Comments Add Comment

फेसबुक स्टाटसको मद्दतमा खेलकुदमा ‘कमब्याक’ गरेकी सकुन्तला

२ चैत, काठमाडौं  । खेल पदाधिकारीले दश किलोमिटर दौडका लागि मैदानमा प्रवेश गर्न महिला खेलाडीको नाम माइकबाट फुके । खेलाडी तम्तयार भएर मैदानमा उत्रिए । त्यहीबीच एउटी फुच्ची पनि मैदान प्रवेश गरिन् । त्यहाँ सबैका आँखा ति फुच्चीको खुटटातर्फ सोझिए । उनी दौडका लागि नाङ्गो खुटटामा आएकी थिइन् ।

कारण उनीसित जुत्ता थिएन । यो सबै कुरा नजिकबाट नियालिरहेका थिए कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले । दौड सुरु भयो । नाङ्गै खुटटाको भरमा दगुरेकी ती नानी तेस्रो भइन् । उनीभन्दा अब्बल प्रहरी र सेनाकी खेलाडी मात्र निस्के । बैकुण्ठले उनलाई पिठ्युमा धाप मार्दै बधाइ दिए ।

विसं २०६८ फागुन तेस्रो साता सुदूरपश्चिमको धनगढीस्थित रङ्गशालाको दृश्य थियो त्यो । छैटौं राष्टिय खृलकूद प्रतियोगिता चलिरहेको थियो । ती फुच्ची थिइन दार्चुलाकी सकुन्तला ठगुन्ना । त्यतिबेला छ कक्षामा पढ्दै गरेकी उनको उमेर मात्र १२ वर्षको थियो । सो प्रतियोगितामा पदक जित्ने उनी देशकै कान्छी खेलाडी बनिन् ।

सकुन्तलाको रहर भलिबल खेलाडी बन्ने थियो । गाउँमा सहजै खेल्न सकिने भलिबल । खासै लगानी पनि नचाहिने । त्यसैले तीन कक्षा पढ्दादेखि नै उनले भलिबल खेल्न थालिन् । त्यो पनि पुरुष खेलाडीको टोलीमा संलग्न भएर । किनभने महिला मात्र खेल्न खेलाडी जुटाउन मुश्किल पर्थ्यो ।

विसं २०६८ मा पहिलो पटक सकुन्तलाले जिल्ला स्तरीय प्रतियोगितामा भाग लिइन् । भलिबल खेल्न दार्चुला सदरमुकाम खलंगा झरेकी उनलाई १५ सय मिटर र तीन किलोमिटर दौडमा समेत सामेल गराइयो । ख्याल ख्यालमै दगुरेकी उनी १५ सय मिटर दौडमा पहिलो तथा तीन किलोमिटरमा दोस्रो भइन् । त्यसपछि उनको ध्यान एथलेटिक्सतर्फ मोडियो ।

त्यही वर्ष क्षेत्रीय प्रतियोगितामा पनि सकुन्तलाले नौ जिल्लाका खेलाडीलाई उछिन्दै छैटौं राष्ट्रिय खेलकुदका लागि छनोट भइन् । जिल्ला र क्षेत्रीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उनी सुदूरपश्चिममा आयोजना भएको छैटौं राष्टिय खेलकूद प्रतियोगिताका लागि छनोट भएकी थिइन् । दश किलोमिटर दौडमा तेस्रो हुँदै सकुन्तला एथ्लेटिक्समा उदाइन् ।

पहिलो पटकमै पदक जित्दै उनले आफुलाई अब्बल सावित गरिन् । सकुन्तलासित जुत्ता किन्न पैसा थिएन । गाउँघर र भीर पाखामा लगाउने गोल्डस्टार जुत्ताले दगुर्न सहज हुन्नथ्यो । त्यसैले उनी नाङ्गो खुटटाको भरमा दगुरेकी थिइन् धनगढीमा ।

‘नयाँ जुत्ता किन्न पैसो थिएन, जुत्ता किनिदिने कोही भेटिएनन्, त्यसैले नाङ्गै खुटटा दगुरेकी हुँ’, हाल प्रशिक्षणका क्रममा काठमाडौंमा रहेकी सकुन्तलाले विगत सम्झिदै भनिन्, ‘जिल्ला र क्षेत्रीय प्रतियोगितामा पनि त्यसैगरी दगुरेकी थिएँ ।’ पछिल्लो समय भने उनी जुत्ता लगाएरै दगुर्ने गरेकी छिन् । विभिन्न ठाउँमा पुरस्कार जितेपछि उनले सहज हुने किसिमको जुत्ता किनेकी हुन् ।

छैटौं राष्टिय प्रतियोगितापछि उनी दार्चुला फर्किइन् । गाउँ फर्केपछि सकुन्तला घाँस दाउरा र मेलापातमै अल्झिइन् । प्रतियोगिता हुन्नथ्यो । गाउँमा न त दगुर्न ठाउँ थियो न अभ्यासको वातावरण नै । यस्तोमा चाहेर मात्र पनि उनको धाविका बन्ने धोको पूरा हुने स्थिति थिएन । यसबीचमा उनले २०७२ सालमा गाउँकै जनहित माविबाट एसइई परीक्षा उतीर्ण गरिन् ।

बाआमाले खेल्न होइन जागिर खान सहज हुने पढाइ थाल्न दबाब दिए । जेटिए पढ्न गाउँदेखिको टाढा रिठाचौपता गइन् । जहाँ उनले डेरा गरेर २९ महिनाको पढाइ पूरा गरिन् । पढाइ सकेर गाउँकै नौगाड गाउँपालिकामा अस्थायी जागिर शुरु गरिन । ‘घरको अवस्था एकदमै कमजोर भएकाले जागिर खानु परेको हो’, घरको अवस्था सम्झिदै उनले भनिन्, ‘‘खेल त चटक्क छाडेँ ।’

सकुन्तला पहेँलो पोशाक लगाउने बायाँबाट पहिलो ।

बेला बेलामा उनले आफू खेलमा फर्किन चाहेको कुरा साथीसङ्गी तथा आफन्तलाई सुनाउने गर्थिन् । गाउँमै बसेर पहिला जस्तै खेलमा फर्किन सम्भव थिएन । उनले गाउँ छाड्नु पर्ने थियो । तर गाउँ छाडेर कहाँ जाने ? सकुन्तलासित कुनै विकल्प थिएन । उनका अघिल्तिर कमजोर आर्थिक अवस्था तगारो बनेको थियो ।

यस्तैमा तीन महिना अघि साथि तथा आफन्त धिरज विष्टले सकुन्तला खेलमा फर्किन चाहेको कुरा फेसबुकमा स्टाटसमार्फत सार्वजनिक गरे । धिरजले सकुन्तलाको बारेमा लामो स्टाटस लेखे । यसरी खेल जीवनमा फर्किन खोजेको कुरा  सामाजिक सञ्जालमा आए पनि देश तथा विदेशमा रहेका आफन्त र अन्यले सकुन्तलालाई सहयोगको आश्वासन दिए ।

‘सामाजिक सञ्जालमार्फत धेरैले सहयोगको बचन दिए, मलाइ त्यो सब आश्वासन मात्र लाग्यो’, सकुन्तला भन्छिन्, । यसरी सहयोग गर्न चाहनेमध्ये एक थिए काठमाडौंमा बस्दै आएका दार्चुलाकै प्रेमसिंह धामी । उनैले  सकुन्तलालाई काठमाडौं बोलाए । धामीको आग्रह सकुन्तलाले सितिमिति मानिनन् ।

धेरै करकाप गरेपछि उनी गत पुस दोस्रो सातातीर राजधानी आएकी हुन् । धामीले प्रशिक्षणका लागि सशस्त्र प्रहरी बलको हलचोकस्थित मुख्यालयमा चाँजोपाँजो मिलाइ दिए । यस बीचमा उनले सकुन्तलालाई कीर्तिमानी धावक बैकुण्ठसित फोनमा कुराकानीसमेत गराइ दिए । ‘बैकुण्ठ गुरुसितको कुराकानीले पनि खेल्न उत्साहित भएँ’, उनले भनिन् । अहिले राजधानीमै रहेका आफन्तजनले बस्ने खाने चाँजोपाँजो मिलाइ दिएका छन् । तर यसरी सधैंभरी सम्भव नहुने उनको बुझाइ छ ।

‘खेलेर केही हुन्न, जागिर खाऊ’ सकुन्तलालाई बाआमाको यही सल्लाह छ । उनी भने दगुरेरै देशका लागि पदक जित्न चाहन्छिन् । बाआमाले चाहेर पनि उनलाई आर्थिक सहयोग गर्न सक्ने स्थिति छैन । पाखोमो फलेको अन्न मुश्किलले तीन महिना पुग्छ ।

‘हातमुख जोर्नकै समस्या छ, कसरी सहयोग माग्नु’, सकुन्तलाले घरको अवस्था सम्झिन पुगिन् । काठमाडौंमै बसेर खेललाई निरन्तरता दिन चाहन्छिन् सकुन्तला । तर उनले चाहेजस्तो सहज भने छैन । उनी सहयोगीको खोजीमा छिन् । सशस्त्र प्रहरी बलले अभ्यासका लागि खेल मैदान र प्रशिक्षक मात्र उपलब्ध गराइ दिएको हो । अरु सहयोग उनलाई एपीएफको केही पनि छैन । ‘बस्ने खाने सुविधा पाए त खेलमै राम्रो गर्न सक्थेँ’, उनले पीडा सुनाइन् ।

अढाई महिनामा सकुन्तलाले छ वटा लामो दौडमा भाग लिएकी छिन् । ती सबैमा उनी पहिलो र दोस्रो भइन् । त्यहाँबाट पाएको पुरस्कार रकले पनि बस्न खान केही हदसम्म मद्दत मिलेको उनले बताइन् । उनका दुई भाइ र तीन दिदिबहिनी पनि खेलमा उत्कष्ट छन् । सबै जनाले जिल्ला र क्षेत्रीय स्तरको प्रतियोगिातमा एथलेटिक्स र भलिबलमा पदक जितेका छन् । उनीहरु सबै गाउँमै छन् ।

गत पुस १२ गतेदेखि उनले हलचोकमा नियमित प्रशिक्षण थालेकी हुन् । यस बीचमा सकुन्तलाले चितवनमा भएको १५ किलोमिटर दौडमा पहिलो पटक भाग लिइन् । उनी सो दौडमा २५० जनालाई उछिन्दै पहिलो भइन र रु पाँच हजार पुरस्कार प्राप्त गरिन् । तर दुर्भाग्य उक्त दौडमा उनी खुटटा मर्केर घाइते भइन् ।

‘चितवन जाने की नजाने दोमन भएको थियो’, उनले भनिन्, ‘आठ वर्षदेखि कुनै प्रतियोगिता खेलेकी थिइन्, न त कुनै अभ्यास गरेकी थिएँ ।’ राम्रो दगुरे एथलेटिक्समा कमब्याक गर्न सकिन्छ कि भनेर चितवन गएको उनी बताउँछिन् । नभन्दै त्यही प्रतियोगिताले सकुन्तलालाई एथलेटिक्समा फर्किने अवसर जुरायो । सेना दिवसको अवसरमा भएको १० किलोमिटर दौडमा उनी दोस्रो भइन् ।

यस्तै वीरगञ्जमा सम्पन्न १० किलोमिटर दौडमा पहिलो, भक्तपुरमा भएको  नगर स्तरीय १० किलोमिटर दौडमा पहलो तथा २१ किलोमिटरको हाफ म्याराथनमा दोस्रो भइन् उनी । केही दिन अघि काठमाडौंमा सम्पन्न मदन भण्डारी रेसमा पनि सकुन्तला पाँच किलोमिटर दौडमा दोस्रो भइन् । यी सबै प्रतियोगिता उनले खुटटाको चोट बोकेकै अवस्थामा खेलेकी हुन् ।

‘चिकित्सकले तीन महिना आराम गर्न भनेका छन्’, उनले भनिन्, ‘म चोटिल अवस्थामै दगुर्दै आएकी छु ।’ दगुर्न नछाडे चिकित्सकले मकहाँ उपचार गर्न नआउनु भनेको कुराले उनको मन झस्किरहन्छ । अब उपचारका लागि अर्को चिकित्सककहाँ जाने सकुन्तलाले मन बनाएकी छिन् ।

उनी हाल बिहान चार घण्टा हलचोकमा नियमित अभ्यास गर्छिन । उनको एउटै उद्देश्य छ उत्कृष्ट धाविका बन्ने । यसका लागि उनी काठमाडौंका हरेक अप्ठ्यारा र चुनौतीको सामना गर्न तयार छिन् । उनलाई काठमाडौंको भीडभाड मन पर्दैन । न त यहाँको वातावण नै । दार्चुलाको दुर्गम गाउँमा शान्त वातावरणमा हुर्केकी सकुन्तला सबैभन्दा बढी त्रसित काठमाडौंको भीडबाट हुन्छिन् ।

‘पैदल हिँड्दा सयौँसित ठोक्किनु पर्छ, बस र माइक्रोमा यात्रा गर्दा जीउ नै कच्याककुचुक हुन्छ’, राजधानीमा दिनहुँ यात्रा गर्दाको पीडा सुनाइन् । त्यसैले हलचोक नजिकै डेरा सर्ने उनले मन बनाएकी छिन् । तर मन बनाएर मात्र पुग्दैन । सबै थोकका लागि काठमाडौंमा पैसो चाहिन्छ । सकुन्तलाको गोजी भने रित्तो छ । प्रतियोगितामा भाग लिने, पुरस्कार जितेको रकमले जेनतेन कोठा भाडा तिर्ने तथा खाने खर्च जुटाउने योजना छ सकुन्तलाको ।  ‘अब्बल धाविका बन्छु, नेपाललाई अन्राष्टिय प्रतियोगितामा पदक दिलाउँछु’, कोटेश्वरको ब्यस्त चोकमा हलचोकका लागि बस चढ्नु अघि सकुन्तालाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment