
६ चैत, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) सेवाका कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने तयारी भएको छ ।
गुप्चरसम्बन्धी कानूनलाई संशोधन गरी कर्मचारीको उमेर हद ५८ बाट बढाएर ६० पुर्याउने गरी राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विशेष सेवा विधेयकको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन बिहीबार राष्ट्रियसभामा पेस भएको छ ।
नेपालीहरुको औसत आयु बढेको र अन्य देशको अभ्याससमेतलाई हेरेर अवकाश उमेरहद बढाइएको समिति सभापति पर्शुराम मेघी गुरुङले जानकारी दिए ।
हाल गुप्तचरम्बन्धी निकायमा कार्यरत कर्मचारीको उमेर हद ५८ वर्ष छ । राष्ट्रियसभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेपछि गुप्तचरका कर्मचारीको अवकाश उमेरहद ६० वर्ष कायम हुनेछ ।
तर, यो व्यवस्था २०७८ सालदेखि मात्रै कार्यान्वयनमा आउनेछ । २०७८ साल असार मसान्तसम्म उमेर हद सम्बन्धी व्यवस्था हालकै लागू हुने विधेयकको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले पनि निजामती सेवामा अवकाश उमेर हद ६० वर्ष पुर्याउने सहमति जुटाइसकेको छ ।
राज्य व्यवस्था समितिले ६/६ महिना बढाउँदै लगेर ४ वर्षपछि मात्रै ६० वर्षे उमेर हद पूर्ण रुपका कार्यान्वयनमा आउने गरी कानुनी प्रावधान राख्न खोजेको छ । तर, यसले औपचारिकता भने पाइसकेको छैन् ।
राष्ट्रियसभाले विशिष्ट अधिकारीको सन्दर्भमा पदावधिको आधारमा निवृत्त हुने प्रावधानमा समेत हेरफेर गरेको छ ।
विशेष सेवा विधेयकको प्रतिवेदनअनुसार अब अनुसन्धान विभागका डीआईजीभन्दा माथिको पदमा ४ वर्ष काम गरेपछि सेवा निवृत्त हुनेछन् । एसएसपीदेखि डीआईजीसम्मका अधिकारी भने ६ वर्ष काम गरेपछि सेवा निवृत्त हुनेछन् ।
पदावधिबाट सेवा निवृत्त हुने व्यवस्था भने यो कानून कार्यान्वयनमा आए लगत्तै लागू हुनेछ ।
प्रतिक्रिया 4