Comments Add Comment

कोरोना कोषमा योगदान गर्न प्रदेश ५ सरकारको अपील

१२ चैत, बुटवल । प्रदेश ५ सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा सक्दो योगदान गर्न प्रदेशवासीसँग अपील गरेको छ । प्रदेश सरकारले १० करोड जम्मा गरेर स्थापना गरेको कोषमा स्वेच्छिकरुपमा सक्दो योगदान गर्न अपील गरिएको हो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सरकार एक्लैले नसक्ने भन्दै यसविरुद्धको लडाइँमा सबैको साथ र सहयोग आवश्यक रहेको प्रदेश ५ सरकारको भनाइ छ ।

राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखामा खोलिएको प्रदेश ५ को कोषको खाता नम्बर ३१२०५०३०००३०१ हो । ‘यो कोषमा सबैले सक्दो योगदान गरौं र कोरोना रोकथाम तथा उपचारको कामलाई प्रभावकारी बनाऔं,’ प्रदेश ५ को मुख्यमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा लेखिएको छ ।

प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारको पूर्व तयारीको कामलाई अघि बढाएको छ । मुख्यमन्त्री शंकर पोखरेलले अहिले भइरहेका कामको जानकारी लिने र फिल्ड निरीक्षण गरी प्रभावकारी बनाउन निर्देशन दिने गरेको उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

प्रदेश ५ मा चार वटा आइसोलेसन अस्पताल बनाउन थालिएको र पूर्वतयारीको संयोजन गर्न प्रदेश सरकारका मन्त्रीहरु नै फिल्डमा खटिएका विज्ञप्तिमा उल्लेख छ ।

भैरहवाको भीम अस्पतालमा बनाउन लागिएको आइसोलेसन केन्द्रको संयोजन सामाजिक विकासमन्त्री सुदर्शन बरालले गरिरहेका छन् । भीम अस्पतालमा पाँच आईसीयु सहित ३० शैयाको आइसोलेसन केन्द्र निर्माणको काम तीव्र गतिमा भइरहेको मन्त्री बरालले बताए ।

बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा आइसोलेसन अस्पताल बनाउने कामको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले लिएका छन् । खजुरामा आईसीयुसहितको ४० शैयाको अस्पताल बनाउन थालिएको छ ।

दाङको बेलझुण्डीको आइसोलेसन अस्पतालको तयारीको कामको संयोजन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी दाङ गएका छन् ।

बुटवलस्थित धागो कारखानाको ४० बेडको आइसोलेसन केन्द्रको संयोजन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालले यो आइसोलेसन केन्द्रको जिम्मा लिँदै विशेषज्ञ डाक्टरसहितको टिम खटिएर विरामी भर्ना लिन थालेको छ ।

स्थानीय तहहरुले पालिकामा भारतसहित अन्य मुलुकबाट आएका नागरिकको खोजी र निगरानी गरिरहेका र कोरोनाको शंकास्पद बिरामी देखिए अस्पताल पु¥याउन एम्बुलेन्सको व्यवस्था गरेकाले नआत्तिन प्रदेश ५ सरकारले प्रदेशवासीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment