Comments Add Comment

डब्ल्यूएचओको यु-टर्न : मास्क लगाए कोरोनाको जोखिम कम

२४ चैत, काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी चलिरहेको छ। डिसेम्बर अन्त्यमा देखिएको यो भाइरसबाट हालसम्म विश्वभर साढे १२ लाख बढीमा संक्रमण फैलिएको छ ।

त्यसमध्ये पनि ६८ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म दुई लाख ६१ हजार निको भइसकेका छन् । कोरोनाको रोकथामको लागि विश्व स्वास्थ्य संगठन लगायत विभिन्न संघसंस्थाहरूले धेरै उपायहरू बताएका छन् ।

कोरोनाको महामारीसँगै भाइरस नियन्त्रणको लागि सबैले मास्क लगाउने वा नलगाउने भन्ने विषयमा पनि विश्व समुदाय दुई ध्रुवमा विभाजित भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सुरुमा सबैले मास्क लगाउनु आवश्यक नभएको बताएको थियो ।

यो भाइरसका बिरामी र मेडिकल तथा स्याहारको काम गर्नेलाई मात्र मास्क लगाउन यस अघि संगठनले सुझाव दिएको थियो । संगठनले यस अघि स्वस्थ व्यक्तिको लागि मास्क आवश्यक नभएको बताएको थियो ।

डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले यसअघि ठूलो भिडमा जाँदा मास्क लगाउनुको फाइदा प्रमाणित नभेटिएको बताएका थिए ।

अमेरिका, बेलायत, भारत, दक्षिण अफ्रिका र धेरै युरोपेली मुलुकले पनि डब्ल्यूएचओको जस्तै धारणा अघि सार्‍यो । उनीहरूले कोरोनाबाट बच्न बारम्बार हात धुने र सामाजिक दुरी कायम गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य स्याहारमा काम गर्ने मानिसको सुरक्षाको लागि मात्र मास्क आवश्यक पर्ने उनीहरूको बुझाइ थियो । तर, शुक्रबार अमेरिका र सिंगापुरले आफ्ना नागरिकलाई घरबाट बाहिर निस्किँदा मास्क प्रयोग गर्न सुझाव दिएको छ।

यसपछि डब्ल्यूएचओले पनि आफ्नो निर्णय परिवर्तन गर्दै मास्कको प्रयोगले कोभिड १९ विरुद्ध लड्न सकिने बताएको हो ।  यसअघि मास्क आवश्यक नरहेको बताउने रायन भन्छन्, ‘हामी निश्चित रुपमा मास्कको प्रयोग गर्नुपर्ने केही परिस्थिति देख्नसक्छौं ।

घरमा बनाइएको र कपडाको मास्कले पनि सामुदायिक स्तरमा समग्रमा यो रोगविरुद्ध लड्न प्रभावकारी भूमिका खेल्नसक्छ ।’ यसरी आफ्नो पूर्व निर्णयबाट पछि हट्न बाध्य बनाउने एउटा कारण हो लक्षण नदेखिएका व्यक्तिहरूमा पनि कारोना भाइरसको संक्रमण देखिनु ।

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई घर बाहिर जाँदा ‘नन मेडिकल’ अर्थात् कपडाले अनुहार ढाक्न आग्रह गरेका छन् । जतिबेलासम्म अमेरिकामा दुई लाख ४५ हजार जना कोरोना भाइरसबाट संक्रमित भइसकेका थिए भने छ हजार बढीले ज्यान गुमाइसकेका थिए ।

ट्रम्पले भनेका छन् कि मास्क लगाउनु स्वेच्छिक हुनेछ र उनी आफैँले लगाउने सम्भावना छैन । ‘मैले मास्क लगाउँछु भन्ने लाग्दैन’ उनले भने, ‘मैले राष्ट्रपति, प्रधानमन्त्री, राजारानीहरूलाई मास्क लगाएर अभिवादन गरेको देखेको छैन ।’

अहिले उनले दिएको सल्लाहले अमेरिकामा ठूलो परिवर्तन ल्याएको छ । गत फेब्रुअरी महिनामा मात्र अमेरिकी सर्जन जनरल जेरोम एडम्सले सामाजिक सञ्जाल ट्विटरमार्फत मास्क नकिन्न आग्रह गर्दै यसले कोरोना भाइरसबाट मानिसहरूलाई बचाउन नसक्ने बताएका थिए ।

स्वास्थ्य सेवा प्रदायकले भने बिरामीको उपचारमा यसको प्रयोग गर्न नपाए समुदाय जोखिममा पर्नसक्ने चेतावनी दिँदै आएको छ ।

त्यस्तै, आफ्ना नागरिकलाई बिरामी महसुस नभएसम्म मास्क नलगाउन आग्रह पनि गरेको सिंगापुरले पनि संक्रमितको संख्या हजार नाघ्नुका साथै ६ जनाको मृत्यु भएपछि बोली फेरेको छ। सिंगापुरले आइतबारदेखि पुनः प्रयोग गर्न सकिने मास्क वितरण गर्ने निर्णय गरेको हो ।

सिंगापुरमा कोभिड–१९ का बढ्दो बिरामीसँग यसअघिका संक्रमणसँग कुनै सम्बन्ध नरहेको पाइएको थियो । यसको अर्थ उनीहरू कसरी संक्रमित भए भन्ने कुरा थाहा हुनसकेको छैन ।

साथै, केही संक्रमितमा कोभिड-१९ को लक्षण देखिएको थिएन । यो घटनासँगै प्रधानमन्त्री लि सिएन लुङले शुक्रबार सरकारले आफ्ना जनतालाई मास्क लगाउन दुरुत्साहित नगर्ने घोषणा गरेका छन् ।

हङकङ र अन्य क्षेत्रको पाठ

हङकङ, ताइवान, दक्षिण कोरिया, भियतनाम र थाइल्याण्डजस्ता मुलुकमा सार्वजनिक स्थलमा जाँदा मास्क प्रयोग चलन छ । कोरोना भाइरसको महामारीमा पनि यसले संक्रमितको संख्यामा पनि कमी आएको पाइएको थियो ।

त्यसलाई मध्यनजर गर्दै युरोपमा स्लोभाकिया र चेक गणतन्त्रजस्ता मुलुकले पनि मास्क लगाउन आफ्ना नागरिकहरूलाई प्रेरित गर्दै आएका छन् ।

‘चाइनिज युनिभर्सिटी अफ हङकङ’का संक्रामक रोग विशेषज्ञ डेभिड हुइ शु–चेओङ भन्छन्, ‘विश्वव्यापी रुपमा मास्कको प्रयोग गर्नु महामारी रोक्ने एक कदम हो । साथै, सामाजिक दुरी कायम राख्ने र हात सफा गर्नु कोभिड–१९ विरुद्धको हतियार हुन् ।’

हङकङले सन् २००३ मा सार्स भाइरसबाट जोगिन अपनाएको विधि अनुशरण गर्दै मास्क लगाउन सबै नागरिकलाई प्रेरित ग¥यो । यसबाट कोरोना भाइरसको संक्रमण त्यति धेरै फैलिन नपाएको अधिकारीहरूले बताएका छन् ।

युरोपमा चेक गणतन्त्र सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्कको प्रयोग गनुपर्ने नियम ल्याउने पहिलो मुलुक हो । यसले मुलुकमा कोभिड–१९ को महामारी रोक्न केही हदसम्म सहयोग पनि पुगेको छ ।

एक करोड छ लाख जना रहेको चेक गणतन्त्रमा मार्चको अन्तिमसम्म तीन हजार दुई सय ३७ संक्रमित देखिएका छन् भने ३१ जनाको भाइरसको कारण मृत्यु भएको छ ।

यो स्पेन र इटालीको तुलनामा निकै कम हो । त्यहाँ मार्चको मध्ययता मास्क अनिवार्य गरिएको छ । अधिकांश मास्क घरेलु कपडाबाट बन्ने गरेको छ ।

स्लोभाकियाले पनि मास्क अनिवार्य गरेको छ । सोमबार अस्ट्रियाले सुपर मार्केट तथा पसलमा काम गर्ने मानिसहरूलाई मास्क अनिवार्य गरेको थियो ।

आफ्नो मुलुकमा मास्क लगाउने चलन बिल्कुल नौलो भएकाले बानी पर्न गाह्रो हुनेमा आफू सचेत रहेको स्लोभाकियाका चान्सलर सेबस्टाइन कुर्जले बताएका छन् ।

कोरोना भाइरसको जीवाणु मुखबाट मात्र नभई नाकबाट पनि बाहिर आउनसक्ने भएकाले मास्कको प्रयोगले भाइरस फैलिनबाट रोक्नसक्ने विशेषज्ञहरूले बताएका छन् ।

नयाँ प्रमाणसँगै निर्णय पुनरावलोकन

विभिन्न क्षेत्रमा गरिएको अध्ययनले मास्क लगाउने मानिसमा कोरोना भाइरसको जोखिम कम देखिएको छ । हङकङको मेडिकल संघका अध्यक्षले विश्वभर मास्कको प्रयोगले यो रोग नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएका छन् ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक एन्थोनी फाउकीले मंगलबार मास्कबारे दिइएको सल्लाह परिवर्तन गर्न ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्समा छलफल चलिरहेको बताएका थिए ।

बिहीबार उनले लक्षण नदेखिएका मानिसबाट पनि कोरोना भाइरस फैलिएको पाएकाले मानिसहरूलाई मास्क लगाउन प्रेरित गर्नसक्ने बताएका थिए ।

नयाँ तथ्यांकले कोरोना भाइरसका २५ प्रतिशतसम्म संक्रमित मानिसमा कुनै लक्षण नदेखिने गरेको देखाएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बताएको छ ।

साथै, लक्षण नदेखिएका र मास्क नलगाएका मानिसले धेरैमा संक्रमण फैलाउन सक्छ । कोरोना भाइरसको जीवाणु संक्रमितले हाच्छ्युँ गर्दा, खोक्दा वा कुनै सतहमा छुँदा निकै साना कण र ड्रपलेटबाट बाहिर सतहमा आउँछ ।

एक स्वस्थ मानिसको शरीरमा मुख, नाम वा आँखामा छुँदा ती कण वा ड्रपलेटसहितको हातले छुँदा वा संक्रमितसँग निकै नजिक भएको बेलामा शरीरभित्र पुग्न सक्छन् । यस्तोमा मास्कले निकै ठूलो सहयोग पुर्‍याउनसक्छ ।

मेडिकल जर्नल द लेन्सेन्टमा प्रकाशित अध्ययनमा युनिभर्सिटी अफ हङकङका युएन क्वोक–युङले गरेको अध्ययनमा वुहान भ्रमणमा आएका एक परिवारमा अन्य सदस्यमा कोभिड–१९ को संक्रमण देखिँदा सात वर्षकी एक बालिका भने स्वस्थ थिइन् ।

त्यसको एउटै कारण उनले आफ्नो यात्रा अवधिभर मास्कको प्रयोग गर्नु रहेको पाइएको थियो । हङकङ मेडिकल संघका अध्यक्ष लेउङ चि–चिउले विश्वव्यापीरुपमा मास्कको प्रयोग गर्नु भाइरस नियन्त्रणका लागि निकै महत्वपूर्ण हुने बताए ।

यद्यपि मास्कको सही प्रयोगबारे भने आशंका र चासो दुबै छ । सही तरिकाले प्रयोग नगर्दा वा एकपटक प्रयोग गरिसकेको मास्क पुनः प्रयोग गर्नु स्वास्थ्यको लागि हानिकारक हुनसक्ने बताइएको छ ।

साउथ चाइना मर्निङ पोष्टको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment