Comments Add Comment

जहाँ लगाइएको छ कोरोना शब्द उच्चारणमै प्रतिबन्ध

२० चैत, काठमाडौं । चीन उद्गम भएर विश्वभर कोरोना भाइरस (कोभिड–१९) फैलिएपछि विश्वका सबैजसो देशले सतर्कता बढाएका छन् । संक्रमण रोक्न केही देशले लकडाउनको रोचक नियम बसालेका छन् भने केहीले कोरोना भाइरस उच्चारणमै प्रतिबन्ध लगाएका छन् ।

कोरोनाविरुद्ध लड्न विश्वका देशले बसालेका केही रोचक थितिबारे यहाँ चर्चा गरिएको छ ।

कोरोना शब्द उच्चारणमै प्रतिबन्ध

मध्यपूर्वको देश हो, तुर्कमेनिस्तान । छिमेकी देश इरानलाई कोरोनाले हायलकायल पारे पनि यो देश अहिलेसम्म कोरोनामुक्त रहेको दाबी त्यहाँका सरकारी अधिकारीहरूले गरेका छन् ।

तर, कोरोनामुक्त भए पनि यो देशले यसविरुद्ध लड्न कठोर अनि रोचक कदम उठाएको छ । यतिबेला विश्वमा सबैभन्दा धेरै बोलिने शब्द ‘कोरोना’ भए पनि तुर्कमेनिस्तानले यो शब्द उच्चारणमै प्रतिबन्ध लगाएको छ ।

तुर्कमेनिस्तानको एक सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, त्यहाँको सरकारले आफ्नो स्वास्थ्य सचेतना प्रचार सामग्रीबाटै यो शब्द हटाइदिएको छ ।

रेडियो अजतलाइकमा कार्यरत एक पत्रकारले बताएअनुसार, कोरोना भाइरसबारे चर्चा गर्ने व्यक्तिसँगै मास्क लगाए गिरफ्तारीमा पर्न सक्ने चेतावनी दिइएको छ ।

महिला–पुरुषसँगै निस्किन प्रतिबन्ध

पानामा दक्षिण अमेरिकाको मध्य भागमा अवस्थित मुलुक हो । चीन भएर फैलिएको कोरोना यो देशका लागि पनि यतिबेला टाउको दुखाइको विषय बनेको छ । बीबीसीका अनुसार, हालसम्म यहाँका करिब १ हजार मानिसमा कोरोनाको लक्षण देखिएको छ ।

संक्रमण फैलिएपछि यसविरुद्ध लड्न पानामाले पूरै देश लकडाउन गरेको छ । तर, यहाँ घोषणा गरिएको लकडाउन अन्य देशको भन्दा केही पृथक छ ।
नेपाललगायतका विश्वका देशमा महिला–पुरुष दुवैका हकमा लकडाउनको समान नियम छ । तर यहाँ महिला र पुरुषलाई एकैपटक किनमेलका लागि बजारमा निस्किन प्रतिबन्ध गरिएको छ । महिलाहरू सोमबार, बुधबार र शुक्रबार मात्र किनमेलका लागि बाहिर जान पाउँछन्, त्यो पनि मात्रै २ घण्टा । पुरुषका लागि भने मंगलबार, बिहीबार र शनिबारको समय दिइएको छ ।

किनमेलका लागि साताको ३/३ दिन महिला र पुरुषका लागि छुट्याएको पानामाले आइतबार भने घरबाट बाहिर निस्कन पूर्ण प्रतिबन्ध लगाएको छ ।

कोलम्बिया

कोलम्बियाको लडकडाउन पनि पृथक छ । यहाँ पनि लकडाउनको अवधिमा मनमौजी घरबाहिर निस्किन पाइँदैन ।

बीबीसी हिन्दीका अनुसार, कोलम्बियाले राष्ट्रिय परिचयपत्र नम्बरको किनमेलका लागि बाहिर जान दिने अनुमति दिएको छ । जस्तो– परिचपत्रको अन्तिम नम्बर ०, ४ र ७ भएकाले सोमबार मात्रै किनमेलका लागि बजार जान सक्छन् । अन्तिम नम्बर १, ५ र ८ भएकाको किनमेल गर्ने दिन मंगलबार तोकिएको छ ।

कुकुर डुलाउने समय दिँदा सरकारको विरोध

लकडाउनपछि मानिसहरू उकुसमुकुस छन् । विभिन्न तौरतरिका अपनाएर मानिसहरूले असहजताबीच समय कटाइरहेका छन् ।

लकडाउनको परेसानमा मानिसहरू घरभित्र सीमित भए पनि सर्बियाले भने कुकुर डुलाउने समय छु्ट्याएको छ । सर्बियाले रातको ८ बजेदेखि ९ बजेसम्म १ घण्टा कुकुर डुलाउनका लागि समय छुट्याएको हो ।

यद्यपि, यो नियमको विरोध भएपछि फिर्ता लिइएको छ । एक पशु चिकित्सकले कुकुरलाई घरभित्रै सीमित गर्दा रोगहरूको संक्रमण हुनसक्ने भन्दै घुमफिरका लागि समय दिनु उपयुक्त हुने बताएका छन् ।

स्विडेनलाई छैन सुर्ता

स्विडेनमा हालसम्म झण्डै साढे ४ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणपछि स्विडेनले ५० भन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाएको छ ।

तर, स्विडेनले १६ वर्षमुनिका विद्यार्थीका लागि विद्यालय खुला गरेको छ । पब्स र रेस्टुरेन्टहरू कोरोनाको त्रासदीकै बीच खुला छन् । यहाँ सामाजिक गतिविधि पनि पूर्ववत् सञ्चालन भइरहेका छन् ।

कार्टुनका कारण मलेसियाले माग्नुपर्‍यो माफी
एसियाली मुलुक मलेसियामा आंशिक लकडाउन छ । एसियाकै अन्य देशहरू कोरोनाविरुद्धको लडाइँ जित्न निर्मम ढंगले प्रस्तुत भएका छन् । तर, मलेसिया सरकारले लकडाउनको अवधिमा उल्टै जनतासँग माफी माग्नु परेको छ ।

त्यहाँको महिला मन्त्रालयद्वारा जारी गरिएको कार्टुनका कारण सरकारले माफी माग्नु परेको हो । जसमा श्रृंगार र सजावट गरे पनि श्रीमानलाई नछुन महिलालाई सुझाइएको थियो ।

यस्तो कार्टुन महिला मन्त्रालयले सेयर गरेपछि समाजिक सञ्जालमा चर्को विरोध भएको थियो । विरोधपछि त्यहाँको सरकारले जनतासमक्ष माफी माग्दै त्यसलाई हटाएको छ ।

र, यो पनि

‘मैले कुनै भाइरस देखिरहेको छैन,’ भनेर अभिव्यक्ति दिएपछि बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकेशेलेको चर्को आलोचना भइरहेको छ ।

आइस हक्कीको एक खेलको दौरानमा टेलिभिजन पत्रकारको एलेक्जेंडरसमक्ष जिज्ञासा थियो– कोरोनाको प्रकोपबीच पनि तपाईंले किन गेम रोक्नु भएन ?

जवाफमा उनले भनेका थिए, ‘प्रतियोगिता रोक्न कुनै जरुरी छैन किनकि, रंगशालाको चिसोले भाइरस फैलन रोक्नेछ ।’

उनले अझै एक कदम अघि बढेर भनेका थिए, ‘यहाँ कुनै भाइरस छैन । न तपाईंले उडेको देख्नुभएको छ, न मैले देखेको छु । हेर्नुस् त यहाँ बरफ मात्र छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment