Comments Add Comment
गृह मन्त्रालयको ‘होमवर्क’ :

‘काठमाडौंका डेरावाललाई गाउँ फर्कन दिँदा के हुन्छ ?’

काठमाडौंबाट हिँडेर घर फर्किँदै गरेका मजदुरहरु । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत चैत ७ गते जारी सम्वोधनमा भनिएको थियो, ‘आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’

प्रधानमन्त्रीले यसो भनिरहँदा काठमाडौंबाट जिल्लातिर फर्कनेहरुका लागि तीन दिनको छोटो समय बाँकी थियो । यो तीन दिनको वीचमा ठूलो संख्यामा मानिसहरु काठमाडौंबाट जिल्लातिर फर्किए ।

सरकारले पहिलो चरणको लकडाउन घोषणा गर्नुअघि नै १० औं हजारको संख्यामा मानिसहरु उपत्यकाबाट बाहिरिए । तर, त्यसबेला कति मानिसले उपत्यका छाडे भन्ने यकिन आँकडा छैन ।

सरकारले चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु गरेपछि काठमाडौंबाट बाहिर जान चाहनेहरु उपत्यकामै रोकिए । चैत १० सम्म काठमाडौंमा मानिसहरुको संख्या केही पातलिन थालिसकेको थियो । तर, अझै केही दिन बाहिरिन दिइएको भए उपत्यकाबाट लाखौं मानिसले घर फर्कन पाउने थिए । यसवीचमा यातायात व्यवसायीहरुले मानिसहरुलाई बाहिरी जिल्लामा लैजाने तत्परता पनि देखाएका थिए, तर, सरकारले जान दिएन ।

कोही भाग्दै, कोही छटपटिँदै

उपत्यकाबाट घर फर्कन सरकारले नदिए पनि केही दिनसम्म मानिसहरु रातिराति भागेर उपत्यका छाड्ने क्रम जारी रह्यो । बल्खु, कोटेश्वर, कलंकी लगायतका नाकाहरुमा तरकारी बोक्ने गाडी र कतिपय बससमेत रिजर्भ गरेर पनि ठूलो संख्यामा मानिसहरु उपत्यकाबाट बाहिरिए ।

यो पनि पढ्नुहोस लकडाउन ? मध्यरातमा शहर छाड्न सधैं खुल्ला (भिडियो सहित)

तर, यसरी लकडाउनका बेला मानिसहरु राति–राति बाहिरिइरहेको खबर मिडियामा आएपछि प्रहरीले कडाइ गर्‍यो र उनीहरुलाई रोक्यो ।

तर, लकडाउन लम्बिँदै जाँदा उपत्यकामा टिक्न नसकेर मानिसहरु आफ्नै गाउँघरतिर फर्कन चाहिरहेका छन् भन्ने तथ्य बुधबार अनलाइनखबरमा प्रकाशित यो भिडियो स्टोरीले बताउँछ–

यो पनि पढ्नुहोस ‘काठमाडौंमा भोकले मर्नुभन्दा बौलाउनु निको’

हुन त काठमाडौं र ललितपुर महानगरपालिकाले विपन्न समुदायलाई चामल, दाल लगायतको राहत बाँडिरहेको समाचार पनि आइरहेका छन् । तर, आजै काम गरेर आजै खानुपर्ने बाध्यतामा रहेका मजदुरहरुका लागि यो पर्याप्त हुन सकेको देखिँदैन ।

सरकारले वितरण गरेको राहत हात नपरेकाहरु जसोतसो गाउँघरमा पुग्न पाए भोमकै पर्नुपर्ने थिएन भन्ने आशमा छन् । यही आशले गर्दा उनीहरु गाउँतिर फर्कन चाहन्छन् ।

सरकारले चैत ११ लागू गरेको पहिलो चरणको लकडाउन १८ गते खुल्ने धेरैले आश गरेका थिए । त्यसपछि गाउँ फर्कन पाइएला भन्ने उनीहरुको आशा थियो । तर, १८ गतेदेखि २५ गतेसम्म लकडाउन लम्बियो । विपन्न समुदायसँग बचत रहेको खाद्य सामग्री र नगद सकिँदै जान थाल्यो । पसलहरुमा सामानको अभाव खड्किन थाल्यो ।

यहीवीचमा चैत २५ गते पनि लकडाउन हटेन, जसले गर्दा निम्न वर्गका मानिसहरुलाई काठमाडौंमा टिक्न मुस्किल पर्न थाल्यो । चैत २५ को लकडाउन बैशाख ३ सम्म लम्बिएपछि उनीहरु थप तनावमा पर्न थाले ।

उपत्यका बाहिर घर गृहस्थी नभएकाहरु त यहीँ महानगरपाकिलाको राहत मागेर बस्न बाध्य छन् । तर, जसको बाहिरी जिल्लामा घर र आफन्तहरु छन्, सानो घर र खेतबारी छ, उनीहरु बाहिर निस्कन चाहिरहेका छन् । चैत ११ भित्रै बाहिरिन नपाएकाहरुले चैत, १८ र २५ गते दुई चरणमा गरेको आशा अब बैशाख ३ पछि पूरा हुन्छ कि भन्ने ठानेका छन् ।

काठमाडौंमा कोरोना छैन, तर लकडाउन छ

कोरोनाको पहिलो र दोस्रो केस काठमाडौंमै देखिएको हो । चीनबाट फर्केका एक व्यक्तिमा माघ ९ गते पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार उनी निको भइसकेका छन् र उनीबाट कसैमा पनि संक्रमण भएको छैन ।

त्यसैगरी चैत ४ मा फ्रान्सबाट कतार हुँदै फर्केकी १९ वर्षे युवतीमा कोरोनाको दोस्रो केस देखिएको थियो । काठमाडौं घर भएकी उनी अस्पतालमा छिन् । तर, उनीबाट आफन्तमा सरेको पाइएको छैन ।

अहिले काठमाडौंमा स्थल र हवाई दुबै यातायात बन्द रहेको अवस्था छ र कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन । तर, कोरोना नदेखिए पनि काठमाडौं पूर्णरुपमा लकडाउन छ । उपत्यका बाहिरबाट कोरोना आउने सम्भावना नभए पनि आन्तरिक जनजीवनलाई समेत खुकुलो पारिएको छैन ।

कोरोनाको हिसाबमा काठमाडौं कम जोखिमपूर्ण छ । तर, खाद्यान्न र तरकारी बाहिरबाट ल्याउनुपर्ने भएकाले आपूर्तिको समस्या बढी जटिल छ । कोरोनाका हकमा चाहिँ अहिलेसम्म न स्थानीयमा संक्रमण देखिएको छ, न त अस्पतालको असुविधा नै छ ।

काठमाडौंका डेरावाललाई गाउँ फर्कन दिँदा के हुन्छ ?

उपत्यकामा कोरोना भाइरस नदेखिएको वर्तमान अवस्थामा यहाँबाट गाउँघर फर्कन चाहने मानिसहरुलाई घर पठाइदिने हो भने के होला ? कतिपय जानकारहरुसँग परामर्श लिँदा उनीहरु यसका फाइदा÷बेफाइदा (जोखिम) को लेखाजोखा यसरी गर्छन्–

फाइदा–

१. मानिसहरुलाई घर फर्कन दिने हो भने काठमाडौंको जनघनत्व अझै कम हुन्छ र यसले गर्दा भोलि लकडाउनको अवधि लम्बिए पनि काठमाडौंले खाद्यान्न, ग्यास, तरकारी आदिको संकट कम झेल्नुपर्ने हुन सक्छ । जनसंख्या घटेपछि उपत्यकाभित्रका लागि लकडाउनसमेत खुकुलो पार्न वा शर्तसहित खोल्न र जनजीवन सहज पार्न सकिन्छ ।

२. काठमाडौंमा खाद्यान्नको समस्या भोगेकोहरु गाउँघरमा आफ्नै बारीमा फलेको अन्न सागसब्जी खाएर टिक्न सक्छन्, जसले गर्दा राज्यले व्यवस्पानमा गर्नुपर्ने खर्चको भार कम हुन्छ । जनताको जीवन पनि कम कष्टप्रद हुन्छ ।

३. अहिले बालीनाली लगाउनुपर्ने बेला छ । शहरमा कोठाभित्र थुनिएका मानिसहरु घर फर्कन पाए भने उनीहरुले खेतबारीमा काम गर्नेछन् र आगामी वर्षको खाद्यान्न संकट टार्न मद्दत पुग्नेछ ।

४. शहरमा राहत नपाई बसिरहेका मानिसहरु असन्तुष्ट हुने र राज्यविरुद्ध आक्रोश पोख्ने सम्भावना बढी हुने भएकाले उनीहरुलाई घर फर्कन दिइयो भने सम्भावित असन्तुष्टिको पनि सम्वोधन हुन सक्छ । शहरमा कोठाभित्र बसेर सरकारलाई गाली गर्नेहरु खेतबारीमा काममा खटिन पाउनेछन् ।

जोखिम

काठमाडौंको जनजीवन सहज बनाउने नाममा मानिसहरुलाई गाउँ फर्कन दिँदाका केही जोखिमहरु पनि छन् ।

जस्तो– सुदरपश्चिम, कर्णाली र बाग्लुङ लगायतका ठाउँहरु आफैं पनि कोरोनाको जोखिममा छन् र र्‍यापिड टेस्टको प्रयास भइरहेको छ । यस्तो बेलामा त्यहाँ काठमाडौंबाट मानिसहरु ओइरिँदा थप जटिलता आइपर्न सक्छ । यताबाट गएका मानिसहरु नै जोखिममा पर्न सक्छन् ।

त्यसैगरी शहरबाट गाउँमा गएका मानिसमाथि समाजमा आशंका गर्ने, गाडीहरु नै बाटोमा रोकिदिन सक्ने र सामाजिक झैंझगडा हुने खतरा हुन सक्छ । यसलाई स्थानीय तहले व्यवस्थापन नगर्ने हो भने काठमाडौंका मानिसलाई गाउँ पठाउनु जोखिमपूर्ण हुन सक्छ ।

काठमाडौंमा रोकिएकाहरुलाई गाउँमा क्वारेन्टाइनमा राख्नुपर्ने माग भयो भने त्यसले स्थानीय तहमा व्यवस्थापकीय खर्च बढाइदिन सक्छ ।

यसवीचमा गाउँमा कथंकाल कारोनाको संक्रमण देखियो भने त्यहाँबाट मानिसहरु फरि काठमाडौंतिरै फर्कन खोज्छन् र अर्को भद्रगोल निम्तन सक्छ ।

भूकम्पका बेला कपाल काट्ने अनि ठेलामा तरकारी बेच्ने मानिसहरु, प्लम्बरहरु तराईतिर झर्दा काठमाडौंलाई ठूलो समस्या परेको थियो । अहिले पनि साना व्यवसाय गर्नेहरु उपत्यामा रित्तिए भने यहाँको दैनिकीलाई असर पर्न सक्छ । किराना दोकानहरु नखुल्ने र चाहिएको सामान काठमाडौंका घरबेटीसम्म नपुग्ने समस्या आउन सक्छ । काठमाडौंको लकडाउन खुल्दा पनि ठप्प हुने अवस्था आउन सक्छ ।

काठमाडौंका लकडाउन खोलियो भने देशमा अन्य शहरका बासिन्दाले पनि गाउँ फर्कन पाउनुपर्ने र लकडाउन खोलिनुपर्ने माग गर्न सक्छन् जसले लकडाउनको अनुशासन फितलो बन्न सक्छ ।

‘होमवर्क’ गर्दै गृह मन्त्रालय

यसैवीच गृहमन्त्रालयको एउटा टास्क फोर्सले केही दिनका लागि यातायात खुल्ला गरेर काठमाडौंका डेरावालहरुलाई घर फर्कन दिँदा के होला भन्नेबारे आन्तरिक गृहकार्य सुरु गरेको उच्च स्रोतले बताएको छ ।

उच्चस्तरीय समितिमा भएको छलफलपछि काठमाडौंको लकडाउनका बारेमा अध्ययन गरेर योजना तयार पार्ने जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको हो ।

गृह मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो ‘ बैशाख ३ पछि के गर्ने, भनेर हामी योजना बनाइरहेका छौं, काठमाडौं जस्तै कोरोनाको कम जोखिम भएका ठाउँमा प्रादेशिक हिसाबले केही खुकुलो बनाउन सकिन्छ कि भनेर हामी अध्ययन गरिरहेका छौं ।’

काठमाडौंका डेरावालहरुलाई गाउँ फर्कन दिँदा के हुन्छ भनेर पनि अध्ययन भइरहेको गृह स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment