Comments Add Comment
सरकारलाई बैंकर्सको सुझाव :

‘कोरोनाबाट अर्थतन्त्रलाई जोगाउन अर्को कमिटी बनाऔं’

४ चैत, काठमाडौं । कोरोनाकै कारण विश्व अर्थतन्त्रमा यस वर्ष गिरावट आउने पक्का छ । विश्वमा संक्रमण फैलिरहँदा नेपालको पर्यटन व्यवसाय ठप्प प्रायः बनिसकेको छ । नेपाल सरकारले विदेश जानेहरुका लागि श्रम स्वीकृति रोकिदिएको छ । यसबाट अर्थतन्त्रको टेकोको रुपमा रहेको रेमिट्यान्स घट्ने पक्का भएको छ ।

भाइरसको असर बैंकिङ क्षेत्रमा पनि पर्न थालेको छ ।

नेपालमा पनि यो भाइरसको संक्रमण भित्रिए नेपालको बैंकिङ क्षेत्र कस्तो होलान ? संक्रमणबाट जोगिन बैंकहरुको तयारी कस्तो छ ?

यिनै विषयमा हामीले नविल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका पूर्वध्यक्ष अनिलकेसरी शाहलाई सोध्यौं ।

शाहले अहिले नै बैंकलाई यसले असर गरिसकेको नभए पनि अगामी दिनमा बैंकिङ क्षेत्रमा ठूलो असर पर्ने बताए । तर, ग्राहकका सेवामा भने सकेसम्म बैंकहरु खटिरहने उनले बताए ।

प्रस्तुत छ, शाहसँग गरिएको कुराकानीको सम्पादित अंश –

विश्वभर यतिबेला कोरोना भाइरसको त्रास छ, यसले बैंकिङ क्षेत्रलाई कत्तिको असर परेको छ ?

संसारमै अहिले कहिल्यै अनुमान पनि नगरिएको वातावरण आइपरेको छ । कोभिड-१९ भन्ने भाइरसका कारण शारीरिक सन्तुलनमात्रै होइन, आर्थिक सन्तुलन पनि बिगारेको छ । चीनको एउटा सहरबाट सुरु भएको भाइरसले संसारकै मुख्य स्टक मार्केटदेखि लिएर समग्र अर्थतन्त्रलाई उथल-पुथल गरेको छ । हामीले देखेको नेपालको सन्दर्भमा मुख्य व्यापार हो । यसमा असर परिसकेको छ ।

अधिकांश तीनबाट आउने सामाग्रीहरु रोकिएका छन् । जुन व्यापारको आकार छ त्यो घटेको छ । दोस्रो भनेको पयर्यटन हो । आन्तरिक तथा बाहृय पर्यटन दुबै नै ठप्प बनेको छ । अघिल्लो साता लगातार ३ दिन बिदा थियो । शनिबार, महिला दिवस अनि होली । सामान्य समयमा यो ३ दिन बिदा भएको भए नेपालका आन्तरिक पर्यटनका क्षेत्ररहरु भरिभराउ हुने थिए । पोखरा, लुम्बिनी, सौराहा, बर्दियालगायतका ठाउँहरु भरीभराऊ हुने थिए ।

आन्तरिक पर्यटनले यी क्षेत्रहरु भरिभराउ हुने थिए । विदेशी पर्यटकहरु आउन त बन्द नै भइसकेको छ । आन्तरिक पर्यटकहरु पनि अहिले घुम्न निस्केका छैनन् ।

पर्यटन भनेको यस्तो क्षेत्र हो कि यसले होटल क्षेत्रलाई मात्रै असर गर्छ भन्ने हुँदैन । पर्यटन खस्कँदा पोल्टीफार्मको हृयाचरीमा पनि असर परेको छ । स्ट्रबेरी फार्मिङमा पनि असर गरेको छ । तरकारी फार्म, माछा पालन गर्नेदेखि लुगा धुने धोबीसम्मलाई असर परेको छ । अर्को महत्वपूर्ण कुरा, रेमिट्यान्समा असर ठूलो पर्दैछ ।

अहिले नै रेमिट्यान्स आउने क्रम रोकिएको त छैन । तर, हाम्रा श्रम गन्तव्यहरु ठप्प भएका छन् । कतारले रोक्यो, त्यसपछि अन्य देशमा पनि रोकिए । अहिले त हाम्रै सरकारले श्रम स्वीकृति अनिश्चितकालीन रुपमा बन्द गरेको छ । यसले रेमिट्यान्समा भयंकर असर गर्दैछ । अहिले कतारले नेपालीलाई आउन नदिने भनेको छ, भोलि त्यहाँ भएको नेपाली फर्काउनु पर्ने स्थिति पनि सिर्जना हुन सक्छ ।

त्यसपछि त रेमिट्यान्समा ठूलो धक्का लाग्नेछ । कोभिड फेरी भूकम्प जस्तो होइन । भूकम्प त आयो गयो । भूकम्प गइसकेपछि अब बनाऔं भन्न मिल्छ । तराई आन्द्योलनले यस्तेा भयो अव सुधार हुन्छ भने जस्तो अवस्था पनि छैन । अहिलेसम्म त पशुपतिनाथको कृपाले छिमेकी राष्ट्रहरु भन्दा धेरै कम डर छ ।

तर, भोलि संक्रमण फैलिएको अवस्थामा त नेपालले थेग्नै नसक्ने अवस्था आउन सक्छ । यसको अन्त्य कहिले र कसरी हुन्छ भन्ने कुरा कसैले भन्न सक्दैन । हाम्रो अनुमानमा यो आर्थिक वर्षमाआर्थिक प्रगति गाह्रो पर्छ । अब सकारात्मक रुपमा अन्य क्षेत्र जस्तै वित्तीय क्षेत्रमा पनि असर परेको छ ।

अहिले ब्याजको मिनाहा गर्नुपर्छ भन्ने कुरा आइसक्यो । ब्याजको मिनाहामात्रै होइन, सरकारले करको कुरा पनि हेर्नुपर्‍यो । कसरी हुन्छ, प्रोत्साहन कसरी हुन्छ भन्ने कुरा सोच्नुपर्‍यो । कोभिडले मान्छेमात्रै होइन, अर्थतन्त्र नै बिरामी पर्दैछ, यसलाई कसरी स्वस्थ बनाउने भन्ने विषयमा सोच्नुपर्छ ।

अहिले सरकारले कोभिड समस्या समाधानका लागि उच्चस्तरीय समिति बनाएको छ । अर्को कमिटी अर्थतन्त्रलाई पर्ने असर र समाधानका लागि तत्कालै बनाउनुपर्छ । राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एफएनसीसीआई, चेम्बर अफ कमर्श, बैंकर्स संघ लगायतका प्रतिनिधि सम्मिलित कमिटी बन्नुपर्छ ।

अर्थतन्त्रमा लागि महत्वपूर्ण सबै क्षेत्र समेटेर तत्कालै समिति बनाइहाले अर्थतन्त्रलाई रोगी हुन नदिने रोग लागिहाले कसरी स्वस्थ हुने भनेर समाधान गर्न सकिनेछ ।

कोभिड-१९ ले नेपालको बैंकिङ क्षेत्रमा अहिले असर परिसकेको छैन ?

बैंकिङ क्षेत्रमा यसको असर अहिले परिसकेको छैन । हामी ‘सेकेन्डरी इम्प्याक्ट’ भन्छौं । तपाई हाम्रो बैंकमा आउदा माक्स लगाइरहेको देख्नु भयो । स्टाफहरुले स्वास्थका लागि आवश्यक सावधानीहरु अपनाइरहुनुभएको छ । बैंकमा पर्ने मुख्य असर त्यो हो, जब हाम्रा ग्राहकहरुलाई यसको असर पर्छ । अहिले हाम्रा ग्राहकहरु पर्यटन व्यवसायमा हुनुहुन्छ, अन्य धेरै क्षेत्रमा हुनुहुन्छ । यसले नछुने भनेको कुनै पनि क्षेत्र छैन भन्ने लाग्छ ।

मेडिकल क्षेत्रबाहेक अन्य सबै क्षेत्रलाई यसको असर पर्छ । मलाई जहाँसम्म लाग्छ, यो आउने महिनादेखि यसको असर पर्छ । हाम्रो ब्याज पेमेन्ट हुँदैन । किस्ता पेमेन्ट हुँदैन । अनि त्यसपछि चाहिँ यसको ठूलो प्रभाव हामीले पनि देख्न सुरु गर्न सक्छौं ।

नेपालमा यसको संक्रमण नै भित्रिहाल्यो भने, बैंकिङ क्षेत्रलाई त उक्सन मुस्किल पर्ला ?

नेपालमा त्यत्रो ठूलो भूकम्प जाँदा सरकारभन्दा पछि धेरै काम गर्ने भनेको वित्तीय क्षेत्र हो । त्यो हामीले बिर्सन हुँदैन । किनभने, त्यो बेलामा पैसा चाहियो भन्नेलाई बैंकले पैसा दिएकै थिए । पैसा राख्नु भन्नेका बैंकले सुरक्षित राखिदिएका थिए । यसको असर पनि बैंकिङ क्षेत्रमा हुँदैन भन्ने होइन, हुन्छ नै ।

तर, एउटा प्रतिवद्धता के छ भने जे-जस्तो भए पनि हामी सकेसम्म सेवा हामी प्रदान गर्छौं । धेरै समस्या आयो, हामी नेपाली जनतालाई सेवा दिँदैनौं भन्न सक्दैनौं । मेरो पैसा यहाँ राख्न सक्छु अथवा म पैसा झिकेर यो गर्न सक्छु भन्ने ढुक्क भयो भने पीडा पनि हुन्छ । यसका लागि हामी प्रतिवद्ध छौं । हामी वित्तीय सेवामा सकेसम्म सधैं तत्पर रहनेछौं ।

भोलि भाइरसले महामारीकै रुप लिए पनि बैंकिङ क्षेत्रले सेवा दिइरहन सक्ला त ?

अहिले इटलीमा ठूलो संक्रमण फैलिएको छ । सरकारले त्यहाँ आपातकाल नै घोषणा गरिसकेको छ । त्यहाँको सरकारले नै सबै बन्द गर्नु भनेको छ । सरकारले दिएको निर्देशन त सबैले मान्नैपर्छ । वित्तीय क्षेत्रको त्यो अधिकार छैन, ता कि मन लागेकेा बेलामा बन्द गरुन् ।

बिदा पनि हामी नेपाल राष्ट्र बैंकले भनेको दिनमा मात्रै दिन्छौं । बिदाकै दिन बैंक खोल भनेको बेलामा खोल्छौ पनि । भोलि समग्र अवस्था हेरेर सरकारले सबै क्षेत्र बन्द गरौं, बैंक पनि बन्द गरौं भन्यो भने हामीले खोलेर सेवा दिन मिलेन । सरकारले नै भनेको अवस्थामा अलग कुरा भयो, नत्र जहिलेसम्म सक्छौं, हामी सर्वसाधारणको सेवामा खटिरहने छौं ।

बैंकिङ क्षेत्रले यसबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीहरु चाहिँ के-के हुन सक्छन् ?

सर्बप्रथम त, हाम्रो वित्तीय क्षेत्रमा कार्यरत जनशक्ति छ, वहाँहरुलाई सुरक्षित राख्नुपर्छ मान्छे बिरामी भए भने बिल्डिङले सुरक्षा दिँदैन । अहिले हृयाण्ड स्यानेटाइजर, माक्स लगायतका वस्तुहरु सुरक्षाका लागि प्रयोग गर्नु परो । नबिल बैंकमा यो सुरु भइसकेको छ, अन्य सबै बैंकहरुमा पनि यो हुनुपर्छ ।

बैंकमा काम गर्ने मान्छेलाई नै म अफिस गएर रोग्ने हो कि भन्ने डर लाग्यो भने वहाँहरुले सेवा दिन सक्नुहुन्न । वहाँहरुमा म सुरक्षित छु, भन्ने बनाउनुपर्‍यो ।

दोस्रो कुरा, कुन क्षेत्रमा धेरै प्रभाव पर्न सक्छ भन्नेबारे पनि जानकारी राख्नु पर्‍यो । यो हामीले गरिहेका छौं । ग्राहकहरुलाई तपाई कहाँ अप्ठेरो परिरहेको छ, हामीले के मद्दत गर्न सक्छौं भन्ने कुरा हेर्नु पर्‍यो । बैंकर्स संघले पनि कोभिडले के असर गर्छ भनेर छलफल भएको छ । ब्याज मिनाहाभन्दा पनि यसबाट बच्ने ?

कसरी सुरक्षित रहने भन्नेतर्फ शतर्क रहनुपर्‍यो । ब्याज, मिनाहा, कर मिनाहामात्रै भनेर केही हुँदैन । हामी सबैलाई थाहा छ, पाँचतारे होटल यतिधेरै बनिरहेको छ, उनीहरुको हालत के होला ? कर्मचारीहरुलाई तलब खुवाइरहनुपरेको छ, खर्च भइरहेको छ । तर, पर्यटक नआउने हो भने उनीहरु समस्यामा पर्छन् । विदेशी जाने ठमेलको रेस्टुरेन्ट होस् या नेपाली जाने अन्य ठाउँको रेस्टुरेन्ट होस सबै खाली छ ।

वहाँहरुको खर्च ठूलो छ, यो समस्या भूकम्पभन्दा पनि ठूलो छ । तराई आन्दोलनका कारण मुलुकको अर्थतन्त्रमा जति क्षति पुगेको थियो त्यसको १० गुणा बढी अहिले क्षति पुग्दैछ । यसको प्रभाव मैले देखेको यो हो । नेपाली जनताले तराई आन्दोलन हुँदा जसरी नेपाली जनता एकजुट हुनुभयो क्षमता फेरि नेपालीले देखाउनुपर्ने अवस्था आउन सक्छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा नै सम्भावित कोरोना प्रभावित क्षेत्रहरु पहिचान गरी त्यस क्षेत्रमा सहुलियत दिनुपर्ने कुरा उल्लेख गरेको छ, यो आवश्यकता छ र ?

यो आवश्यकता छ । साधारण तरिकारले व्यवापार व्यवसाय व्याज तिर्नुस, साँवा घटाउनुस् भन्दा अप्ठेरो स्थितिमा अलि गाह्रो हुन्छ । एउटा राम्रो फुटबल खेलाडी छ, उ स्ट्राइगर हो । उसको खुट्टा भाँच्चियो भने उसलाई तँ स्ट्राइकर होस् जा गोल हान्, तैंले गोल हान्नैपर्छ भनेर हुन्छ त ? तर, उसको खुट्टालाई राम्ररी ठीक हुन दियो भने पहिलाको भन्दा पनि राम्ररी खेल्न सक्छ ।

हामीमा यस्तै भएको छ । कसरी मजवुत बनाउने भन्ने कुरामा हामी सबैलाग्नुपर्छ । मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षामा राष्ट्र बैंकले बोलेको कुरा एकदमै ठीक छ । आउने दिनमा बोलेको कुराको कार्यान्वयन पनि हुनुपर्छ भन्ने लाग्छ ।

नबिल बैंककै कुरा गरौं, कोभिड-१९ बाट बच्न कस्ता सावधानी अपनाइहनुभएको छ ?

हामीले आवश्यक सतर्कता अपनाउन सुरु गरिसकेका छौं । कर्मचारीहरुलाई माक्स अनिवार्य गरिएको छ । सबै शाखाहरुमा हामीले हृयाण्ड स्यानिटाइजर पठाइसकेका छौं । हामी क्रमिकरुपमा थप सुरक्षा सतर्कता अपनाउँदै जाने छौं ।

एकचोटि सबै गर्नेभन्दा पनि हामी स्टेपबाइ स्टेप कसरी हुन्छ सतर्कता अपनाउने नीति लिएका छौं । अहिले अन्य देशहरुमा जस्तो नेपामालमा असर छैन । हामीले स्टाफहरु सुरक्षित हुनुहोस् भन्ने चाहेका छौं । हाम्रोमा आउनुहुने ग्राहकहरु पनि यहाँ सुरक्षित छ भन्ने महशुस गर्न सक्नुहोस् भन्ने हामीले चाहेका छौं । हामीले आन्तरिक तथा बाहृय भ्रमणहरु रोक लगाइसकेका छौं । ठूलो बैठक पनि हामी नगर्ने भनिसकेका छौं ।

बैंकका स्टाफ त सुरक्षित हुनु भयो, बाहिरबाट आएका ग्राहकहरुबाट कसरी सुरक्षित हुने भन्ने सावधानी पनि त आवश्यक पर्ला नि ?

हामीले सतर्कताको दोस्रो स्टेपमा त्यो पनि सोचेका छौं । हामी आगामी साताबाट बैंकमा आउनुभएका ग्राहकरुलाई पनि सुरक्षित हुनुहुन्छ, हुनुहुन्न भन्ने कुरा ख्याल गछार्छौं । बाहिर तापक्रम नाप्ने काम पनि हामी गर्नेछौं ।

हाम्रो स्टाफ त ल सुरक्षित हुनुहुन्छ, अरु ग्राहकलाई सर्ला कि भनेर एकपटक कर्मचारी तथा ग्राहक सबैलाई एक-पटक ढोकामै स्क्रिनिङ गर्ने, जो बिरामी भेटिनुहुन्छ, वहाँलाई सेल्फ क्वारेनटाइनमा बस्न सुझाव दिनेछौं ।

बैंकको वित्तीय अवस्था कस्तो छ ?

हाम्रो बैंकमात्रै होइन, सबै बैंकहरुको वित्तीय अवस्था चालु आर्थिक वर्षको ६ महिनासम्म नाजुक नै थियो । सातौं महिनासम्म आइपुगदा धेरै राम्रो भएको छ । यो वर्षमा मात्रै हामीले ४० वटा शाखा कार्यालयहरु खोलेका छौं । यसले राम्रो कारोबार गर्न केही समय लाग्छ ।

अन्य बैंक तथा वित्तीय संस्थाहरुले मर्जर/एक्विजिशनबाट ग्रोथ गरे भने हामीले अर्गानिक ग्रोथ गरिरहेका छौं । हामीले पहिले देखि यसमा ध्यान दिइरहेका छौं । हामीले लगानीका लागि नयाँ क्षेत्रहरु पनि खोजिरहेका छौं । हाम्रो वित्तीय अवस्था मजबुत छ, थप मजबुत बनाउने योजनमा हामी छौं ।

धेरै सूचकहरुले नविल बैंक सधैं पहिलो नम्बरमा नै देखिन्छ, तर पछिल्लो समय अन्य बैंकहरुले प्रतिष्पर्धामा उछिन्लान् कि जस्तो देखिएको छ । के नविल बैंकको साख गुम्ने देखिएको हो ?

दुईवटा ठूलो वाणिज्य बैंकहरु मर्ज भए । मर्ज भएपछि उनीहरुको शाखा सञ्जाल, निक्षेप, कर्जा सबै हाम्रोभन्दा बढी भयो । वहाँहरुले नाफामा पनि हामीजस्तै कमाउनुभएको छ । तर, लगानीकर्ताले प्रतिफल कति पाए त ? जस्तै- मैले १८ अर्ब लगानी गरेको छु, उसले ८ अर्ब रुपैयाँ लगानी गरेको छ । १८ अर्ब गर्नेले ६ अर्ब कमायो अनि ८ अर्ब लगानी गर्नेले ५ अर्ब कमायो । अब भन्नुस् को नम्बर वान ? यहीँ नै हो ।

अर्को कुरा, कुनै पनि सरकारी बैंकसँग प्रतिष्पर्धा गर्न सजिलो छैन । अर्बौं रकम ब्याज नतिर्नुपर्ने गरी आइराख्ने भए मेरो पनि ब्यालेन्ससिट अर्कै हुने थियो । सरकारी बैंकको दायित्व अर्कै छ । वहाँहरुले सेवा पनि अर्कै किसिमले गरिरहनुभएको छ । वहाँहरुको राम्रोमात्रै होइन, नराम्रो पनि धेरै छ । नेपालको मात्रै होइन, अन्य देशको पनि सरकारी बैंक त्यस्तै हो ।

इन्डियाको बैंक अफ इन्डियासँग कसले प्रतिस्पर्धा गर्ने ? निजी क्षेत्रका बैंकहरुसँग त हामी प्रतिस्पर्धामा सधैं छौं । नम्बर वान केमा हुने भन्ने कुरा महत्वपूर्ण हो । मेरो टिमको लक्ष्य काम बढी गर्नुपर्छ र काम बढी गरेपछि प्रतिफल पनि राम्रो आउनुपर्छ भन्ने हो । लगानीकर्ताहरुले राम्रो प्रतिफल खोज्नुहुन्छ, त्यो हामीले दिएका छौं ।

हामी पनि मर्जर एक्विजिशनका लागि सकारात्मक छौं । क वर्गको राम्रो बैंक पाएको खण्डमा हामी मर्जर एक्विजिशनमा जान्छौं । गर्नका लागिमात्रै होइन, गरिसकेपछि त्यसले राम्रो प्रतिफल पनि आउनुपर्छ ।

नविल बैंकको सफ्टवेयरले नियम विपरीत पैसा खाताबाट काट्यो भनेर एकजना तपाईंहरुकै ग्राहकले गुनासो गर्दै हिँड्नुभएको रहेछ नि ?

हाम्रो सफ्टवेयर केही पनि परिवर्तन भएको छैन । नाफाभन्दा पनि हाम्रो कम्प्लायन्स महत्वपूर्ण कुरा हो । हामी ग्राहकको विश्वास गुम्न दिँदैनौं । तर, अहिले तपाईंले कुरा गर्नुभएको एकजना ग्राहक जो अटो लोनको हुनुहुन्छ । हामी राष्ट्र बैंकको नीतिमा पूर्ण प्रतिवद्ध छौं । हाम्रो सफ्टवेयरले जे गर्छ, त्यो रेगुलेशनबाटै गर्छ ।

यो ग्राहकको फाइदाकै लागि हुन्छ । यो कुरा कसरी उठ्यो भन्ने कुरा पनि बुझ्नुपर्‍यो । कुनै एक व्यक्तिले कर्जा लिएर तिरेन । कर्जा लिएर नतिरेपछि एक्शन त बैंकले लिनैपर्‍यो । किनभने, यो मेरो पैसा होइन, सर्वसाधारणको पैसा हो । कर्जा नतिरेपछि लिएको गाडी बेच्नुस, अथावा हामी बेच्छौं यस्ता कुरा भए होलान् । यो कुराको शुरुआत ऋण नतिरे भएको हो । ऋण तिर्ने मान्छेले यो कुराको शुरुआत गरेको होइन ।

जसले ऋण तिरेन अनि उसैले यो कुरा उठाउनुभयो । ऋण नतिरेपछि बैंकले रिकभरी गर्ला कि भनेर यस्तो कुरा उठाएको हो । हाम्रो लाखौं ऋणी हुनुहुन्छ, वहाँहरुले यस्तो कुरा गर्नुभएको छैन । ऋण राम्ररी तिरिरहेको मान्छेले यस्तो कुरा गर्नुपर्ने हो त हाम्रो गल्ती भएको भए । जसको इज्जतमा धेरै गर्व छ, उसलाई इज्जतमा प्रश्न उठाउँदा दुःख लागिहाल्छ ।

यो कुराले हामीलाई दुःख लागेको छ । तर हामी ढुक्क छौं, हाम्रोमा त्यस्तो समस्या केही छैन । हाम्रो बोर्डमा पनि यो विषयमा छलफल भयो । हामी हाम्रो नियमनकारी निकायमा कुरा गर्छौं । सञ्चार माध्यममा आएको कुरा भएकाले हामी यो विषयमा प्रेस काउन्सिलमा पनि निवेदन हाल्छौं । सत्य रहेछ भने त हामीले दण्ड भोग्न तयार छौं । तर, असत्य कुराले संस्थाको इज्जतमाथि प्रश्न उठाउनु राम्रो होइन ।

ग्राहकहरुले नै बैंकले दुःख दियो भन्ने किसिमका विषय उठान गरेको पाइन्छ, यहाँ बैंकले नै बुझाउन नसकेको हो कि ?

कर्जा लिएपछि धेरै मान्छेहरुले नियमित नै तिर्नु हुन्छ । नियमित तिर्दा तिर्दै पनि केही मान्छेहरुले कहिले काहीँ तिर्न सक्नुहुन्न र वहाँहरुले म बिरामी परे वा अन्य कारणले तिर्न थोरै ढिला भयो भन्नुहुन्छ । मलाई समस्या परो, म चाँडै तिर्छु भन्नेका लागि बैंकले पनि अप्ठेरोमा पार्दैन । तर, केही ग्राहक यस्ता पनि हुन सक्छन् । पैसा छ तर म तिर्दिनँ, लु के गर्छस् गर भन्नेखालका पनि हुन्छ ।

सर्वसाधारणको निक्षेप लिएर बैंकले लगानी गरेको हुन्छ । ऋण दिएपछि ऋण उठाउनु त पर्‍यो । मोटर किन्नुभएको छ, ऋण तिर्न सक्नु भएन भने हामी मोटर बेच्नुस् भन्छौं । नभए लिलामाीमार्फत हामी बेचिदिन्छौं । पैसा भएर पनि तिर्न नचाहनेहरुले भने अर्को बाटो खोज्नु हुन्छ । सुतेको मान्छेलाई उठाउन सजिलो हुन्छ । तर, सुतेजस्तो गरेको मान्छेलाई उठाउन धेरै गाह्रो हुन्छ । यहाँ भएको पनि त्यही हो ।

ग्राहकलाई असन्तुष्ट बनाएर बैंक अघि बढ्न सक्दैन । हामीसँग ३५ वर्ष अघिदेखिकै ग्राहक अहिलेसम्म पनि निरन्तर हुनुहुन्छ । हाम्रो मनस्थिति ठग्ने भएको भए, स्थापनाकालदेखिका हजारौं ग्राहकहरु अहिलेसम्म हामीसँगै रहनुहुने थिएन । अघिको विषयमा सत्य-तथ्यमा पुग्न चाहान्छौं । जसले कम्प्लेन गर्नुभयो, वहाँहरु पनि अगाडि आउनु पर्‍यो । हाम्रो अगाडि नआए पनि राष्ट्र बैंकको अगाडि जानुपर्‍यो ।

कसरी बैंकले ठग्यो भन्ने कुरा भन्नुपर्‍यो । यहाँ लोन तिरेको छ कि छैन भन्ने कुरा पनि होला । मैले लोन त तिरेको छैन । तर, पनि बैंकले ठग्यो ? लोन तिर्ने इच्छा छ कि छैन भन्ने कुरामा पनि त्यो त म तिर्ने इच्छा छैन भन्ने होला ।

हामीकहाँ अन्य बैंकका धेरै ग्राहकहरु पनि आउनुभएको छ । तपाईंहरुको ब्याज पनि तलमाथि हुँदैन रहेछ भन्नुहुन्छ । तपाईंहरुको शुल्क पनि धेरै रहेन छ भन्नुहुन्छ । हामी पारदर्शी र ग्राहकमुखी सेवा दिन प्रतिवद्ध छौं ।

यो पनि पढ्नुहोस कोरोनाको बहुआयामिक असर : बिरामी पर्‍यो नेपाली अर्थतन्त्र पनि यो पनि पढ्नुहोस आर्थिक वृद्धिको लक्ष्यमा कोरोना भाइरस बाधक यो पनि पढ्नुहोस ठूला विकास आयोजनालाई कोरोनाले पिरोल्यो यो पनि पढ्नुहोस अर्थतन्त्रमा कोरोना भाइरसको कहर यो पनि पढ्नुहोस पर्यटन क्षेत्रलाई जोगाउन अब यसो गरौं सरकार ! यो पनि पढ्नुहोस ‘ग्यास चामलको चिन्ता नगर्नोस्, जिम्मा मेरो हो !’ यो पनि पढ्नुहोस कोरोनाविरुद्ध लड्न कुन देशले ल्याए कस्तो आर्थिक प्याकेज ? यो पनि पढ्नुहोस नेपाली विकास आयोजनामा कोरोना भाइरसको धक्का ! यो पनि पढ्नुहोस हजार मेगावाट थप्ने लक्ष्य, तर ३०० पुर्‍याउन मुस्किल यो पनि पढ्नुहोस वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक यो पनि पढ्नुहोस कोरिया, मलेसिया र खाडीमा कोरोना भित्रिँदा नेपालमा चिन्ता यो पनि पढ्नुहोस कोरोना कहर : अब गाउँ फर्कौं, कृषिलाई प्राथमिकता दिऔं यो पनि पढ्नुहोस ‘कोरोना भाइरस महामारी बनेमा बीमा कम्पनी डुब्न सक्छन्’ यो पनि पढ्नुहोस कोरोनाको प्रभावले नेपालसहित विश्वभरकै सेयर बजार ओरालो यो पनि पढ्नुहोस रेमिट्यान्समा कोरोनाको जोखिम : सरकारको कमजोर तयारी यो पनि पढ्नुहोस संकटको भूमरीमा न्यूरोडका व्यापारी यो पनि पढ्नुहोस नेपाल–चीनबीच अघोषित नाकाबन्दी, व्यवसायी भन्छन्– फस्दैछौं यो पनि पढ्नुहोस कोरोनाको असर : विश्व पर्यटनमा ५० अर्ब डलरबराबरको नोक्सानी यो पनि पढ्नुहोस कोरोनाले सौराहाका होटलहरु संकटमा, कर्मचारीलाई धमाधम छुट्टी यो पनि पढ्नुहोस मानसरोबर खुल्ने–नखुल्ने अन्योल, हवाई र टुर व्यवसायी मारमा यो पनि पढ्नुहोस कोरोना प्रभावित देशको उडान किन रोकेन सरकारले ? यो पनि पढ्नुहोस एयरलाइन्सहरुले भने-यात्रु घटे, अब जहाज ग्राउन्डेड गर्छौं यो पनि पढ्नुहोस खर्च घटाउन उपाय खोज्दै होटल, कर्मचारीलाई दिन थालियो विदा यो पनि पढ्नुहोस भुइँचालो बिर्साउने सुनसान ठमेल ! यो पनि पढ्नुहोस कोरोनाको कहर : नेपालीका श्रम गन्तव्य नै संकटापन्न यो पनि पढ्नुहोस कोरोना भाइरसले विश्वको व्यापार, यात्रा र काममा कसरी ल्याउँदैछ परिवर्तन ? यो पनि पढ्नुहोस मास्कको माग बढ्यो, उद्योग बन्द हुन थाले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment