Comments Add Comment
सार्वजनिक सवारीमा कोरोनाको त्रास :

बसपार्कमा हेल्थडेस्क छैन, गाडीभित्र खोक्दा पनि डर !

२ चैत, काठमाडौं । उत्तराखण्ड परिवहन निगमले महाकाली यातायात वस व्यवसायी कम्पनीलाई पत्र लेखेर जनायो, ‘भारत उत्तरखण्डबाट काठमाडौंसम्म सञ्चालनमा रहेको नेपाल भारत मैत्री बस सेवा स्थगित गरिएको छ ।’

कारण उही हो- कोरोना भाइरसको संक्रमण फैलने त्रास ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाअनुसार अब भारतसँगको मैत्री बस सेवा मात्र होइन, लामो दूरीमा चल्ने नियमित बसहरु पनि रोकिन थालेका छन्

सरकारले सार्वजनिक यातायातको यात्रालाई सुरक्षित बनाउन प्रयत्न नगर्दा यो क्षत्रमा अनेक प्रभाव देखिन थालेका छन् ।

महासंघका महासचिव सरोज सिटौला यात्रु नै ५० प्रतिशत घटेको बताउँछन् । यात्रु घटेपछि बस पनि त्यतिकै संख्यामा घटाउन बाध्य हुने अवस्था आएको उनले बताए । ‘यातायात क्षेत्रमा पनि कोरोनाको स्पष्ट प्रभाव देखिन थाल्यो,’ उनले भने, ‘यात्रुहरुमा उत्पन्न मनोवैज्ञानिक डरले हाम्रो व्यवसायमा पनि असर पर्‍यो ।’

सिटौलाले काठमाडौं आउने र काठमाडौंबाट छुट्ने लामो दूरीका सेवामा तालिका परिर्वतन गरेर सीमित बस गुडाइरहेको बताए ।

अहिले काठमाडौंका सार्वजनिक यातायातमा पनि चाप घटेको छ । चैत ६ मा परीक्षा सकिएपछि कतिपय काठमाडौं छाड्छन् र गाउँ फर्किँन्छन् । यसले पनि उपत्यकामा सार्वजनिक यातायात प्रयोगकर्ता अझै घट्ने अनुमान छ ।

सरकारले श्रम स्वीकृति दिन पनि बन्द गरेका कारण विदेश जान उपत्यकाबाहिरबाट आउनेहरु पनि छैनन् । घट्दो आन्तरिक उडानको पनि थोरवहुत असर सार्वजनिक बससम्म आईपुगेको यातायात व्यवसायीहरु बताउँछन् ।

उपभोक्ता अधिकारकर्मी रामबहादुर थापा सरकारले सार्वजनिक यातायातलाई संक्रमणबाट सुरक्षित बनाउनेतर्फ ध्यान नदिँदा त्रास बढेको बताउँछन् । उनको भनाइमा, कुनै विकल्प नभएको अवस्थामा मात्र मानिसहरु बसमा यात्रा गरिरहेका छन् ।

बसभित्र संक्रमण रोक्ने उपायाहरु अपनाउन व्यवसायीहरु पनि जिम्मेवार नभएको उनको आरोप छ । ‘बसमा यात्रुलाई सुरक्षित राख्न बस धनीले नै रसायनहरु स्प्रेहरु गर्न सक्छन्, तर कसैले त्यसो गरेका छैनन्’, उनी भन्छन्, ‘१० जना भेला भएर कार्यक्रम गर्न रोक्ने सरकारले ६०-७० जना यात्रु एउटा बसभित्र कोचिएर यात्रा गरिरहेको अवस्थालाई सामान्य ठानिरहेको छ ?’

स्कुलका कक्षा कोठामाभन्दा सार्वजनिक बसहरुमा कोरोना संक्रमण फैलिने जोखिम उच्च हुने अधिकारकर्मी थापा बताउँछन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला संवेदनशील सार्वजनिक यातायातमा सुरक्षित रहनेबारे सरकार एक शब्द पनि नबोल्नु र कुनै योजनासमेत नबनाइनु दु:खद् भएको बताउँछन् । ‘ज्वरो आएको यात्रुलाई बस चढाउँदिन भन्ने अधिकार हामीसंग हुन्न, बसभित्र सबैको ज्वरो नाप्ने उपकरणको पनि अभाव छ,’ उनले भने, ‘ज्वरो आएका बिरामीलाई अस्पताल जानुस् भनेर सुझावसम्म दिन्छौं, तर एउटा बिरामी बसभित्र पसेपछि सबै यात्रु त्रस्त हुन्छन् ।’

सबै यात्रुलाई मास्क दिनसक्ने अवस्था नहरेकाले सरकारले विशेष प्रवन्ध गर्नुपर्ने उनको माग छ । स्वतन्त्र आवागमनलाई निषेध गर्न नसकिने भएकाले यसको व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने उनले बताए ।

हेटौंडाका यातायात व्यवसायी नवराज खरेल बसभित्र कसैले मुख छोपेरै खोक्दा पनि त्रास फैलिने गरेको बताउँछन् । ‘बसभित्र कोही धेरै खोके अरु यात्रु बीचमै ओर्लेर हिँड्ने अवस्था आएको छ’, उनी भन्छन्, ‘यसले गर्दा हामी व्यवसायीलाई निकै अप्ठ्यारो परिरहेको छ ।’

बसपार्कमा छैनन् हेल्थ डेस्क

संख्या पातलिएपनि बसहरुमा यात्रुको आवतजावत चलिरहेकै छ । तर बसपार्कहरुमा हेल्थ डेस्कसम्म छैन ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार सरुवा रोगहरुको संक्रमण फैलन नदिन यातायात ट्रान्जिट र बसपार्कहरुमा कडा स्वास्थ्य जाँच हुनुपर्छ । नेपाल सरकारले भने राजधानीको मुख्य नयाँ बसपार्कमा समेत एउटा हेल्थ डेस्क राखेको छैन ।

अधिकारकर्मी ज्योती बानियाँ यात्रुलाई सामान्य परामर्श र इच्छुकको चेकजाँचको सामान्य प्रवन्ध नहुनुलाई सरकारको लापरवाही भन्छन् । ‘सरकारले आवश्यक पूर्वतयारी र सतर्कताका कामहरु गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘रोग बोकेर कोही एक ठाउँबाट अर्को ठाउँ नजाओस् भनेर ध्यान दिनुपर्छ, तर यात्रुहरुलाई दुःख दिनु भने हुन्न ।’

बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से प्रालिले हेल्थ डेस्क राख्न सरकारलाई अनुरोध गरिएको बताएको छ ।

व्यवसायीले थाले प्रयास

रुपन्देहीमा पश्चिम नेपाल बस ब्यवसायी प्रालिले यात्रुहरुको तापक्रम नापेर मात्र आफ्ना सवारी साधनमा यात्रा गराउने ब्यवस्था मिलाएको छ । प्रालिका आफ्नै स्वास्थ्यकर्मी र तालिम पाएका कर्मचारीहरुले टिकट काउन्टरमा डिजिटल उपकरणबाट यात्रुहरुको तापक्रम नापेर बस चढाउँछन् ।

बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा रहेका आफ्ना टिकट बुकिङ काउन्टरहरुमा आइतबार साँझदेखि यात्रुहरुको तापक्रम नाप्ने व्यवस्था गरेको प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । उनले भने, ‘कोरोना भाइरस संक्रमण थप फैलिन नदिन यो अभियान थालेका हौं ।’

उनकाअनुसार, रुपन्देही र कपिलवस्तुका सीमा नाकाहरु पुग्ने तथा बुटवल र त्यस आसपास चल्ने बसहरुमा यात्रा गर्ने गर्ने यात्रुहरुको तापक्रम नाप्न थालिएको छ । त्यसका लागि आफ्नै लगानीमा १५ थान उपकरण किनेको उनी बताए । उच्च ज्वरो आएका यात्रुलाई आवश्यकताअनुसार अस्पताल पुर्‍याउने व्यवस्था गरिएको छ ।

यस्तै काठमाडौंको रिंगरोडमा चल्ने सुन्दर यातायातले यस्तो सेवा सुरु गरिसकेको छ । तर, अधिकांश यात्रु जोखिम लिएरै यात्रा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment