Comments Add Comment

बालाजु बाइसधाराको जात्रा स्थगित

काठमाडौं । बालाजु बाइसधाराको जात्रा स्थगित भएको छ । कोरोना भाइसरका कारण जात्रा स्थगित भएको हो । हरेक वर्ष चैत शुक्ल पूणिर्माका दिन लाग्ने जात्रालाई नेवार समुदायले ल्हुतिपुन्हिको रुपमा मनाउने गर्छन् ।

यस दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइस धारामा नुहाईधुवाई गरेमा फलिफाप हुन्छ भन्ने मान्यता छ ।

किम्वदन्ती अनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पति भयो । यसैको सम्झनामा ल्हुतिपूणिर्मा मनाउने गरिएको हो ।

कोरोना भाइसरको संक्रमणका कारण यो वर्षको मेला स्थगित गरिएको तर भगवानको पूजा आरधना भने गरिने मूल पुजारी थकाली धनलाल महर्जनले जानकारी दिए ।

ल्हुति पूणिर्माको दिन बाइसधारामा स्नान गरी मृत्त आफन्तको नाममाब बत्ती बाल्ने परम्परा छ । साथै यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने परम्परा रहेको छ ।

मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसंग जोडिएको छ । ल्हुती पूणिर्माको मेलासँगै मनमैजु जात्रा पनि सुरु हुने परम्परा रहेको थियो ।

यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।

विभिन्न समयमा भएका राजनीतिक र अन्य विषम परिस्थितिमा समेत यो जात्राले निरन्तरता पाएको थियो । बाइधाराका स्थानीय एवम् सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि सदियौंदेखि चलिआएको यो मेला यस वर्ष स्थगित गरिएको बताए ।

यो धारा नेपाल संवत् ८७५ मल्लकालमा बनेको हो । सबैभन्दा पहिले बालाजुमा कान्तिपुरका राजार जयप्रकाश मल्लले ढुंगे धारा बनाएका थिए ।

मल्लकालका अन्तिम राजा जयप्रकाश मल्लले बालाजुको बाइस धारा र गोकर्णेश्वर मन्दिर बनाएका थिए । विश्वकै सबैभन्दा सानो मुद्रा प्रचलनमा ल्याउने राजा पनि उनै थिए । त्यसबेला उनले बालाजुमा २१ वटा धारा बनाएका थिए । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ढुंगेधारा स्थापना गरे ।

बाइसधारामा नुहाउँदा छाला रोग निको हुने जनविश्वास

बालाजु बाइस धारामा नुहाउँदा छाला सम्बन्धी रोग निको हुने जनविश्वास छ । खासमा यहाँ बग्ने पानीको मुल नुवाकोट डाँडासँग जोडिएको छ । देवीघाटको पानी नै यहाँ आउने र सो पानीले नुहाएमा छाला सम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ ।

यो ठाउँ काठमाडौं उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन जंगलमुनी पर्छ । यस स्थानलाई नेवार समुदायले ल्हुति भन्ने गर्छन् ।

नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल पाउने गरिएको र उक्त फलको रस मिसिएर त्यहाँको पानी बग्ने भएकाले उक्त पानी औषधीय महत्वको रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment