Comments Add Comment

कैलाली र कञ्चनपुरमा बढ्दै पारिवारिक हत्या

प्रहरी भन्छ– आवेग हो कारक

२९ फागुन, कैलाली । कञ्चनपुरमा बुधबार साँझ आफ्नै बाबुले छोराको हत्या गरे । भीमदत्त नगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुवर्ण चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

परिवारभित्रै भएको यो घटना नौलो भने होइन । यसअघि पनि कञ्चनपुरको भीमदत्त नगरपालिका, ८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरेका थिए । ३७ वर्षीय केशवले ३६ वर्षीया सरस्वतीलाई खेतमा हतियारले हिर्काएर हत्या गरेका हुन् ।

सोही दिन गोदावरी नगरपालिका–१० ओलानीकी २२ वर्षीया लक्ष्मी बडैलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या गरिन् ।

यस्तै घटना कैलालीको भजनीमा पनि भयो । भजनी नगरपालिका–९ भुरुवामा निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरिन् ।

घरभित्रै भइरहेको जघन्य अपराध त्यतिमा मात्रै सीमित रहेन । यी घटना सेलाउन नपाउँदै कैलालीको लम्कीचुहा नगरपालिका ९ प्रतापपुरमा धारिलो हतियार प्रहार गरी इन्द्र चौधरीले आफ्नै श्रीमती गर्भी चौधरीको हत्या गरे ।

कैलालीकै जानकी गाउँपालिका–७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आफूले पनि आत्महत्या गरे ।

केहि समयअघि मात्रै कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयामा ५५ वर्षीय उदे रावतले ७५ वर्षीय बुवा काल्चे रावतलाई धारिलो हतियारले हानेर हत्या गरे ।

यी त प्रतिनिधि घटना मात्रै हुन् । कैलाली र कञ्चनपुरमा पछिल्लो समय एकपछि अर्काे गर्दै घरभित्रै अपराधहरु बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले सामाजिक र घरेलु समस्याका कारण घरभित्रै हुने अपराधमा बढीरहेको बताए ।

‘अपेक्षाहरु बढी हुन्छन् । त्यो पूरा नहुँदा पनि समस्या हुन्छ,’ उनले भने, ‘सामान्य समस्यामै धैर्यता गुमाउँदा र क्षणिक आवेगमा आउँदा यस्ता अपराध हुने गरेको पाइन्छ ।’

कञ्चनपुरमा भइरहेका अधिकांस यस्ता घटनामा मादक पदार्थको असर भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए । ‘मादक पदार्थ सेवनपछि यस्ता अपराध हुने गरेको पाइएको छ,’ उनी भन्छन्, ‘मादक पदार्थ नियन्त्रण गर्न नसक्दा अपराधहरु बढीरहेका छन् ।’

जनचेतनाको कमीले पनि पारिवारीक अपराध बढीरहेको उनी बताउँछन् । ‘पारिवारीक झै–झगडाहरुले पनि पछि ठूलो रुप लिएको पाइएको छ,’ उनी भन्छन्, ‘यसको लागि सबैभन्दा पहिले चेतनाको स्तर वृद्धि गराउन आवश्यक छ ।’

पारिवारिक द्वन्द्व, आर्थिक समस्या र आवेगले यस्ता घटना हुने गरेको जानकारहरूको पनि भनाइ छ ।

बदलिँदो सामाजिक परिस्थिति, बढ्दो सामाजिक सञ्जालको प्रयोग लगायतका सामाजिक साँस्कृतिक र मनोवैज्ञानिक कारणले यस्ता घटना भइरहेको कैलाली बहुमुखी क्याम्पसका मनोविज्ञान विषयका सहप्राध्यापक डाक्टर राजेन्द्र शाहले बताए । उनले भने, ‘परिवर्तनको नाममा पश्चिमा संस्कृतिको अन्धानुकरण र दण्डहीनताले यस्ता घटना बढीरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment