Comments Add Comment

कर्णालीमा हजार बेडको क्वारेन्टाइन, नाकाबाट नेपालीलाई मात्रै प्रवेश

७ चैत,काठमाडौं । कर्णाली प्रदेश सरकारले एक साताभित्र राजधानी सुर्खेतमा एक हजार बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।

क्वारेन्टाइन निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको छ । सेनाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६०० बेड र रेडियो नेपाल क्षेत्रीय प्रसारणको खाली जग्गामा ४०० बेडको क्वारेन्टाइन ७ दिनभित्र निर्माण गर्ने छ ।

शुक्रबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र विपद् व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले कर्णालीमा पनि कोरोनाको उच्च जोखिम रहेको निष्कर्ष निकाल्दै क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

कर्णालीवासी ठूलो संख्यामा मदजुरीका लागि भारतमा छन् । कोरोना तीव्र रुपमा फैलिन थालेको भारतमा उनीहरु आउने जाने गरिरहेकोले पनि जोखिम मानिएको हो ।

६०० बेडको क्वारेन्टाइन बनाइने स्थल । थप ४०० बेडको क्वारेन्टाइन रेडियो नेपाल, क्षेत्रीय प्रसारणको हाताभित्र बनाउने निर्णय भएको छ ।

साथै कर्णाली सरकारले भारतमा रहेका कर्णालीवासीलाई १० दिनभित्र घर फर्किन आग्रह गरेको छ । उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य जाँचपछि मात्रै घर जान दिइने निर्णय भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।

कर्णाली प्रदेश प्रवेश गर्ने हवाई तथा स्थल मार्गका नाकाहरुमा उच्च सतर्कता अपनाई त्यस्ता नाकाहरुबाट नेपाली नागरिकहरुलाई मात्र प्रवेश गर्न दिने गरी लक गरिने छ । कर्णाली जाने विदेशी नागरिकहरुले जुन जिल्लामा जाने हो सोही जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमतिमा मात्रै प्रवेश पाउने छन् र उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको छ ।

राति १० बजेदेखि विहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन प्रमुख जिल्ला अधिकारीको अनुमतिमा मात्र सन्चालन गर्न पाउने, अत्यावश्यक काम बाहेक मन्त्रालय र कार्यालयहरुमा हुने भेटघाट र आवतजावतलाई रोक लगाउने र ५० करोडको कोष खडा गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

तत्काल विपद व्यवस्थापनका लागि ५० करोडको कोष बनाई सोही कोषबाट नियमानुसार खर्च व्यवस्था मिलाइएको छ ।

हेर्नुहोस् बैठकका निर्णयहरु

  • कर्णाली प्रदेश प्रवेश गर्ने हवाई तथा स्थल मार्गका नाकाहरुमा उच्च सतर्कता अपनाई त्यस्ता नाकाहरुबाट नेपाली नागरिकहरुलाई मात्र प्रवेश गर्न दिने गरी लक गर्ने । विदेशी नागरिकहरुलाई सम्वन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमतीले मात्र प्रवेश गर्न दिने व्यवस्था गर्ने । त्यसरी प्रवेश गर्ने व्यक्तिहरुलाई प्रदेशको क्वारेन्टाईनमा कम्तिमा १४ दिन अनिवार्य राख्ने व्यवस्था मिलाउने ।
  • सम्वन्धित जोखिमलाई ध्यानमा राखि अत्याआवश्यक बस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउने ।
  • स्वास्थ्य सचेतना सम्वन्धि जनहितका सूचना तथा सामग्रीहरु प्रदेश भित्रका सवै एफ एम रेडियो, टि.भि.च्यानल तथा छापा माध्यमहरुलाई प्रयोग गरी प्रसारण गर्ने गराउने साथै सामाजिक संजाल मार्फत् नियमित रुपमा सूचना प्रवाह गर्ने ।
  • तत्काल नेपाली सेनाको सहयोगमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ६०० बेड र रेडियो नेपालमा ४०० बेड रहने गरी क्वारेन्टाईन स्थापना गर्ने ।
  • सम्भावित संक्रमणको जाखिमबाट सुरक्षित रहन २५ जना भन्दा बढिको कुनै पनि जमघट गर्न गराउन रोक लगाउने ।
  • कालाबजारी, कृत्रिम अभाव श्रृजना गर्ने जोसुकैलाई कानून वमोजिम कडा कारवाही गर्ने ।
  • सीमा जोडिएका नाकाहरुमा सेनिटाइजर, मास्क, थर्मोमिटर गन लगायतका सामग्रीहरुको सहज रुपमा व्यवस्थापन गर्ने कार्यका लागि सामुदायीक संघ संस्था लगायतका सबै पक्षको संयुक्त संलग्नतामा स्वास्थ्य अवस्थाको निगरानी, प्रयोगशाला क्षमता विस्तार गर्ने, संक्रमित देखिएमा प्राथमिक उपचारको तत्काल प्रवन्ध गर्ने, अस्पतालहरुको प्रक्षेपण, आईसोलेसन वार्डहरुको तयारी र क्वारेन्टाइन स्थलहरुको तत्काल चयन गर्ने व्यवस्था गर्ने गराउने ।
  • सुरक्षा निकायको सतर्कता २४ सै घण्टा रहने व्यवस्था गर्ने गराउने ।
  • यातायातका साधनहरु, सबै कार्यालयहरु र सार्वजनिक स्थलहरुको सरसफाइमा विशेष ध्यान दिने ।
  • बैंक तथा वित्तिय संस्थाहरु, नेपाल सरकारका सेवाग्राहीको बढी चाप हुने कार्यालयहरु विद्युत प्राधिकरण, दूर संचार संस्थान लगायतका कार्यालयहरुमा नेपाल सरकारले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्न गराउने व्यवस्था मिलाउने ।
  • राति १० बजेदेखि विहान ५ बजेसम्म एम्वुलेन्स सेवा, बारुण यन्त्र, सुरक्षा निकायका सवारी साधनहरु, स्वास्थ्य संस्थाका सवारी साधनहरु, शव वाहन, सरकारी निकायका चार पाङ्ग्रे सवारी साधन वाहेक अन्य निजी तथा भाडाका सवारी साधनहरुले सम्वन्धित प्रमुख जिल्ला अधिकारीको अनुमति लिई मात्र चलाउन पाउने व्यवस्था मिलाउने ।
  • छिमेकी मुलुक भारतमा रहेका कर्णाली प्रदेशका नागरिकहरुलाई छिटोभन्दा छिटो घर फर्कन अनुरोध गर्ने, फर्किएका नागरिकहरुलाई सीमा नाकाबाट यातायात प्रवन्ध गरी क्वारेन्टाइनमा राखेर मात्र घरसम्म पुर्याउने व्यवस्था मिलाउने ।
  • तत्काल विपद व्यवस्थापनका लागि ५० करोडको कोष बनाई सोही कोषबाट नियमानुसार खर्च व्यवस्था मिलाउने
  • उल्लेखित निर्णयहरु कार्यान्वयन गर्न तपसिलका समितिहरु गठन गर्ने निर्णय गरियो ।

    क) उच्चस्तरीय कार्यान्वयन समिति

मन्त्री, सामाजिक विकास मन्त्रालय– संयोजक

सचिव, सबै मन्त्रालय– सदस्य

प्रमुख, नेपाली सेनाका स्वास्थ्य हेर्ने– सदस्य

प्रमुख, प्रहरी स्वास्थ्य हेर्ने– सदस्य

प्रमुख, सशस्त्र प्रहरी स्वास्थ्य हेर्ने– सदस्य

प्रमुख, राष्ट्रिय अनुसन्धान– सदस्य

प्रमुख, नेपाल रेडक्रस सोसाइटी– सदस्य

प्रमुख, उद्योग वाणिज्य संघ– सदस्य

प्रमुख, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान– सदस्य

प्रमुख, औद्योगिक क्षेत्र सुर्खेत– सदस्य

ख) उच्चस्तरीय अनुगमन समिति

मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय– संयोजक

प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय– सदस्य

सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालय– सदस्य

प्रमुख, पत्रकार महासंघ कर्णाली प्रदेश– सदस्य

प्रमुख, जिल्ला समन्वय समिति सुर्खेत– सदस्य

प्रमुख, विरेन्द्रनगर नगरपालिका– सदस्य

ग) उच्चस्तरीय आपूर्ति समिति

मन्त्री, उद्योग, वन, पर्यटन तथा वातावरण– संयोजक

प्रमुख, नेपाल खाद्य संस्थान सुर्खेत– सदस्य

प्रमुख, नेपाल आयल निगम सुर्खेत– सदस्य

प्रमुख, नेपाल साल्ट ट्रेडिङ्ग सुर्खेत– सदस्य

प्रमुख, एयरलाइन्स एसोसियसन, सुर्खेत– सदस्य

प्रमुख, उद्योग वाणिज्य संघ कर्णाली प्रदेश– सदस्य

प्रमुख, यातायात व्यवसायी महासंघ– सदस्य

प्रमुख, उपभोक्ता हकहित संरक्षण मन्च– सदस्य

घ) जिल्लास्तरीय कार्यान्वयन तथा अनुगमन समिति

प्रमुख, जिल्ला अधिकारी– संयोजक

जिल्ला सुरक्षाका प्रमुखहरु, सबै– सदस्य

प्रमुख, जिल्ला उद्योग वणिज्य संघ– सदस्य

राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख– सदस्य

प्रमुख, जिल्ला समन्वय समिति– सदस्य

प्रमुख, सम्वन्धित स्थानीय तह– सदस्य

प्रमुख, नेपाल रेडक्रस– सदस्य

ङ) पालिकास्तरीय कार्यान्वयन तथा अनुगमन समिति

प्रमुख, स्थानीय तह– संयोजक

जिल्ला सुरक्षाका प्रमुखहरु, सबै– सदस्य

राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख– सदस्य

वडाध्यक्षहरु– सदस्य

प्रमुख, नेपाल रेडक्रस– सदस्य

प्रमुख, प्रशासकीय अधिकृत– सदस्य

च) वडास्तरीय कार्यान्वयन तथा अनुगमन समिति

वडाध्यक्ष– संयोजक

वडा सदस्यहरु– सदस्य

राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख– सदस्य

वडा सचिव– सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment