्रतिकुल घटनाको दर्ता गर्ने, छानविन गर्ने, त्यस्ता घटनाबाट पाठ सिक्ने र कुनै कमी कमजोरी पाइएमा सेवामा सुधार गर्न कार्ययोजना बनाई लागुगर्ने गरिन्छ । त्यति मात्रै हैन, त्यस्ता प्रतिकुल घटनामध्ये कुनै किसिमको घटनाले बिरामीलाई मध्यम वा गम्भीर किसिमको हानी गरेको वा ज्यान नै गएको पाइएमा बिरामीसँग लिखितरुपमा माफी माग्ने, स्वास्थ्य संस्थाभित्र छानविन गर्ने समिति बनाउने र अनुसन्धान वा छानविनपछि अन्तिम प्रतिवेदन बिरामी वा उसका आफन्तलाई दिनुपर्ने नियम छ ।

माथि ब्याख्या गरिएको नियमको अर्थ के हो भने गुणस्तरीय स्वास्थ्य सेवाका लागि हरेक स्वास्थ्य सेवा प्रदायक संस्था, चिकित्सक र स्वास्थ्यकर्मीहरु सेवाग्राहीप्रति उत्तरदायी हुनु नितान्त जरुरी छ । अनि हरेक काममा पारदर्शिता हुनुपर्ने, थप ज्ञान लिने वा सिप सिक्ने र सिकाउने प्रवृत्तिलाई प्रश्रय दिनुपर्ने, आफ्नो गल्ती वा कमजोरीलाई आत्मसात गर्दै पाठ सिक्ने र आफ्नो दक्षता अभिवृद्धि गर्न जोड दिनुपर्ने हुन्छ । यो सबैको जिम्मेवार र दायित्व पनि हो ।

स्वास्थ्य संस्था र चिकित्सक वा स्वास्थ्यकर्मीबाट भुलबस गल्ती हुनु स्वभाविक हो । चिकित्सक वा स्वास्थ्यकर्मी पनि मानिस नै हो । उनीहरु जतिसुकै तालिमप्राप्त भए पनि, जतिसुकै योग्य वा दक्ष भए पनि र गल्ती गर्ने कुनै नियत नभए पनि उनीहरुबाट गल्ती हुन जान्छ । तसर्थ, स्वास्थ्य सेवा प्रदायक संस्था, सरकार र चिकित्सक वा स्वास्थ्यकर्मीले त्यस्ता गल्तीबाट पाठ सिकेर भविश्यमा गल्ती नदोहोर्‍याउनु र गल्ती हुने मात्रा कम गर्नु सबैको दायित्व हो ।

मुलुक जस्तोसुकै धनी वा स्वास्थ्य संस्था जस्तोसुकै ठूलो र राम्रो भए पनि मानवीय गल्तिबाट स्वास्थ्य सेवा लिने व्यक्ति वा बिरामीलाई हुने हानी वा क्षति हुन्छ नै । फरक के हो भने कुनै स्वास्थ्य संस्था र मुलुकमा त्यस्ता घटनाहरु कम हुन्छन् भने कुनै स्वास्थ्य संस्था र मुलुकमा अलिकति बढी हुन्छन् ।

बेलायतमा एनएचएस इंग्ल्याण्डले प्रकाशित गरेको तथ्यांक अनुसार अप्रिल २०१८ देखि मार्च २०१९ सम्म इंग्ल्याण्डका अस्पताल र स्वास्थ्य संस्थाहरुमा मात्रै २० लाख ३६ हजार ६८१ बिरामीको सुरक्षासँग सम्बन्धित प्रतिकुल घटनाहरु अर्थात ’पेसेन्ट सेफ्टी इन्सिडेन्ट’ भएको थियो । जसमध्ये ७४ प्रतिशत अर्थात १५ लाख ८ हजार १२४ घटनामा बिरामीलाई कुनै हानी भएको थिएन भने ४ हजार ५६८ जनाको ज्यान गएको थियो । त्यसै गरी एनएचएस ले एक सन् २०१८ मा मात्रै २.४ बिलियन पाउण्ड क्षतिपूर्ती रकम सेवाग्राही र बिरामीलाई तिरेको थियो ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आजकल अस्पताल, चिकित्सक वा स्वास्थ्यकर्मीको लापरवाहीबाट स्वास्थ्य सेवाग्राहीको ज्यान गएको वा कुनै हानी भएको शंका भए तोडफोड गर्ने र हुलदंगा गर्ने प्रवृत्ति हावी भएको छ । त्यस्तो अवस्थामा सबैभन्दा पहिले घटनामा संलग्न नभएको संस्थामा काम गर्ने सम्बन्धित क्षेत्रको विशेषज्ञसहितको समूह बनाएर तत्काल निष्पक्ष छानविन गर्नुपर्छ ।

छानविन समितिको प्रतिवदेन र सिफारिस अनुसार कुनै कमी कमजोरी भएको पाइएमा सिफारिस अनुसार सेवामा आवश्यक सुधार गर्ने, बिरामी वा आफन्तसंग माफ माग्ने, क्षतिपूर्ति दिने र कुनै उपाय नलागेमा घटनाका लागि कानूनी उपाय खोज्नु पर्छ । छानविन समितिको प्रतिवेदन नआउँदÞासम्म बिरामी वा बिरामीको आफन्तले पनि धैर्य गर्नु पर्ने हुन्छ ।

गुणस्तरीय स्वास्थ्य सेवा पाउनु सबै सेवाग्राहीको अधिकार हो भने गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकार, स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्यकर्मी सबैको कर्तब्य हो । स्वास्थ्य सेवा अति सम्वेदनशील सेवा हो ।

तसर्थ, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सबै पक्षले यो समवेदना बुझ्नु र बुझाउनु एकदम जरुरी छ । सबै पक्षको सहकार्यमा मात्रै बिरामी वा स्वास्थ्य सेवाग्राहीको सुरक्षा गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सम्भव छ ।

(डा.कैनी क्विन एलिजावेथ अस्पताल, लण्डनमा वरिष्ठ व्यवस्थापक एवं आर्डेन विश्वविद्यालय, लण्डनमा सह–प्राध्यापकका रुपमा काम गर्छन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?