Comments Add Comment

एक पूर्वपत्रकारको नजरमा लकडाउनको नेपाली पत्रकारिता

मैले जीवनमा धेरै कुरा बुबाआमाबाट सिकेँ । आँखा कमजोर भएर जँचाउन जाँदा बुबालाई डाक्टरले चस्मा दियो । लगाएर उहाँले अलिक परका दृश्य हेरेर चस्माको पावर चेक गर्नुभयो ।

गाउँभरि जस्तापाताले छाएको घर भए पनि हाम्रो घरको धुरी भने पछिसम्म पनि खर र परालले नै छाएको थियो । वर्षैपिच्छे घर छाउनुपर्थ्यो । छाइसकेपछि बुबा परबाट घरलाई हेर्नुहुन्थ्यो, कस्तो देखियो भनेर। अहिले आएर म विचार गर्छु, जिन्दगीका धेरै कुरा नजिकबाटभन्दा पनि टाढा बसेर हेर्दा प्रस्टसँग देखिने रहेछ ।

आजकल म त्यसै गर्दैछु । धेरै टाढा बसेर म नेपालको पत्रकारिता नियाल्दैछु । २०६७ सालदेखि २०७६ सालसम्म झन्डै नौ वर्ष पत्रकारितामा अभ्यास गरेको मैले यो पेशालाई गाली गरेको, नराम्रो भनेको कहिल्यै सुन्न सकिनँ । कसैले नराम्रोभन्दा ठाडै जाइलाग्थेँ । कहिलेकाहीँ साथीहरु मन नपरेका कुरा फेसबुकमा लेख्थे । हाम्रो पेशाभित्रका कुरा किन सबैलाई देखाएको होला भन्ने लाग्थ्यो ।

केही पात्रका कारण हाम्रो पेशा बदनाम थियो, अझै छ । न उनीहरु सुध्रिए, न भविष्यमा सुध्रिन्छन् । ती पात्रका गतिविधि देख्दा वा सुन्दा भने साह्रै नमज्जा लाग्थ्यो । अहिले प्रवासबाट ती सबै देख्नु नपरोस् भन्छु । तर, इन्टरनेटको दुनियाँ छ, आँखैअगाडि आइहाल्छ सबै ।

सम्झिन्छु, जो मानिस पत्रकारिता छाडेर अलिक टाढा जान्छ, उसले आलोचना त गर्दो नै रहेछ । जब टाढाबाट हेर्छ, अनि मात्र उसले यो क्षेत्रलाई प्रष्ट देख्दोरहेछ । २०६७ सालतिर मलाई पत्रकारितामा प्रेरित गर्ने, हात समातेर सिकाउने दाइ हुनुहुन्थ्यो, मुकुन्द उप्रेती । पछि उहाँले पत्रकारिता छाडेर साहारा नेपालमा जागिर सुरू गर्नुभयो ।

पत्रकारिता छाडेपछि केही दिन उहाँले फेसबुकमा पत्रकारितामा भएका विकृति लेख्नुभयो, जुन मलाई नै पचेन । हिजोसम्म त्यही पेशामा भएको मान्छे आज बाहिर गएर मनलाग्दी लेख्यो भनिँदो नै रहेछ । तर, अहिले सम्झिँदा मुकुन्द उप्रेतीले पर बसेर जे देख्नुभयो त्यो लेख्नुभयो । उहाँले मलाई भने सधैँ हौसला मात्र दिनुभयो, अझै राम्रो गर्नु भन्नुभयो । माया दिनुभयो । तर, आज म पनि पत्रकारितामा छैन ।

आज यो पढेर मलाई पनि थुप्रै ‘पत्रकार’ले गाली नै गर्लान् । तर, यहाँबाट देखेको कुरा लेख्ने हो मैले । लेख्नुपर्ने कुरा धेरै नै रहेछन् । जो मान्छे फेसबुक लाइभ गर्दै गाउँमा हिँड्छ, उसले आफूलाई पत्रकार हुँ भन्न थाल्छ । अझ फेसबुकमा नामको अगाडि वा पछाडि जर्नालिस्ट भन्ने शब्द थप्छ । घरको मोटरसाइकलको अगाडिपट्टि को प्लेटबाट नम्बर मेटाएर ‘प्रेस’ लेख्छ । उसको चेतनाको स्तर, लेखाइ र बोलाइ हेर्दा भने लाज लाग्छ । फेसबुकका पोष्ट पनि केही बुझिँदैन ।

रेडियोमा हप्तामा एउटा फोनिन् कार्यक्रम चलाउने पनि पत्रकार । बुम बोकेर घरको झगडा खिच्दै युट्युवमा हाल्ने पनि पत्रकार । कसले कता फर्किएर कतिपटक सम्भोग गर्‍यो भन्दै सोध्ने युट्युबर पनि पत्रकार । आयुर्वेदिक औषधि बेच्ने पनि पत्रकार । किराना दोकान गर्ने तर मिडियामा लगानी गरेर प्रिन्टलाइनमा नाम लेखिसक्दा पत्रकार । सिटी रिक्सा चलाउने पनि पत्रकार । दिनभर अटोरिक्सा चलाएर परिवार धान्नुपर्ने बाध्यता छ ।

दलनिकट पत्रकार संगठनले पत्रकार महासंघको सदस्यता दिलाइदिए । गोजीमा त्यसको परिचयपत्र छ । के काम गर्नुहुन्छ भनेर सोध्दा उसले अटो चलाउँछु कसरी भनोस् ? पत्रकार हुँ भन्छ । महासंघको चुनावमा भोट हाल्न जान्छ । यस्तो दृश्य मेरो जिल्ला झापामा चाहिँ छ । समाचार पटक्कै नलेख्ने, फेसबुककारिता मात्रै गर्ने । यिनीहरुले नै तर्साउँछन् समाज । उनीहरु आजीवन पत्रकार ।

कुनै जमानामा पत्रकारिता गरेर पछि अर्को पेशा अँगाल्नेले पनि आफूलाई पत्रकार किन भन्ने ? पत्रकारचाहिँ कसैले छुनै नसक्ने, सबैभन्दा गतिलो हो ? म अहिले पत्रकारितामा छैन ।

अस्ति भदौ २१ गतेसम्म नयाँ पत्रिका दैनिकमा मेरो बाइलाइनमा समाचार छापियो । २२ भदौबाट मैले आजसम्म समाचार लेखेको छैन, रिपोर्टिङ गरेको छैन, विदेशमा छु । के अब मैले आफूलाई पत्रकार हुँ भन्नु ? प्रष्ट छ, म पूर्वपत्रकार हुँ । अब कुनै दिन मुलुक फर्किएर फेरि पत्रकारिता गरेछु भने म पत्रकार हुनेछु ।

अहिले कोरोनाले विश्व तर्सिएको छ । यो बेलाका समाचार हेर्छु, साह्रै विरक्त लागेर आउँछ । यहाँ उल्लेख गरेरै नसक्ने गरी लेखिएका छन् नेपालमा समाचार । कुनै अनलाइनले लालबाबु पण्डितलाई प्रदेश–२ को मुख्यमन्त्री बनाइदिए । कुनै टीभीका अनलाइनले कोरोनाबाट मर्नेको संख्या ३० लाख पुर्‍याइदिए । कुनै अनलाइनले भीम आचार्यलाई स्वास्थ्यमन्त्री नै बनाइदिए ।

अचम्म लाग्छ, के अनलाइनमा काम गर्न चाहिँ जस्तोसुकै मान्छे राख्दा पनि हुन्छ ? थोरै ज्ञान पनि चाहिन्न ? लालबाबु राउतको समाचारमा लालबाबु पण्डितको फोटो हाल्ने पनि पत्रकार ?

एउटा अनुभव सुनाउँछु, कुनै बेला मैले रिपोर्टिङ गर्ने गरेको एउटा अनलाइनमा डेस्कमा बस्नेले समाचार बिगारेर हैरान । कतिसम्म भने, ‘पुनः’ शब्दलाई फेरेर फेरि बनाइदिन्थे । तर, ह्रस्व फेरि होइन । जोगीले बजाउनेवाला फेरी । फोन गरेर त्यो ह्रस्व बनाइदिनुस् न भन्नुपर्थ्यो ।

यो लेख लेख्नुभन्दा अगाडि मेरो एउटा मिल्ने साथी केशव अधिकारीलाई इमेलमा प्रश्न पठाएँ, नेपालको पत्रकारिता कस्तो देख्यौ त विदेश गएपछि ? भनेर । उनले छोटो तर गतिलो उत्तर पठाएछन् । उनी लेख्छन्, ‘विषय एकातिर, शीर्षक अर्कैतिर हुन्छन् । कोरोना नभई पनि कोरोना आशंकित मान्छे मर्‍यो भनेर सबैलाई आतंकित बनाउँछन् । अनि अलिक भने भरे कोरोना होइन पो रहेछ भन्छन् । आत्तिएर समाचार दिने, पछि सुधार्ने गर्दैछन् ।’

उनले फेरि अर्को इमेल पठाएछन्, ‘बाटामा भेटिएका फुच्चाफुच्ची सबै पत्रकारितामा घुसे । न केही बुझ्छन्, न शब्दको अर्थ थाहा छ । यिनीहरु विशेषगरी रेडियो र टीभीमा छन् । अर्थै नबुझी प्याच्च बोलिदिन्छन् । कलेजमा पास भइसक्दा सम्पादकको वरियतामा पुगियो भनेर फेसबुकमा स्टाटस लेख्छन् । लेखाइ हेर्ने हो भने नकेलाएको बिस्कुनजस्तो हुन्छ ।’

सायद उनी ड्युटीमा थिए । निकैबेरपछि तेस्रो इमेल आयो । उनले भने, ‘अधिकांश पत्रकारले संसार आफ्नो अधिनमा छजस्तो गर्छन् । मैले जे बोलेँ, त्यो सही हो भन्न खोज्छन् । मेरा कारण पुलिस प्रशासन थररर छ भनेर मख्ख पर्छन् । केही थान पत्रकार कलम लिएर होइन, कैँची लिएर हिँड्दैछन् ।’

उनका यी भनाइमा सच्चा पत्रकारहरु त सहमत नै हुनुहुन्छ होला । तर, इन्भर्टेड कमाभित्रका ‘पत्रकार’हरुलाई भने कन्सिरी तात्ने पक्का छ । के पत्रकार जिम्मेवार भएर समाज रुपान्तरणमा लाग्दा हुँदैन ? के नेपालका राष्ट्रिय स्तरका दैनिक पत्रिका दैनिक एक घण्टा अध्ययन गरेर केही सिक्दा हुँदैन ? पत्रकारिता सिक्दैछु, अझै सिक्छु भन्ने आउँदैन कसैलाई ? सबै जानिसकेँ, मजति जान्ने कोही छैन भन्ने लाग्नैपर्छ ?

म नेपालका राष्ट्रिय दैनिकका समाचार हेर्छु । साह्रै राम्रो मेहनत छ । पत्रकारिता सिक्दै गरेकाले दिनहुँ ती पत्रिका पढे धेरै सिक्छन् । अहिले त कोरोनाका कारण केही पत्रपत्रिका बन्द छन् । अनलाइन क्रियाशील छन् ।

म नयाँ पत्रिकाको सम्वाददाता भएर काम गरेँ तीन वर्ष । माया छ नयाँ पत्रिकाको ।

कोरोनाले संसार आतंकित भएका बेला अनलाइनखबरले कति प्रशंसायोग्य सामाग्री पस्किइरहेको छ । यसले कोरोनाबारे सचेतना फैलाउन महत्वपूर्ण भूमिका निभाएको छ । कोरोनाबाट दिक्क भएको दिमागलाई एकैछिन भए पनि अन्त मोड्नका लागि शिक्षामूलक विभिन्न सामाग्री पस्किँदैछ ।

कहिले खाना खाने समय र तरिका सिकाउँछ । कहिले बुढाबुढी घरका शोभा हुन्, भलाकुसारी गरौँ भन्छ । अनुहार चम्किलो र मुलायम राख्न घरेलु क्रिम बनाउने तरिकादेखि पर्याप्त निन्द्राका फाइदासम्म पढियो यही महामारीका बेला ।

कोरोनाका मात्र समाचारले दिक्क भएका पाठकलाई यसले केही नयाँ सिकाउने प्रयास गरेको हुनुपर्छ । कोरोनाकै समाचार पनि सन्तुलित छन् । आत्तिइहाल्ने खालका छैनन् ।

सबै मिडिया गल्ती गर्दैनन्, सबै पत्रकार गलत छैनन् । तर, केही मिडिया र केही पत्रकारका कारण हाम्रो मुलुकको पत्रकारिताको साख गिर्दै छ ।

अग्रजहरुले ध्यान पुर्‍याइदिनुहोला । नियमन गरिदिनुहोला । भोलिका दिनमा हामी स्वदेश फर्किएर फेरि समाचार लेख्न गाउँ पस्दा पत्रकार पो आएछ भनेर मान्छे घरभित्र नलुकून् । पत्रकार यस्ता र उस्ता भन्दै गाली नगरुन् । हाम्रो पेशाको प्रशंसा गरुन् । आजलाई यत्ति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment