Comments Add Comment

पितापूर्खाको ज्ञान, सूर्य स्नान

निरोगी जीवनका अचुक काइदा 

उज्यालोका पर्याय कुलमान घिसिङले अनलाइनखबरसँग भनेका थिए, ‘मलाई अरु केही समस्या छैन । भिटामिन डिको चाहिँ कमी छ ।’

प्राकृतिक चिकित्साका क्षेत्रमा काम गरिरहेका सुदर्शन बस्नेतको दावी छ, ‘जाँच गर्नुहोस्, अहिले हरेकजसोको शरीरमा भिटामिन डिको कमी छ ।’ उनको भनाईलाई पत्याउने केही रिपोर्ट पनि सार्वजनिक भइसकेका छन् ।

जबकी भिटामिन डिको प्रकृतिक स्रोत हो, घामको किरण । कुनै चक्की खानै पर्दैन । वा दुर्लभ फलफूल र सागसब्जी पनि खोजिरहनु पर्दैैन । शरीरमा घामको स्पर्श गराए पुग्छ ।

अहिले पश्चिमा समाजमा ‘सन वाथ’ र पूर्विय समाजमा ‘सूर्य चिकित्सा’को चर्चा छ । शरीरको प्रतिरक्षा क्षमता बढाउनका लागि पनि घामको किरण शरीरमा स्पर्श गराउनुपर्छ भन्ने कुरा चिकित्सकहरु नै भन्न थालेका छन् । त्यसो त घामको अनुपस्थितीमा न प्राणी बाँच्न सक्छन्, न वनस्पति । पञ्चतत्वद्वारा उत्पन्न भएको कुनै पनि पदार्थ वा प्राणी घामकै कारण अस्तित्वमा छ । चराचर जगतका लागि घाम प्रकाशको स्रोत मात्र होइन, प्राण र उर्जाको स्रोत पनि हो ।

हामीले देख्ने रंगको स्रोत पनि त्यही घामको किरण हुन् । जीवन र जगतका लागि घाम कति महत्वपूर्ण छ भन्ने कुरा हाम्रा पूर्खाहरुले सदियौं अघि खोज, अध्ययन गरेका रहेछन् ।

हाम्रा पूर्खाहरुले भन्दै, सिकाउँदै र गर्दै आए, ‘बिहान उठेर सूर्यलाई जल चढाउनुपर्छ ।’ यसको विधी छ । बिहान मुख धोइसकेपछि अञ्जुलीभरी पानी सूर्यलाई अपर्ण गर्ने । जहाँबाट सूर्योदय भइरहेको हुन्छ, सोही दिशामा फर्किने ।

संभवत यसबाट उनीहरुले तीन किसिमको लाभ मिल्छ भन्ने कुरा उनीहरुले भेउ पाएका थिए ।

एक,

सूर्योदयभन्दा अघि अर्थात ब्रम्हा मूर्हुतमा उठ्ने बानी हुन्छ । यतिबेला फोक्सोलाई अति शुद्ध वायु मिल्छ भनिन्छ ।

दुई,

सूर्योदयको पहिलो किरणले आफ्नो शरीरलाई स्पर्श गरोस् । यो कलिलो किरणले शरीरलाई भिटामिन डि र उर्जा प्रदान गर्छ ।

तीन,

घाम उदाउने दिशातर्फ फर्किएर जल अर्पण गरिरहँदा घामप्रति कृतज्ञ भाव जाग्छ । यसले मनलाई शुद्ध, शान्त र उमंगित बनाउनेछ ।

भनिन्छ नि, बिहानी सुरुवात राम्रो हुनुपर्छ, दिनभर राम्रो हुन्छ । संभवत दैनिकीको आरम्भ नै यति सार्थक र सुन्दर ढंगले गरेपछि दिनभर शरीर फुर्ति रहन्छ ।

मध्यन्हको चर्को गर्मीमा बस्दा छालामा नकारात्मक असर गर्छ । कतिसम्म भने, छालाको क्यान्सरको संभावना समेत हुन्छ । त्यसैले बिहानको कलिलो घामको किरणमा बस्नुपर्छ भन्ने हाम्रा पितापूर्खाले बुझे होलान् ।

घामलाई भगवानको रुपमा पूज्नुको अर्थ पनि यो हुनसक्छ कि, घामको अनुपस्थितीमा हाम्रो अस्तित्व छैन । हाम्रा पूर्खाहरुले सुर्यको उपासना गर्दै आएका छन् । र, सुर्य नमस्कारसँगै दिनको सुरुवात गर्दै आएका छन् ।

योग पद्धतीमा पनि ‘सूर्य नमस्कार’को महत्व छ । १२ वटा विभिन्न आसनमा गरिने यो योगले शरीरको समूचित व्यायाम हुन्छ । सूर्य नमस्कार विहान सूर्योदयकै समयमा र सूर्योदय हुने दिशातर्फ फर्केर गर्नु सर्वोत्तम मानिन्छ । भलै यो आफ्नो अनुकुलता अनुसार पनि गरे हुने योग विधी हो ।

सूर्य स्नानको लाभ

जब सुर्यको किरणले हाम्रो शरीरलाई स्पर्श गर्छ, तब रगतमा उष्णता आउँछ र रक्तसंचारको गति बढ्न थाल्छ । यो रगतमा अर्गोसटेरोल नामक पदार्थ हुन्छ, जुन सूर्यको किरणद्वारा ‘भिटामिन डी’ मा परिणत हुन्छ ।

‘भिटामिन डी’ले आन्द्रामा एसिडलाई नियन्त्रित गर्छ र भोजनमा रहेको क्यालिसयम र फास्फोरसलाई ग्रहण गर्न सहायता प्रदान गर्छ । यसले दाँत तथा हड्डीको समेत  निर्माण गर्न सहायता प्रदान गर्छ । सूर्यको किरणले शरीरको भित्रैसम्म पसेर मानव शरीरको सम्पूर्ण तन्तुहरुलाई जीवन प्रदान गर्छ । घामको किरणलाई नियमित रुपमा सेवन गर्नाले रातो र सेतो रक्तकोषिकाको संख्यामा वृद्धि हुने गर्छ  ।

शरीरमा रहेका हानीकारक किटाणु नष्ट हुने गर्छ । यसको प्रभावकै कारण शरीरको प्रत्येक क्रिया सही तरीकाले हुन्छ । घामको किरणले मानसिक स्वास्थ्यमा पनि निकै ठूलो प्रभाव पार्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै मानसिक विकार हटाउन समेत मद्दत गर्छ ।

कुन समयमा सूर्य स्नान ?

यसको लागि विहानको समय उत्तम मानिन्छ ।  विहानको मिर्मिरेमा कम्तीमा आधा घण्टा घाममा बसेर घामको स्नान गर्नाले स्वास्थ्य लाभ मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment