
२३ चैत, बिराटनगर । कोरोना संक्रमणको त्रासका कारण उपचारमा खटिन चिकित्सक डराएका छन् । शंकास्पद लक्षण देखिएका बिरामीलाई निजी अस्पतालमा प्रवेश निषेध छ । बाध्यात्मक अवस्था आएपछि सरकारी अस्पतालले कोरोना संक्रमितको उपचारको नेतृत्व गरिरहेका छन् ।
कोरोनाविरुद्धको फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी आफैं त्रसित छन् । त्रासको समयमा काउन्सिलिङ नहुँदा हतोत्साहित पनि छन् । ‘हामी त एक अर्कालाई प्रोत्साहित गर्दै काम गर्छाैं,’ कोशी अस्पताल बिराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्रा अनलाइनखबरसँग भन्छिन् ‘अनुभव पनि सेयरिङ गरेर काममा खटिन्छौं ।’
उनका अनुसार चिकित्सकमा पनि कोरोना संक्रमणको त्रास छ । बिरामीको उपचारमा अग्रमोर्चामा बसेर काम गर्न स्वास्थ्यकर्मीहरुसँग पर्याप्त सतर्कताका सामग्री नहुँदा कठिनाई भएको उनको गुनासो छ ।
‘उपचारमा खटिने स्वास्थ्यकर्मीमा परिवार र समाजका चिन्ता हुनु स्वाभाविक हो,’ मीश्रा भन्छिन् ‘डाक्टर पनि यही समाजकै हो, चिन्ता त भइहाल्छ नि । तर, हामी उच्च मनोवलका साथ टीमवर्क गर्छाैं ।’
त्रासका बेलाा काउन्सिलिङको आवश्यकता पनि छ । तर, कोशी अस्पतालका स्वास्थ्यकर्मी एक अर्कालाई काउन्सिलिङ गर्दै कोरोना विरुद्धको मोर्चामा खटिएका छन् ।
त्रासका बेला सञ्चार माध्यममा आउने समाचारका कारण निराश हुनुपर्ने अवस्था बेला–बेला आउने मिश्राको गुनासो छ । ‘यो समय एकले अर्कालाई सहयोग गर्ने हो,’ उनी भन्छिन् ‘अहिले कोरोनाविरुद्ध काम गरौं, तीन महिनापछि बाँकी कुरा गरौंला ।’
केन्द्रको हेपाहा प्रवृत्ति
कोशी अस्पताल संघीय सरकार मातहत पर्छ । तर, संघ मातहत परे पनि विभागीय मन्त्रालयले समन्वय प्रभावकारीरुपमा गरेको छैन । डा. मिश्रा कमैमात्र केन्द्रबाट समन्वय हुने गरेको बताउँछिन् । ‘उहाँहरु पनि व्यस्त नै हुनुहुन्छ,’ उनी भन्छिन् ‘हाम्रो अपेक्षाभन्दा कमै मात्र समन्वय छ ।’
उनी आफूलाई अहिले पनि प्रदेशकै कर्मचारी भएको महसुस भएको बताउँछिन् ।
अपूरो पीपीई, सामान खोज्दैमा हैरानी
कोरोना संक्रमितको उपचारका लागि भन्दै प्रदेश सरकारले कोशी अस्पताललाई चीनबाट आयात गरिएको पीपीई सेट दिएको छ । लामो प्रतिक्षापछि प्राप्त स्वास्थ्य सामग्री अपूरो छ । पीपीई सेट मगाइएको थियो, तर अस्पतालसम्म भने मास्क र गाउन मात्र आइपुगेको छ ।
अभावका बेला पीपीईका आधा मात्र सामान आएपछि कोशी अस्पताल अन्य सामग्री आफैं व्यवस्थापन गर्न जुटेको छ । चिकित्सकले लगाउने, ग्लोब्स, ग्लास, टोपी, कभरसहितको गम्बुट आदिको जोहो गर्न अस्पताल जुटेको मेडिकल सुपरीटेण्डन्ट डा. मिश्राले अनलाइनखबरलाई बताइन् ।
पछिल्लो समय आएका पीपीई कामचलाउ मात्र छन् । पर्याप्त सामान नआएका कारण सरकारसँग पुनः पीपीई मागिरहेको उनले बताइन् ।
प्रतिक्रिया 4